तौल बढाउन सास्ती/घटाउन झनै सास्ती

काठमाडौं, १८ पुस । चलचित्र धन्दाको एउटा पोस्टरले अहिले राजधानीको सडकमा  धेरैको ध्यान तानिरहेको छ । यो आमनेपाली चलचित्रभन्दा फरकदेखिने यस पोस्टरमा नायक अर्पण थापा निकै विभत्स रूपमा देखिएका छन् । पोस्टर र चलचित्रसँगै चर्चामा आएका छन् नायक अर्पण ।

चलचित्रमा यस्तो रूपका लागि निकै मिहिनेत परेको थियो । उनले अनुहारमा जोखिम मोलेर केमिकल प्रयोग गरी रूप बिगारेको अर्पणले बताए । ‘क्यारेक्टरअनुसार आफूलाई फिट बनाउन जोखिम मोलेँ,’ उनले सौर्यसित भने, ‘छायांकनपछि एलर्जीले सतायो ।’
मेकअप गर्न चार घन्टाको समय लाग्ने गरेको र त्यतिबेलासम्म थुकसमेत निल्न नहुने गरेको उनी सम्झिन्छन् । अर्पणले धन्दा का लागि आफ्नो तौल पनि १२ केजी घटाएका रहेछन् । ६ महिनाभित्रै १२ केजी तौल घटाएको जानकारी दिँदै उनले भने, ‘छायांकनको अन्त्यतिर फेरि वेट बढाउनु पर्ने भएपछि निकै समस्या पर्‍यो ।’ छायांकनको अन्त्यतिर छोटो समयमै अर्पणले आफ्नो तौल साढे ११ केजि बढाएका थिए ।
तौल घटाउँदा खासै समस्या नपरे पनि बढाउनु पर्दा भने बढी नै समस्या परेको उनको अनुभव छ । ‘वेट घटाउँदा खान मन लागेको कुरा खान पाइँदैनथ्यो भने वेट बढाउँदा मन नपरेको खाना पनि कोची–कोची खानु पर्दा धेरैचोटि झाडापखालाले सतायो,’ उनले भने । वेट घटाउँदा बिहान ब्रेकफास्ट नखाई सिधै डिनर, लन्च थोरै मात्रामा र वेट बढाउनका लागि केरा, दुध बढिमात्रमा खाने गरेको बताए ।
धन्दाको कथा पनि अर्पण स्वयंले नै लेखेका हुन् । करिब २ वर्ष अगाडि रिलिज भएको चलचित्र ब्याच नम्बर १६ मा नायक बनेर देखिएका अर्पणको यो दोस्रो चलचित्र हो । धन्दाको कथा लेखनका लागि उनले वैदेशिक रोजगारमा जाँदा ठगिएका साथी तथा सञ्चारमाध्यममा आएका समाचारलाई आधार बनाएको बताए ।
अर्पणको अभिनयले गम्भीर दर्शकको समेत प्रशंसा पाएको छ । चलचित्रले विस्तारै आर्थिक रूपमा पनि पिकअप लिइरहेको छ ।
आफ्नो चलचित्रको प्रतिक्रिया बुझ्न अर्पण मंगलबार नै सिभिल मलमा पुगेका थिए । हलमा जाँदा दर्शकले आफूलाई नचिनेको उनले बताए । ‘फेसबुक म्यासेज, इमेल, फोनमार्फत बधाई पाइरहेको छु,’ उनले भने ।
अर्पणका दुई चलचित्र बधशाला र सिक सिटी प्रर्दशनमा आउन तयारी अवस्थामा छन् । दुवै चलचित्रमा आफूले सक्दो मिहिनेत गरेको उनी बताउँछन् ।

प्रतिक्रिया