रोकिए अरू बढुवा

काठमाडौं, १८ पुस । सर्वोच्चले एसएसपी बढुवाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि सशस्त्र र नेपाल प्रहरीमा अन्यको बढुवा रोकिएको छ । स्रोतका अनुसार पाँच एसएसपीको बढुवासँगै गृह मन्त्रालयले रिक्त पदमा पनि बढुवा गर्ने तयारी गरेको थियो । एसपी बढुवाका लागि मन्त्रालयमा सोमबार गृहसचिव नवीनकुमार घिमिरे, प्रहरी महानिरीक्षक कुबेरसिंह राना, मन्त्रालयअन्तर्गतको कर्मचारी प्रशासनका सहसचिव गणेश कार्की र प्रहरी कर्मचारी प्रशासनका एसपी ठाकुरप्रसाद ज्ञवालीसहितको बैठक बसेको थियो । बैठकले रिक्त एसएसपीमा पदपूर्तिका लागि वरीयताक्रमअनुसार एसपी ठाकुरराम बर्तौला, बलराम शर्मा पौडेल, ज्ञानविक्रम शाह, पुष्पचन्द्र रञ्जित र धीरु बस्नेतको नाम छनोट गरेको थियो । वरीयतामा अघि रहेका एसपी श्याम खत्रीको नाम भने छनोटमा परेको छैन ।

वरीयताका आधारमा मात्रै बढुवा गर्दा कार्यक्षमता ओझेलमा पर्ने भन्दै महानिरीक्षक राना कार्यक्षमताका आधारमा एसपी पुस्कर कार्कीको पनि बढुवा हुनुपर्ने पक्षमा छन् । गृहमन्त्री विजयकुमार गच्छदारले भने कार्यक्षमताभन्दा पनि वरीयतालाई नै प्राथमिकता दिइरहेको स्रोत बताउँछ । स्रोतका अनुसार एसएसपीको पदपूर्तिलगत्तै रिक्त हुने एसपी, डिएसपी र इन्स्पेक्टर पदमा बढुवाका लागि मन्त्रालय तयारीमा थियो । स्रोतले भन्यो, ‘डिआइजीको लफडा टुंगो लागे बढुवाका बाँकी काम दुई साताभित्रै टुंगो लाग्थ्यो ।’ स्रोतका अनुसार २९ डिएसपीलाई एसपी, ६० इन्स्पेक्टरलाई डिएसपी र ८४ लाई इन्स्पेक्टरमा बढुवा गर्ने तयारी थियो ।
सशस्त्रमा पनि उस्तै
सशस्त्र प्रहरीमा रिक्त तीन डिआइजी पद पूर्तिको केही साताअघिदेखि तयारी भए पनि अहिलेलाई भने रोकिएको छ । डिआइजी भूपेन्द्र थापा र कमल बस्नेतले अनिवार्य अवकाश पाएको र राजस्व तथा औद्योगिक सुरक्षामा डिआइजीको नयाँ दरबन्दी थपिएपछि सशस्त्रमा तीनवटा पद खाली छ । रिक्त पदमा बढुवाका लागि सशस्त्रले एसएसपी जानकी भट्टराई, खडानन्द चौधरी, सुबोध अधिकारी र विकल्पमा दुर्गाबहादुर कुँवरको नाम मन्त्रालयमा पठाइसकेको छ । स्रोतका अनुसार सशस्त्र मुख्यालयले डिआइजी बढुवाका लागि उक्त नाम पहिले नै पठाएको थियो । स्रोतले भन्यो, ‘गृहमन्त्री बढुवामा अनिवार्य रूपमा मधेसका मान्छे पारिनुपर्ने अडानमा उभिएपछि बढुवाको काम ढिला भएको हो ।’ गृहमन्त्री १२औँ नम्बरमा रहेका एसएसपी नरेन्द्रबहादुर सिंहलाई डिआइजी बनाउने अडानमा रहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया