एसएमईमा बैंकको लगानी

काठमाडौं, १९ पुस । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले थोक तथा खुद्रा व्यवसाय (एसएमई) मा पनि लगानी बढाउन थालेका छन् । अत्यधिक तरलताका कारण कर्जा प्रवाह गर्नैपर्ने बाध्यताका बीच बैंक तथा वित्तीय संस्थाले नयाँ क्षेत्र पहिचान गर्न नसक्दा थोक तथा खुद्रा व्यापार व्यवसायमा पनि लगानी बढाउन थालेका हुन् ।
लगानीको वातावरणको अभाव रहेका कारण ठूला लगानीमा जोखिम धेरै हुने भएकाले बैङकले थोक तथा खुद्रा व्यवसायमा लगानी बढाएको सम्बद्ध व्यक्ति बताउँछन् । घरजग्गा व्यवसायमा आएको सुस्तताका कारण संस्थागत लगानीकर्ता पर्ख र हेरको स्थितिमा रहेपछि बैंकहरू साना तथा मझौला व्यवसायतिर आकर्षित भएका हुन् ।
गत आर्थिक वर्षको पहिलो चार महिनाको चालु आवको कात्तिक मसान्तसम्म थोक तथा खुद्रा व्यवसायमा बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी ७ दशमलव ८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा यस्तो लगानी शून्य दशमलव ६ प्रतिशतले बढेको थियो । चालु आवको कात्तिक मसान्तसम्ममा यो क्षेत्रमा बंैक तथा वित्तीय संस्थाले १ खर्ब ४७ अर्ब रुपियाँ कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकका तथ्यांकमा उल्लेख छ ।
गत आवको तुलतामा यो साढे ६ अर्ब रुपियाँले बढी हो । गत आवको कात्तिक मसान्तसम्ममा यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह एक खर्ब ४१ अर्ब ४६ करोड रहेको थियो । अन्य कर्जा लगानीको तुलनामा साना तथा मझौला व्यवसायमा जोखिम कम हुने तथा कर्जा असुलीमा पनि सहजता हुने भएकाले बैंक तथा वित्तीय संस्था त्यसतर्फ आकर्षित भएको वाणिज्य बैंकका एक प्रमुख कार्यकारी अधिकृतले बताए । उनका अनुसार साना साना रकमको कर्जा जाने भए पनि ऋणीको संख्या ठूलो हुने हुँदा कार्य सञ्चालन खर्च भने यस्ता ऋण प्रवाह गर्दा बढी हुने गर्दछ । घरजग्गा व्यवसायमा ठूलो ऋण लगानी गर्दै आएको बैंक तथा वित्तीय संस्था त्यस क्षेत्रमा कुल कर्जाको २५ प्रतिशतभन्दा बढी ऋण लगानी गर्न नपाउने राष्ट्र बैंकको कडा निर्देशनपछि अन्य क्षेत्रतर्फ आकर्षित भएको हो । घरजग्गा क्षेत्रमा गएको ऋण खराब कर्जामा परिणत भएर सोबापत नाफाको ठूलो अंश कर्जा जोखिम व्यवस्थापनतिर राख्नुपरेकाले गत वर्षको नाफामा प्रतिकुल असर देखिएको थियो ।
लघुवित्त विकास बैंकबाट ऋण लिएर व्यवसाय गरेका व्यवसायी तुलनात्मक रूपमा सस्तो कर्जा पाउन पनि बैंक तथा वित्तीय संस्थातर्फ आकर्षित भएको उनले बताए । राष्ट्र बैंकको कृषि, जलविद्युत्, पर्यटन एवं अन्य उत्पादनशील क्षेत्रमा कुल कर्जाको १० प्रतिशत लगानी गर्नुपर्ने निर्देशनपछि विस्तारै यस्ता क्षेत्रमा कर्जा बढेको उनले बताए । त्यसैगरी विगतको तुलनामा व्यवसायीमा वित्तीय साक्षरता बढेकाले पनि यो क्षेत्रमा बैंकको लगानी बढ्दै गएको उनको भनाइ छ ।
रियलस्टेट, हाउजिङ, निर्माणलगायत क्षेत्रमा अपेक्षित प्रतिफल हात पार्न नसकेका बैंक तथा वित्तीय संस्थाले लगानी विविधीकरणका लागि यो क्षेत्र रोजेको उनले बताए । ‘अहिले बैंक तथा वित्तीय संस्था कर्जा प्रवाहका लागि पसलपसल धाउन थालेका छन्,’ ती अधिकारीले भने, ‘सहकारी संस्थाको तुलनामा बैंकबाट सस्तो ब्याजदरमा कर्जा पाइने भएपछि कतिपय व्यवसायीले सहकारी छाडेर बैंकबाट कर्जा लिन सुरु गरेका छन् ।××’
चालु आवको कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल लगानी ८ खर्ब ४४ अर्ब १८ करोड रहेकोमा त्यसको करिब २१ प्रतिशत कर्जा थोक तथा खुद्रा व्यवसाय क्षेत्रमा गएको छ । त्यसमध्ये पनि थोक (होलसेल, टिकाउयोग्य वस्तु) व्यवसायमा सबैभन्दा बढी ३२ दशमलव ८ प्रतिशत र अन्य खुद्रा व्यवसायमा १३ दशमलव ४ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, सोही अवधिमा थोक (होलसेल, कम टिकाउयोग्य वस्तु) व्यवसायमा १४ दशमलव ३ प्रतिशत र आयातमूलक व्यवसायमा १३ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ । गत आवको सोहीअवधिको तुलनामा थोक (होलसेल टिकाउयोग्य वस्तुमा) व्यवसायमा लगानी घटेको छ भने अन्य खुद्रा व्यवसायमा समान्य बढेको छ । त्यस्तै, गत आवको कात्तिक मसान्तको तुलनामा चालु आवमा थोक तथा खुद्रा व्यवसाय क्षेत्रमा लगानी केही बढेको छ ।

प्रतिक्रिया