उडिरहेको विमानमा विमोचन

काठमाडौं : युवा चिन्तक रमण नेपालीको ‘सीप अनि सफलतासँगै आनन्द’ नामक कृतिको बिहीबार उडिरहेको विमानमा विमोचन गरिएको छ ।
राष्ट्रकवि माधव घिमिरे, घिमिरेपत्नी महाकाली, लेखक स्वयं, विमान परिचारिकाहरू अञ्जना कसपाल र करुणा राईले बुद्ध एयरको माउन्टेन फ्लाइटमार्फत सगरमाथाको काखमा बिहान संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन् । सत्कर्म र सकारात्मक सोचले देशको विकास हुन्छ भन्ने सन्देशसहितको उक्त कृतिमा सीप अनि सफलतासँगै आनन्द भन्ने विषयमा एउटा कथा समेटिएको छ । यसअघि नेपालीले ‘माल पाएर चाल नपाएका मित्रलाई पत्र’ नामक कृति प्रकाशनमा ल्याएका थिए । दुवै कृति प्रभा–रमण फाउन्डेसनले प्रकाशन गरेको हो ।
विमोचनपछि राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरेले सगरमाथालाई छुन नपाए पनि नजिकबाट नियाल्दा आफूलाई अद्भुत र रोमाञ्चकारी महसुस भएको उल्लेख गर्दै उक्त कार्यक्रमले लेखनमा थप प्रेरणा मिल्ने बताए । (सौस)

प्रतिक्रिया