मालिक–मालिक्नी जिउँदै जलाइए

गुवाहाटी : भारतको उत्तरपूर्वी राज्य असमको एक चियाबारीमा श्रम विवाद उत्पन्न भएपछि त्यहाँका कामदारले मालिक र मालिक्नीलाई जिउँदै जलाएका छन् । निजी रूपमा सञ्चालित एमकेबी टी स्टेटका करिब एक हजार कामदारले आगो लगाएर चियाबारीका धनीको हत्या गरेको प्रहरीले जनाएको छ ।
चियाबारी मालिक मृदुल भट्टाचार्य र पत्नी रीतालाई उनीहरूको घरमा आगो लगाएर हत्या गरिएको हो । आगलागीपछि घटनास्थल पुगेका प्रहरीलाई कामदारले उद्धार गर्न नदिएपछि जलेर भट्टाचार्य दम्पतीको मृत्यु भएको हो ।
स्थानीय प्रहरी अधिकारी ए दासले चियाबगानका मालिकको शरीर जलेर चिन्न नसक्ने भएको बताए । उनकी पत्नीको शव भान्सा कोठामा फेला पारिएको जानकारी उनले दिए । भारतीय दैनिक ‘इन्डियन एक्सप्रेस’ले जनाएअनुसार १० कामदारलाई आवास छोड्न भनेपछि र अन्य तीन कर्मचारीलाई पक्राउ गर्न लगाएपछि कामदारसँग उनको सम्बन्ध बिग्रिएको थियो । कामदारले पनि स्थानीय टेलिभिजन च्यानलमा आफूहरूले आक्रमण गरेको स्विकारेका छन् । एक महिला कामदारले स्थानीय टिभी च्यानलसँग कुरा गर्दै चियाबगान मालिकले आफूहरूलाई लामो समयदेखि शोषण गर्दै आएको र ससाना कुरामा पनि यातना दिने गरेकाले उनीहरूको घरमा आगो लगाइदिएको स्वीकार गरिन् । टेलिभिजनले यी महिलाको परिचय भने लुकाएको छ । भारतको कुल चिया उत्पादनको ५५ प्रतिशत भाग असममा उत्पादन हुने गर्छ । असममा करिब आठ सय चियाबारी छन् । (एएफपी)

प्रतिक्रिया