सेलिब्रेटीका नजरमा ०१२

काठमाडौ : आजबाट ०१३ को सुरुवात भएको छ । वर्ष ०१२ हाम्रा सेलिब्रेटी कतिलाई लाभदायक सिद्ध भयो भने कतिलाई दु:खको वर्ष पनि बन्यो । नेपाली चलचित्रलाई हेर्ने हो भने यो वर्ष त्यति लाभदायक भन्न मिल्दैन । चलचित्रका लागि ०१२ लाभदायक हुननसके पनि सेलिब्रेटीका लागि यो वर्ष कस्तो रह्यो त ? प्रस्तुत छ सेलिब्रेटीकै शब्दमा वर्ष ०१२ लाई फर्केर हेर्दा :
निशा अधिकारी : ०१२ मेरो एकदम सफल वर्षको रूपमा रह्यो । त्यसैले लाग्छ आउने हरेक वर्ष यो वर्ष जस्तै होस् । यस वर्ष मायाज बार, अपवाद र धुँवा यो नसालगायत मेरो अभिनय रहेको चलचित्र रिलिजमा आए । प्रतिशतका आधारमा दिने हो भने ७० प्रतिशत भन्न चाहन्छु । ०१३ को पूर्वसन्ध्यामा चलचित्र सुनगाभाको टिमसँग काठमाडांैमा हुने कार्यक्रमा सहभागिता जनाउने छु । रिलिजको तयारीमा रहेको यो चलचित्रले मलाई ०१२ झैँ लोकप्रिय गराउने विश्वस्त छु ।
सीताराम कट्टेल (धुर्मुस) : यो वर्ष मेरा लागि व्यस्तताको वर्ष बन्यो । व्यस्त भएपछि नराम्रो हुने कुरै भएन । यस वर्ष मेरो भ्रमणको वर्ष बन्न पनि सफल भयो । आधादर्जन जति देशमा कार्यक्रमको सिलसिलामा घुम्ने अवसर पनि पाएँ । स्वदेशमा हुने प्राय: कार्यक्रममा मैले सहभागिता जनाए । यो वर्ष मेरो सिरियल मेरीबास्सैले देश–विदेशमा रहेका नेपालीको मन जित्न सफल पनि भयो । र्‍यांकिङका आधारमा प्रतिशत दिने हो भने ९० दिन्छु म । ०१३ को पूर्वसन्ध्यामा पनि मैले कैलालीमा आयोजित विशेष महोत्सवमा सहभागी जनाए । जे भए पनि म अंग्रेजी न्यु इयरभन्दा नेपाली न्यु इयरमा विश्वास गर्छु ।
शंकर घिमिरे : नेपाली चलचित्र क्षेत्रका लागि यो वर्ष दु:खदायी बन्यो । चलचित्रकै कुरा गर्दा लुट र चपली हाइटले व्यवसायका हिसाबमा केही आस जगाए पनि तीबाहेक चलचित्रका लागि केही उपलब्धि भने भएन । यस वर्ष मेरो चलचित्र ब्रेकफेल रिलिजमा आयो । तर, चलचित्रले सोचेजस्तो व्यवसाय गर्न सकेन । ब्रेकफेलले सलमान खानको चलचित्र बडी गार्डको सामना गर्नु परेको थियो । ०१३ लाई स्वागत गर्दै पूर्वसन्ध्यामा राति अबेरसम्म परिवारसँग रमाउँछु । नेपाली नयाँ वर्ष भने म धुमधाम मनाउँछु ।
विनिता बराल : ०१२ खासै रमाइलो भएन । साइबर क्राइमको घटनाले निकै दु:ख पाएँ । चलचित्र चपली हाइटबाट मलाई राम्रो सफलता प्राप्त भए पनि फुलस्टप ले त्यो सफलता धान्न सकेन । चलचित्र खासै नभए पनि कार्यक्रममा भने व्यस्त भएँ । तर ९० प्रतिशत यो वर्ष सफल रह्यो । ०१३ का पूर्वसन्ध्यामा जन्मथलो चितवनमा कार्यक्रममा सहभागी भएँ ।
रिमा विश्वकर्मा : अन्य वर्षभन्दा ०१२ एकदमै राम्रो रह्यो मेरा लागि । ०१२ मेरो एक मात्र चलचित्र भिजा गर्ल प्रर्दशनमा आयो । र्‍यांकिङका आधार र पर्सनल हार्डवर्कको ८० प्रतिशत दिन चाहन्छु यो वर्षलाई । नयाँ वर्षको पूर्वसन्ध्यामा गोकर्णमा आयोजित न्यु इयर रकमेनिया कार्यक्रमको होस्ट पनि गरँे ।
नवल खड्का : यो वर्ष मेरा लागि उल्लेख्य सफलताको वर्ष बन्यो । चलचित्र कलाकार संघको निर्वाचित अध्यक्ष बन्न सफल भएँ म । आफँैले निर्माण गरेका चलचित्र दश गजा विभिन्न देशमा रिलिज पनि भयो । र्‍यांकिङको आधारमा ५१ प्रतिशत दिन चाहन्छु । ०१३ को पूर्वसन्ध्यामा परिवार तथा साथीभाइसँग रमाइलो गर्दै बिताएँ । वर्षको अन्त्यमा स्वास्थ्य अलि बिग्रिएको छ ।
वेनिशा हमाल : उत्तर–चढावको बीचमा यो वर्ष बित्यो । तैपनि, यो वर्ष सफलै रह्यो भन्न मिल्छ । चलचित्र मोक्ष र महसुसमा यो वर्ष अभिनय गरे पनि प्रदर्शनमा भने आएन । सायद यो वर्षमा रिलिज हुन्छ होला । ०१३ पूर्वसन्ध्यामा न्यु इयर मनाउन आयोजना गरिएका तीन कार्यक्रममा बोलाए पनि दुईमा मात्र सहभागी भएँ ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया