निगमको मासिक नोक्सानी २३ करोड

काठमाडौं, १९ मंसिर । नेपाल आयल निगमको मासिक नोक्सानी २३ करोड २८ लाख रुपियाँमा झरेको छ ।  भारतीय आयल निगम (आइओसी) ले एक जनवरीमा पठाएको नयाँ मूल्य सूचीअनुसार निगमको मासिक नोक्सानी अघिल्लो महिनाको तुलनामा घटेको हो ।
अघिल्लो महिना निगमको मासिक नोक्सानी ५२ करोड ८९ लाख रुपियाँ थियो । नयाँ मूल्य सूचीअनुसार निगमलाइ एलपी ग्यासमा भइरहेको नोक्सानीमा समेत कमी आएको छ । एलपी ग्यासमा प्रतिसिलिन्डर ६ सय ४ रुपियाँ ८ पैसा र कुल नोक्सानी ७२ करोड ४९ लाख रुपियाँमा झरेको छ । अघिल्लो महिना एलपी ग्यासमा प्रतिसिलिन्डर ६ सय ५६ रुपियाँ ६२ पैसा घाटा थियो । साथै, ग्यासको परल मूल्यसमेत २ हजार ७४ रुपियाँमा आएको छ ।
आइओसिले एक डिसेम्बरमा पठाएको मूल्यअनुसार ग्यासमा प्रतिसिलिन्डर ६ सय ५६ रुपियाँ ६२ पैसा र डिजेलमा प्रतिलिटर ३ रुपियाँ ५२ पैसा घाटा रहेको थियो । सो मूल्य सूचीअनुसार अघिल्लो महिना ग्यासको कुल नोक्सानी ७८ करोड ७९ लाख र डिजेलमा २२ करोड ८८ लाख रुपियाँ पुगेको थियो ।
यस्तै, नयाँ मूल्य सूचीअनुसार डिजेलमा प्रतिलिटर २० पैसा र कुल नोक्सानी एक करोड ३५ लाख रुपियाँमा झरेको निगमले जनाएको छ । अहिले पेट्रोलमा प्रतिलिटर ९ रुपियाँ ८९ पैसा, मट्टीतेलमा १३ रुपियाँ ८५ पैसा, आन्तरिक उडानको हवाई इन्धनमा २४ रुपियाँ ९० पैसा र अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा प्रतिलिटर २९ रुपियाँ ६३ पैसा नाफा रहेको निगमले जनाएको छ ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा कुल नाफा १६ करोड ८१ लाख, मट्टीतेलमा ५ करोड ५४ लाख, आन्तरिक हवाई इन्धनमा ७ करोड ४७ लाख र अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा २० करोड ७४ लाख रुपियाँ कुल नाफा रहेको निगमले जनाएको छ । सोही नाफाका कारण निगमको मासिक नोक्सानीसमेत कमी आएको जनाइएको छ ।
निगम सञ्चालक समितिको बैठकले गत शनिबारबाट लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपियाँ मूल्य बढाएपछि निगमको कुल घाटा ३५ करोड ५० लाखमा झरेको थियो । त्यस अघि १६ डिसेम्बरको आइओसीको मूल्य सूचीअनुसार मासिक नोक्सानी ४० करोड ८५ लाख रुपियाँ थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट र पेट्रोल, हवाई इन्धनमा भएको नाफाका कारण मासिक नोक्सानीमा केही कमी आएको निगमले जनाएको छ ।

प्रतिक्रिया