बुबाले लखेटे छिमेकीले हौस्याए

०४७ तिर होला । म नौ कक्षामा अध्ययन गर्दे थिएँ । सानैदेखि चटपटे र धेरैको अगाडि पर्दा पनि नलजाउने भएकोले विद्यार्थी जीवनमै पनि स्कुलमा हुने हेरक क्रियाकलापमा भाग लिन्थेँ । विद्यार्थी जीवनको विभिन्न क्रियाकलापसँगै कक्षा नौ पढ्दै गर्दा रेडियोमा नाटक गर्ने अवसर पाएँ । त्यतिबेला म रेडियोमा नाटकमा पनि बाल कलाकारको चरित्रमा थिएँ । त्यो समयमा अहिलेको जस्तो धेरै एफएमहरूको बिस्तार भइसकेको थिएन । त्यसैले धेरैले रेडियो सुन्थेँ । रेडियो नाटकमा चरित्र निर्वाह गरे पनि म लोकप्रिय नै थिएँ ।
नाटककै सिलसिलामा म एक दिन माइतीघरमा रहेको भिजुयल नेपालमा पुगेँ । त्यतिबेला भिजुयलबाट टेलिचलचित्र निर्माण गर्ने तयारी भइरहेको रहेछ । टेलिचलचित्रको नाम थियो थप्पा । थप्पाको कलाकार छनोटको क्रममा रहेछ । निर्देशक रहेछन् सूर्य बोहारा । उहाँ पनि त्यहीँ थिए । मेरो पनि अभिनयमा सानै देखिको रूचि थियो । त्यसैले कलाकार छनोट गर्ने काम भइरहेको बेला मैले पनि श्रृंखलामा अभिनय गर्नेे रूची त्यहाँ प्रकट गरेँ । त्यो समयमा मसँग गएको साथीले यसलाई पनि अभिनय गर्न साह्रै मन छ, मिल्छ भने दिनुन् भनेर निर्देशक सूर्य बोहोरालाई अनुरोध गरे । निर्देशक बोहोराले मलाई ‘तीन सिन भएको बालकलाकारको रोल छ खेल्ने हो, भनेर सोध्नुभयो ।’ मैलै हुन्छ भनेँ । त्यो शृंखला जम्मा दुई भागको थियो । दुई भागको सिरियलमा तीन सिन भए पनि निकै उत्सुक थिएँ ।
मेरो पहिलो दिनको सुटिङ काठमाडाँैको महांकालमा थियो । पहिलो दिनको सुटिङ भएकोले म बिहानै स्पटमा पुगेँ । अहिले जस्तो गाडीको सुविधा नभएकोले त्यतिबेला साझा बस चढेर हिँड्नु पथ्र्याे । मैले पनि त्यसै गरेँ । म स्पटमा पुग्ने बित्तिकै मेकअप भयो । मेकअप गरेपछि त्यतिबेला बिहानको नास्ताको रूपमारहेको चना र अन्डा खाएँ । त्यतिबेला सुटिङमा नास्ता चना र अन्डा दिने चलन थियो । नास्तापछि म अभिनयका लागि तयार भएँ । मैले अभिनयका लागि मेकअप गरेको लगभग तीन घन्टापछि मेरो अभिनय गर्ने पालो आयो । मलाई अभिनयका लागि क्यामेरा अगाडि बोलाइयो । म सटको लागि तयार भएँ । लोकनाथ ढकाल, विष्णुभक्त फुयाल, नारायण त्रिपाठी, ऋषि लामिछाने र मेरो एउटै सट थियो ।
अभिनय गर्दा मलाई अरू कसैको डर भने त्यति भएन । नारायण त्रिपाठी र लोकनाथ ढकाल त्यतिबेलाका चर्चित कलाकारमा पर्थे । त्यसैले मलाई उहाँहरूसँग अभिनय गर्दा के हुने हो कसो हुने हो भन्ने लागिरहेको थियो । मनमा अनेक कुरा खेलिरहेका थिए । मनमा अर्काे डर पनि थियो निर्देशकको । निर्देशक निकै कडा स्वभावका थिए । अभिनय बिगार्ने कलाकारलाई उहाँले नराम्रोसँग गाली गर्नुहुन्थ्यो ।
मनमा अनेक कुरा खेल्दा खेल्दै अभिनयका लागि क्यामेरालगायत सबै तयार भयो भनेर निर्देशकले सोध्नुभयो, हामी सबैले तयार भन्यौँ । जब, निर्देशकले सबै सम्झाएर टेक लिनका लागि एक्सन भन्नुभयो । मेरो होसले ठाउँ छाड्यो । एक त कहिल्यै अभिनय नगरेको अर्काे कुरो त्यहाँ सुटिङ हेर्नेको पनि धेरै भिड थियो । होसैले ठाउँ छोडेपछि अभिनय राम्रो हुने कुरै भएन । पहिलो टेक बिग्रियो । टेक बिग्रिएपछि निर्देशकले गाली गर्नु हुन्छ भन्ने लागेको थियो तर उहाँले केही छैन आत्तीनु पर्दैन ल फेरि सट लिने भन्नुभयो । यो कुराले मनमा सान्त्वना मिल्यो । बिग्रिए पनि केही हँुदो रहेनछ, फेरि गर्न मिल्दो रहेछ भन्ने मलाई लाग्यो र मैले नडराइकन अभिनय गरेँ । यो टेक ओके भयो । सबैको अनुहार हाँसोले भरियो । यो फुच्चेले पनि राम्रो गर्‍यो भनेर सबैले भने । यसैगरी अभिनय गर्दै गएँ । मेरो अभिनय सकियो । जब मेरो अभिनय सकियो भनेर निर्देशकले भन्दा युद्ध जितेझैँ लाग्यो । मेरो खुसीको सिमानै थिएन ।
अभिनय सकिए पछि म खुसी हँुदै साथी भाइ, चिने जानेकालाई आफूले अभिनय गरेको सुनाउँदै घरमा आइपुगँे । घरमा आउँदा मेरो खुसीको सिमा नै थिएन । म अभिनय सकेर आएकोले फुरुंग थिएँ । त्यसैले पहिले बुबालाई नै सुनाउँछु भन्ने लागेर सुनाएँ । तर, बुबाले मलाई झण्डै मार्नु भएको थियो । “तँ पढ्ने बेलामा नौटंकी लाइनमा लागिस्” भनेर । बुबाले मलाई लखेट्दा दौडिएको अझै पनि याद छ मलाई । घरमा बुबाले गाली गरे पनि गाउँमा सुनाउँदा गाउँका मान्छले कहिले आउँछ, हामी पनि हेर्छौं भन्नुभयो । मैले यो नामको हो टेलिभिजन हेर्दै गर्नु आउँछ भनेर बुझाएँ ।
पहिलो शृंखला भएकाले मेरो पहिरन खासै विशेष पनि थिएन । म नर्मल हाफ पाइट र टिसर्टमा थिएँ । बालकलाकारको रोल भएकोले त्यो ड्ेरस मलाई सुहाएको थियो । सबैले जिस्क्याउँथे क्या ड्ेरस छ यार । पहिलो शृंखला आउँछ आउँछ भन्दा भन्दै तीन वर्षपछि बल्ल नेपाल टेलिभिजनबाट प्रसारण भयो । आफ्नो पहिलो अभिनयको शृंखला आउँदा धेरै खुसी पनि लाग्यो । तर, त्यति बेला आयो राम्रो कलाकार भइसकेको थिएँ । टेलिभिजनका लामा–लामा रोल भएको शृंखलामा मैले अभिनय गरिसकेको थिएँ । जब शृंखला प्रसारण भयो । म जवाफ दिँदा–दिँदा हैरान भएँ । किन भने त्यो शृंखलामा मेरो अभिनय छोटो थियो । छोटो अभिनय भएकोले मलाई सबैले कति सानो रोल खेलेको भनेर सोधे । मैले सबैलाई त्यो तीन वर्ष पहिलेको हो । यो मेरो पहिलो अभिनय हो भनेर बुझाएँ तर कतिले पत्याए कतिले पत्याएनन् । तर, म बुझाउँदा बुझाउँदा हैरानै भएको थिएँ । त्यो दिन आज पनि मलाई सम्झना छ ।
प्रस्तुति : कुवेर गिरी

प्रतिक्रिया