कलाकारितामा फच्र्युन खोज्दै

संसारमा तीन चिजको महत्त्व छ । ती हुन्– नेम, फेम र फच्र्युन (अर्थात्– पहिचान, व्यक्तित्व र पैसा) । यी सबै प्राप्त गर्ने एउटा बलियो माध्यम हो कलाकारिता । त्यसैले पनि होला, पवित्रा आचार्य कलाकारितामा नै संघर्षरत छिन् र यसै क्षेत्रमा आफूलाई स्थापित गरेर यी तीनवटै कुरा हासिल गर्न चाहन्छिन्् ।
०६४ मा गायिका सरु पराजुलीको ‘सुरभि’ एल्बमको एउटा गीतको म्युजिक भिडियोमा अभिनय गरेर कलाक्षेत्रमा प्रवेश गरेकी आचार्यले बितेका पाँच वर्षमा लोक तथा आधुनिक गरी दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
‘विजयपथ’मार्फत ठूलो पर्दाको चलचित्रमा भाग्य अजमाउन अघि बढेकी आचार्य अहिले ‘राजनीति’लगायत केही चलचित्रमा अनुबन्धित भएकी छन् । कलाकारितामा आवश्यक अभिनय र नृत्य–दक्षतासहित प्रवेश गरेकाले पनि पछिल्लो समयमा उनको हातमा एकपछि अर्काे चलचित्र परिरहेका छन् ।
अभिनयका अलावा नागार्जुन एकेडेमी र महेन्द्र भवन उच्च माविमा नृत्य–प्रशिक्षकको जिम्मेवारीसमेत निर्वाह गरिरहेकी आचार्य ब्याचलर दोस्रो वर्षकी विद्यार्थी हुन् ।
अरूका नजरमा आफूलाई आकर्षक देखाउनु नै ‘ग्ल्यामर’ भएको धारण राख्ने आचार्य स्कुलेजीवनदेखि नै अभिनयमा लाग्ने गरेको बताउँछिन् । पाइन्ट र टि–सर्ट लगाउन निकै सजिलो लाग्छ उनलाई तर भन्छिन्, ‘मेरो वास्तविक सुन्दरता भने सारीमा नै राम्ररी खुल्छ ।’
दाल, भात र तरकारी सबैभन्दा मनपर्ने परिकार भएको बताउने यी सुन्दरीको ठम्याइमा उनको शरीरको सबैभन्दा आकर्षक अंग आँखा हो । कारण सोध्न नपाउँदै उनी भन्छिन्, ‘मेरा आँखा नै बोल्छन् ।’ आकर्षक जिउडाल, गहिरा काला आँखा, गोरो अनुहार र पाँच फिट अग्लाइ भएकी यी सुन्दरीको सबैभन्दा खुसीको क्षण कुन होला ? ‘मैले पहिलोपटक अभिनय गरेको चलचित्र ‘विजयपथ’ रिलिज भएको दिन मेरो सबैभन्दा खुसीको दिन हो,’ केही नोस्टाल्जिक हुँदै आचार्यले भनिन् ।
शब्द/तस्बिर : ज्ञानेन्द्र कार्की

 

प्रतिक्रिया