बस खस्दा १५ को मृत्यु

सुर्खेत (दशरथपुर), १४  पुस । गुल्मीबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बस शुक्रबार दशरथपुर गाविसमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान सवा ८ बजे ना २ ख ५७४१ नम्बरको बस दशरथपुर–६ गम्खोलामा खस्दा १३ जनाको घटनास्थलमै र दुईको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा १६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दैलेख, चौराठाका पूर्वमाओवादी लडाकु तर्क विक, कालिदल गण सुर्खेतमा कार्यरत दशरथपुर–७ का मानबहादुर गाहा, दशरथपुर–५ का कुमार पौडेल, ११ वर्षीया दीपा ढकाल, चण्डीप्रसाद गणमा कार्यरत गुमी–५ का गजेन्द्र गुरुङ र दशरथपुर–३ की १० वर्षीया ममता खड्का छन् । यस्तै, साटाखानी–८ का १३ वर्षीय यमन मिदुन, गुमी–१ का ९ वर्षीय अर्जुन सुनार, गान्धी सुनार, गुमी–४ का प्रज्वल शिरीष र केशर शिरीषको घटनास्थलमै मृत्यु भएको छ । लेखफर्सा–९ की बुद्धिकला फौजाको उपचारका लागि वीरेन्द्रनगर लैजाँदै गर्दा र बस चालक वीरेन्द्रनगर–६ का ३५ वर्षीय ललित भण्डारीको थप उपचारका लागि कोहलपुरतर्फ लैजाँदै गर्दा मृत्यु भएको हो ।
बस दशरथपुरको गम्खोला भन्ने स्थानमा सडकबाट करिब ३० मिटर तल खोलामा खसेको थियो । दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन ।
गाडीको ‘स्टेरिङ फेल’ भएकाले चालकले नियन्त्रण गर्न नसक्दा बस सडकबाट खसेको हुनसक्ने आशंका प्रहरी र स्थानीयवासीले गरेका छन् । दुर्घटनाका प्रत्यक्षदर्शी नारायण तिवारीले ‘स्टेरिङ फेल’ भएकाले घुम्ती क्रस गर्दा दुर्घटना भएको बताए ।

प्रतिक्रिया