बजेट सदुपयोग गर्न निर्देशन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले उपलब्ध बजेटको सदुपयोग समयमै गर्न निर्देशन दिएका छन् । पुँजीगत खर्च गर्ने विभिन्न मन्त्रालयका प्राथमिकताप्राप्त आयोजनाको कार्यान्वयनको अवस्था जान्न अर्थ मन्त्रालयमा आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री पुनले पहिले बढी बजेट माग गर्ने र नपुग हुने भन्दै बजेट रोकिराख्ने गरेका कारण वर्षको अन्तमा वास्तविक खर्च न्यून हुने गरेकाले त्यस्तो प्रवृत्तिमा रोक लगाउन आग्रह गरेका हुन् ।
उनले पुँजीगत खर्चका लागि मन्त्रालयबाट स्रोतको समस्या नहुनेसमेत बताए । प्राथमिकताप्राप्त पी वान र पी टु कार्यक्रमलाई बहुवर्षीय ठेक्का लगाउन र ठूला आयोजनाको कामलाई थप प्रभावकारी बनाउनसमेत आग्रह गरे । अर्थ मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी, सहसचिव कृष्णप्रसाद देवकोटा, संघीय मामिला तथा स्थानीय विकासका सचिव शान्तबहादुर श्रेष्ठ र सहसचिव दिनेशकुमार थपलिया उपस्थित थिए । छलफल कार्यक्रममा प्राथमिकता प्राप्त आयोजना स्वीकृतिको अवस्था आयोजनाको प्रगति, बहुवर्षीय आयोजनाका लागि गरिएको तयारी, हालसम्मको खर्च र आगामी दिनमा पुँजीगत खर्चलाई प्रभावकारी तुल्याइने रणनीतिसम्बन्धी छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव श्रेष्ठले मन्त्रालयअन्तर्गत सञ्चालित आयोजनामा आगामी एक महिनाभित्र पुँजीगत खर्चलाई प्रभावकारी बनाउन ठोस कदम चालेर आर्थिक वर्षको अन्त्यसम्म शतप्रतिशत प्रगति हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे । (सौस)
अर्थसचिव सुवेदीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको हालसम्मको पुँजीगत खर्च जम्मा १४ दशमलव २८ प्रतिशत रहनु चिन्ताको विषय रहे पनि आर्थिक वर्षको अन्त्यसम्म पुँजीगत खर्चको प्रगति शतप्रतिशत पुर्‍याउने प्रतिबद्धता आउनु सकारात्मक रहेको बताए

प्रतिक्रिया