किताब: जीवन जिउने साहरा

अन्तर्मुखी मान्छेले युवाकालमा के गर्छ ? कि एकोहोरो प्रेम गर्छ कि भरमार किताब पढ्छ । प्रेमपत्र लेखेर पनि पठाउन साहस नहुनेले के गर्छ ? उपन्यास पढेर सन्तुष्टि लिन्छ । यही हो मेरो पठनको सेक्रेट । लहडमा पढेका कति किताब चपाएर थुकेँ, कति निलँे तर थोरै मात्र पचाउन सकेँ । तिनै किताब अहिले जीवन जिउने साहरा बनेका छन् । यी किताबी पाइलाहरू जोनाथन स्विफ्टको गुलिभरको यात्रादेखि बढीमा यस्तै चेतन भगतको विवाहका दुई अवस्थासम्म मात्र पुगेका छन् ।
तीन कक्षामा ‘हामी त बालक साना छाँै सबै राम्रो देख्दछौँ, बारीका फूल टिपेर बिहानीलाई पुज्दछौँ’ पछि ९–१० कक्षामा हँुदा निकै जासुसी उपन्यास पढेँ । दाजुहरूलाई दिनदिनै पुस्तकालयबाट किताब ल्याउन लगायो गृहकार्य सकेर राति १० बजेबाट उपन्यास यात्रा सुरु गर्‍यो । त्यो चल्थ्यो १–२ बजेसम्म । उपन्यासका नायकको बहुल दृष्टिकोण, चलाकी, बुद्धि, सामाजिक अन्तर्सम्बन्ध, निर्भीकताले आफ्नो व्यक्तित्वमा रहेको अभावको पूर्ति हुन्थ्यो । त्यसबेला पढेका ‘बाह्र बजेको घन्टी,’ ‘६ औँले मान्छे’, ‘मेजरको सर्प’, ‘भक्तपुरको थुम्को’को सम्झना ताजै छ । तिनमा पनि ‘डाक्टर डेमोन’ उपन्यासले मलाई निकै प्रभाव पारेको छ । त्यसमा रहेको बुद्धिमान् तर बदलाको भावनाले प्रेरित डाक्टरले आफ्नो प्रेमको विघटनबाट सन्तुष्टि प्राप्त गर्न गरेको क्रियाकलाप जबर्जस्त र भयंकर डरलाग्दो छ । मान्छेको छाला कालो बनाएर कुरूपतामा परिणत गर्ने डेमोन साँच्चीकै डेमोन नै हो मानवीय सुन्दरताका लागि । जासुसी उपन्यासमा पाठकीय आकर्षण उच्च हुन्छ र त्यसले युवामनमा आतंकवादी क्रियाकलाबाट मुक्त गरेर सामाजिक कल्याणको भावना भर्दछ भन्ने मलाई लाग्छ ।
त्यसै समयमा म स्तरीय भनिने साहित्यको अध्ययनमा पनि लहसिएको थिएँ । दाजु यादव प्रेमी साहित्य अध्ययन र कविता लेखनमा अब्बल हुनुहुन्थ्यो । उहाँले पुरस्कार पाएका किताबहरू एकान्तमा पढ्थेँ । त्यस्तैमा भेट्टाएँ ‘साझा कविता’ भन्ने किताब । त्यसमा माधव घिमिरे र भूपीका कविताले मलाई निकै आकर्षित गरे । त्यसै बेला म त माधव घिमिरेका कविताहरू सुमधुर लयमा पाठ गर्न अभ्यस्त पनि भएँ । ‘गौरी’ र ‘मुनामदन’ त्यही समयमा पढ्न पाएँ । ‘गौरी’को संवेदनाले यसरी समात्यो कि त्यसबेला मलाई मेरी काल्पनिक प्रेमिकाको मृत्यु होस् र म पनि त्यस्तै शक्तिशाली कविता लेख्न सकूँ भन्नेसमेत लाग्थ्यो । त्यसैको प्रेरणाले पछि मैले मन्दाक्रान्ता र शार्दूलविक्रीडित छन्दमा केही कवितासमेत लेखेको छु ।
कथाका रूपमा ‘नासो’ र ‘मैयासाहेब’ पढेजस्तो लाग्छ । गुरुप्रसाद मैनालीको
‘चिताको ज्वाला’ र भवानी भिक्षुको ‘टाइपिस्ट’ कथाले मलाई तानेका थिए । ‘चिताको ज्वाला’की शशीलाई म त्यतिबेला आफ्नी सुन्दरी प्रेमिकाका रूपमा लिन्थेँ र उसँग त्यसैगरी ढोकाको छेउमा उभिएर ‘कुन्नि कसले पो ढाँट्यो’ भनी संवाद गरेको कल्पना गर्थें । कलात्मक उपन्यास पहिलोपल्ट भेटेको चाहिँ दौलतविक्रम विष्टको ‘चपाइएका अनुहार’ हो । त्यसमा जस्तै मलाई आफू अनन्त भएर जर्मन नागरिक किमरिखसँग जंगलमा स्टेनगन लिएर सिकार खेल्न मन लाग्थ्यो । अफ्रिकाको अनकन्टार र निर्जन टापुमा जीवन बिताउन मन लाथ्यो ।
कलेज पढ्दा मेरो आकर्षण रह्यो युधीर थापा, वसन्त, सुवास आदिका उपन्यासमा । प्रेम, यौन र सामाजिक जीवनका दु:खान्त पक्षहरूलाई तिनले सिलसिला मिलाएर दिएका हुन्थे । मलाई तिनको सरलता र परिस्थिति सिर्जना गर्ने कला मन पथ्र्यो । जब, मैले कृष्णप्रसाद पराजुलीको ‘राम्रो रचना मीठो नेपाली’ पढ्न पाएँ, मेरो अभिरुचि पूरै बदलियो । अब म कलात्मक सुन्दरता चिन्न सक्ने भएँ, विम्बको भाषा बुझ्न थालँे र प्रतिकात्मक अभिव्यक्तिमा स्वाद लिनसक्ने बनँे । बिए पढ्दा मेरो अध्ययन उपन्यास र निबन्धमा केन्द्रित भयो । मैले माध्यमिक कालका ‘वीरसिक्का’, ‘वीरचरित्र’, ‘नरेन्द्रमोहिनी’देखि आधुनिक कालका ‘भ्रमर’, ‘माइतीघर’, ‘मन’देखि ‘घामका पाइलाहरू’ र ‘अलिखित’सम्म पढी भ्याएँ । उपन्यासको पठन यात्रामा मैले ध.च.गोतामे र ध्रुवचन्द्र गौतमलाई उच्च स्तरमा राखँे । ‘घामका पाइलाहरू’को इतिहास लाग्ने तराईको सहरोन्मुख परिवेशले मलाई निकै आकर्षित गर्‍यो । त्यसमा वर्णित रेलको जीवनपद्धति पढ्दा म भावुक भएँ भने आफूलेसमेत दिनदिनै भोगेको घाम र धूलोको अन्तहीन डगरले मोहित पनि बनायो । ‘अलिखित’मा प्रयुक्त तराईको परिवेश र पात्रको सूक्ष्म चित्रण र बीचबीचमा हास्य प्रभाव सिर्जना गर्ने उनको शिल्प तथा भविष्यदर्शी चिन्तनले आश्चर्यचकित पार्ने खालका छन् ।
पठनमा बिस्तारै प्रौढ हुँदै गरेको बेला कोर्सकै भए पनि ‘थ्रि मेन इन अ बोट’ र ‘लर्ड अफ दि फ्लाइज’ उपन्यासले मलाई अंग्रेजीतिर ताने । विज्ञानको विद्यार्थी रहिसकेकाले मलाई विज्ञान साहित्यप्रति रुचि बढ्यो र एचजी वेल्स मेरा नजिकका लेखक बन्न पुगे । ‘दि इनभिजिबल म्यान’ पढेपछि मलाई के लाग्यो भने बाल्यकालमा आफू अरूबाट नदेखिने तर आफूले अरूलाई देख्ने कल्पना त उनले पहिल्यै साकार पारिसकेका रहेछन् । वा ! म पनि रासायनिक पदार्थ आविष्कार गरेर त्यस्तै अदृश्य बन्न पाए † तर, मचाहिँ त्यसको नायकभैँm भोकभोकै सडकमा हिँड्न र खुट्टा काटिएर रगताका पाइलाका छाप बनाउँदै पुलिसबाट समातिन चाहन्नथेँ । त्यस्तैमा म मार्क ट्वेनका ‘हकल्बरी फिन’, ‘टम स्वेयर’ तथा ‘टेल्स फ्रम सेक्सपियर’तिर लहसिएँ । मेरो अध्ययनले ‘स्टोरिज फ्रम बाइबल’, सेक्सपियरका ‘रोमियो एन्ड जुलियट’ तथा ‘याज यु लाइक इट’सम्म पनि पहँुच पाउन थाल्यो । भारतबाट निस्कने ‘विजडम’ र ‘रिडर्ज डाइजेस्ट’ मेरा अध्ययनका दायराभित्र आए । त्यसो भए पनि मलाई नेपाली किताबकै मोह तीव्र थियो । अंग्रेजी टाकनटुकन पढेकाले खासै सन्तुष्टि दिन सक्दैनथ्यो ।
ताना शर्माको ‘पाताल प्रवास’मा ‘पातालमा बिलाउने रोग’ पढेपछि उनको शक्तिशाली विचारप्रक्षेपले मलाई केही महिनासम्म खुब रनथनायो । उनलाई लामो पत्र लेखेर पनि राखँे तर पठाउन भने सकिनँ । प्रेमा शाहको ‘पहेँलो गुलाफ’, पारिजातको ‘मैले नजन्माएको छोरो’ र विश्वेश्वरप्रसाद कोइरालाको ‘एक रात’ मेरा प्रिय छन् । सरुभक्तको नयाँ विषय, सौम्य चिन्तन, विज्ञान साहित्यको क्षितिज खोल्ने साँचो देख्ता ताजुब लाग्छ । ‘चुली’ उपन्यासका हरेक वाक्यबाट म अभिभूत छु ।
त्यसपछि मेरो स्वाद शंकर लामिछानेमा गएर यसरी बल्झिन थाल्यो कि म त्यसबाट उम्कनै नचाहने भएँ । ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’
र ‘गोधूलि संसार’ पढेपछि त मलाई लामिछाने आफूले पढेकामध्ये निर्विकल्प उत्कृष्ट कलाकार लाग्यो । चिन्तनमा उनले मारेको लामो फड्को देख्ता भित्रैदेखि इष्र्या लाग्छ । वाक्यको शिल्पमा उनले भरेको मिठास अनुभूत गर्दा उनको प्रशंसामा गीत गाउन मन लाग्छ । अनि, स्थापित मान्यतालाई चुनौती दिएर बिन्दास बन्दै चोखो सत्य लेखेको पाउँदा आफ्नै हृदय त्यसमा पोखिएको भान हुन्छ । कतै क्याट माने बिरालो, कतै ज्यापू र स्पुतनिकको विरोधाभास खप्दै र कतै लिनसँग संगीतको धूनमा हराउँदै लामिछानेको निबन्ध छिचोलेपछि त उनीप्रतिको आस्था चुलिन पुग्छ । क्या छन् उनले खिचेका व्यक्तित्वका शाब्दिक स्केचहरू । कति सूक्ष्मतामा पुगेका छन् उनका पात्रप्रतिका अनुरागहरू । ‘अर्धमुदित नयन र डुब्न लागेको घाम’ कथा पढ्दा आफ्नो निर्णयमा आपैँm भोट हाल्न मन लाग्छ । घामपानीमा झरेका पानीका थोपाजस्ता उनका शब्दहरूको सुन्दर हार देख्ता नेपाली भाषाको अभिव्यक्ति क्षमताप्रति गर्व अनुभूत हुन्छ । निर्धक्क भई उनले साहित्यमा नयाँ र सुन्दर प्रयोग गरेको पाउँदा उनको अनुशरण गर्ने लालसा पैदा हुन्छ ।
छद्मता र आडम्बरको प्रतिविम्बन अनि सपाट शिल्प र उपदेशमूलक विचारका रचनालाई मैले प्रशंसा गर्नै सकिनँ । अग्रगामी विचार र नवीन सम्प्रेषण क्षमतामा खुल्ला साहित्य लेख्ने रमेश विकलका कथा र नियात्रा, नारायण ढकालका आख्यान, विमल निभाका कविता र मदनमणि दीक्षितका आख्यानले मलाई पूरै सन्तुष्टि दिए । ढकालको रमरम अराजकता मिसिएको लेखन खुब स्वादिलो लाग्छ । उनका ‘इरफान अली’ र ‘प्रेतकल्प’ले नयाँ क्षितिज खोलेको देख्छु म । निभाको ‘आगोनेर उभिएको मानिस’ माक्र्सवादी वैचारिकताको कलात्मक उपलब्धि मानेको छु । ‘माधवी’ जति पढ्यो उति गूढता, प्रतीक र अभिव्यञ्जनाले भरिएको लाग्छ । त्यसले जीवनलाई निकटबाट अनुभव गरेको, मानव इतिहासमा नयाँ आयाम थपेको देख्छु ।
माधव घिमिरेको ‘अश्वत्थामा’ धेरै पटक पढेँ । घिमिरेमा विचार सम्प्रेषण गर्ने काव्यिक अभिव्यक्तिको सामथ्र्य पाएँ । तत्कालीन परिस्थितिमा माओवादीले सुरु गरेको शस्त्रयुद्ध वा अमेरिकाले प्रारम्भ गरेको दमनका भिन्न परिप्रेक्ष्य भए पनि तिनले उत्पन्न गर्ने अभिघात र मानवताको चरम ह्रासलाई उनले बेलैमा आँकलन गरेका रहेछन् । ती युद्ध केका लागि भएका थिए भन्ने कुरा अहिले आएर उदांगो भइसकेको छ । केहीलाई शक्तिमा पुर्‍याउन धेरैको बलि दिनेहरूले पृथ्वीनारायण शाहलाई गाली गरेर आफूलाई महान् प्रमाणित गर्न खोजेको देख्ता तिनको कुटिलतालाई माधव घिमिरेले ‘राष्ट्रनिर्माता’मार्फत चालीस वर्ष पहिले नै जवाफ दिएकोजस्तो लाग्छ । सत्तासीनहरूको स्वार्थका लागि सती जान बाध्य नेपाली जनताको अहिलेको विवशता पनि उनले ‘राजेश्वरी’मा पचास वर्षअघि नै चित्रित गरेको जस्तो लाग्छ ।
पछिल्लो चरणको पठन यात्रामा मेरो अभिरुचिमा थिए पाब्लो नेरुदा र सोलोखोभ । प्रगतिशील भावलाई जीवन र स्थानिक इतिहासका अनुभूतिसँग जोड्न सक्ता नै उनीहरू महान् भएका रहेछन् । नेरुदाको ‘माकुपिकु’को उचाइका सामान्य गीत पढ्दा दक्षिण अमेरिकाका आदिवासीका जीवन संघर्ष आपैँm उघ्रिँदै जान्छन्, चिलीको हिउँमा चहक थपिँदै जान्छ । त्यसका लागि माक्र्सवादका ठेलीहरू अघि राख्नुनपर्ने रहेछ । सोलोखोभको दोनको प्रवाहसँग बगिरहेको सामान्य किसानका आशा, चिन्ता र सफलता असफलता अनुभूत गर्न ठूला तर्क गर्नुनपर्ने रहेछ ।
विगत दश वर्षदेखि आख्यान र नियात्रामा मेरो रुचि रह्यो । साह्रै गम्भीर विचार बोझयुक्त शिल्पले थिचिएको ‘सेतो ख्याकको आख्यान’ पढ्दा अर्कै स्वाद आउँछ फेरि ‘पल्पसा क्याफे’ले दिएको विनोदी चञ्चलताको मोहक सन्तुष्टि पनि उल्लेख्य छ । ‘राधा’, ‘कर्नाली ब्लुज’ र ‘ल’ू रोचक छन् । तिनले फरक जीवनप्रति एउटा दृष्टि दिन्छन् । तर, विशिष्ट क्षमतामा देखिएका छन् ‘कम्युनिस्ट’की अन्विका गिरी र ‘मोक्षान्त: काठमाडौँ फिभर’का कुमार नगरकोटी । नगरकोटीका कथाको अराजकता, आक्रामकता र भयरहित मिश्रणको हस्तक्षेले मलाई सुरुदेखि नै तानेको हो । गिरीमा चाहिँ कथनको स्वाभाविकतामा पनि विचार भर्ने सुन्दर कला पाएँ । डायस्पोराबाट आख्यान र निबन्ध लेख्नेमा पनि विषयवस्तुको विपुलता देखिएको छ । राजवको ‘एटलान्टिक स्ट्रिट’ र ‘क्यापिटल हिल’, सुन्दर जोशीको ‘क्यासल रककी अप्सरा’, पञ्चम अधिकारीको ‘पथिक प्रवासन’ शक्तिशाली पनि छन् । नियात्राका सुन्दर संसार सिर्जना गर्ने भीष्म उप्रेतीको ‘घर फर्कने दिन’ प्रिय लाग्छन् ।
टेबलमा किताबका खात छन्, तिनीसँगको संवाद रोमाञ्चक हुन्छ । व्यवहार र किताब मेरा ज्ञानका स्रोत हुन् । दयाराम श्रेष्ठको ‘नेपाली साहित्यका केही पृष्ठ’ र ऋषिराज बरालको ‘माक्र्सवाद र उत्तरआधुनिकतावाद’ जीवन्त  समालोचना हुन् । कृष्ण गौतमको ‘उत्तरआधुनिक संवाद’, सञ्जीव उप्रेतीको ‘सिद्धान्तका कुरा’ र तारालाल श्रेष्ठको ‘शक्ति, स्रष्टा र सबाल्टर्न’ व्यावहारिक तथा ज्ञानबद्र्धक लागेका छन् । बढी प्राज्ञिकता प्रदर्शन भएका, तथ्य लुकाएर आत्मप्रदर्शन गरिएका, साहित्यलाई एकलकाँटे बनाइएका अनि छिपछिपे ज्ञानका अनुकरणयुक्त समालोचना झुर लाग्छन् । बरु, बाबुराम आचार्यका इतिहास, बासु पासाका संस्कृति र स्टेफेन हकिन्सका विज्ञान विषयक किताबमा हराउँछु ।
छोराका लागि ल्याइदिएका भिक्टर प्रधान, विनय कसजू, कन्हैया नासननी वा जेके रोलिङका बालसाहित्य पढ्दा खुब मजा आउँछ । आरएल स्टिनका ‘गुजबम्स’ र टोनी एबोटका ‘दि सेक्रेट्स अफ डु्रन’का सिरिजमा पाइने अलौकिक विषयको आकर्षण पनि गज्जबको छ ।
उपयुक्त र आवश्यक किताब मात्र छनोट गर्ने हुँदा पढेर पछुताउनु परेको छैन । छुटेका किताबसँग कुनै गुनासो छैन किनकि प्राथमिकतामा नपर्ने किनेका किताबसमेत थुप्रै छन् । चित्त बुझ्यो भने प्रतिक्रिया दिने तर समलोचनाचाहिँ निकै सोचेर मात्र । मेरो अपेक्षा हो, जीवनको प्रवाहलाई भित्रैदेखि छुन सक्ने किताब । ‘दि गुड अर्थ !’ धन्यवाद छ पर्ल एस बकलाई ।

प्रतिक्रिया