महिला हिंसा विरुद्धको आन्दोलनमा सेलिब्रेटी

काठमाडौं : पछिल्लो समय हाम्रा सेलिब्रेटीहरूले सामाजिक कार्यमा निकै सहभागिता जनाउने गरेका छन् । यस्तैमा पछिल्लो समय देशमा बढ्दै गएको महिला हिंसाविरुद्धको आन्दोलनमा सेलिब्रेटीको समेत साथ रहने गरेको छ । शनिबार महिलाअधिकार कर्मीहरूको आन्दोलनमा पनि सेलिब्रेटीले साथ दिएका छन् । साथ दिनेमा नायिका नम्रता श्रेष्ठ, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ, मदनदास श्रेष्ठ, कर्मालगायत रहेका छन् । यी सेलिब्रेटीले शनिबार बिहान १० बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटरमा धर्ना दिन पुगेका महिला अधिकारकर्मीहरूको साथ दिएका हुन् ।
धर्नामा सहभागी सेलिब्रेटीले धर्नाबाटै नेपालमा बढ्दै गएको महिलाहिंसा तत्काल रोकी दोषीलाई कारबाही गर्न माग गरे । पछिल्ला केही दिनमा मात्र नेपालमा आधादर्जन यस्ता खालका हिंसा भइसकेका छन् । बाराकी बिन्दू ठाकुर र बर्दियाकी शिवा हास्मीलाई जिउँदै जलाएर हत्या गरिनु, एयरपोर्टमा लुटिएकी एक युवतीलाई सरकारी कर्मचारीबाट नै बलात्कार गरिनु जस्ता घटनाले महिलाहरू प्रतिदिन असुरक्षित हँुदै गएकाले महिला हिंसाका बिरुद्धमा आफूहरू पनि उत्रिएको सहभागी कलाकारहरूले एकै स्वरमा बताए । (सौस)

प्रतिक्रिया