चलचित्र भनेपछि हुरुक्कै हुन्थेँ

नेपाली कला संस्कृति समेटिएका चलचित्र मन पर्छन् । नेपाली चलचित्रलाई माया गर्नुपर्छ भन्नेमध्येको एक म पनि हुँ । विद्यार्थी जीवनमा चलचित्र हेर्न भनेपछि हुरुक्कै हुन्थेँ । त्यो समयमा कोही साथी भए पनि नभए पनि चलचित्र हेर्न मैले छुटाउँदैन थिएँ । कुनैकुनै चलचित्रको नाम बिर्सिए पनि केटाकेटीदेखि अहिलेसम्म हेरेका थुप्रै चलचित्रका धेरै कुरा याद छन् अझै ।
मैले सबैभन्दा पहिले हेरेको चलचित्रको नाम त अहिले याद छैन । तर के याद छ भने त्यो चलचित्र हिन्दी नै थियो । यो चलचित्र केटाकेटीमै त्रिवेणी मेलामा हेरेको थिएँ । चलचित्रको नाम भुले पनि मेलामा जेनरेटर चलाएर प्रोजेक्टरबाट देखाइएको त्यो चलचित्र पालभित्र बसेर हेरेको अझै सम्झना छ । त्यतिबेला नेपाली चलचित्र नबनेका हुन् या बनेर पनि प्रचार नभएर हो, केही थाहा पाइँदैनथ्यो । थाहा नपाएपछि जे चलचित्र पायो, त्यो हेर्नु पर्‍यो नि † आखिर, चलचित्रको मोह मार्नु पनि त भएन । त्यसैले त्यसबेला इन्डियाको जयनगरमा गएर हिन्दी चलचित्र नै खुब हेरँे ।
नेपाली चलचित्रको कुरा गर्ने हो भने पहिलोपटक हेरेको नेपाली चलचित्र ‘कान्छी’ हो । सायद ०३४, ०३५ तिर होला । त्यतिबेला म हाइस्कुलको विद्यार्थी थिएँ । घर उदयपुर भए पनि चलचित्र हेर्न भने लहान आउनुपथ्र्याे । जब मैले स्कुलेजीवन पार गरेर कलेज पढ्न थालेँ, त्यतिबेला कलेज पढ्न राजविराज आउनुपथ्र्यो । राजविराजमा हँुदा चाहिँ चलचित्र खुबै हेरियो । नेपाली होस् या हिन्दी चलचित्र, प्रदर्शनमा आयो कि हेर्ने गरिन्थ्यो । कलेज नै पढ्दा जब म विद्यार्थी राजनीतिमा लागेँ, त्यतिबेला भने चलचित्र हेर्ने क्रममा केही विराम लाग्यो । किनभने त्यतिबेला अनेरास्ववियुबाट सप्तरी जिल्लाकै नेता भइसकेको थिएँ भने त्यो समयमा हाम्रो स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीलाई चलचित्र हेर्न नदिने निर्णय नै गरेको थियो । त्यो निर्णय कार्यान्वयन गराउन मलगायत अन्य स्ववियु पदाधिकारी साथीहरू विद्यार्थीलाई चलचित्र हेर्न नदिन चलचित्र भवनमा गएरै चेक गथ्र्याँै । यस्तो अभियान चलाए पनि म र कतिपए साथीहरू भागेर वा लुकेर चलचित्र हेर्ने गथ्र्याँै, त्यो पनि रातिको समयमा मात्र । त्यसरी लुकेर चलचित्र हेर्नुपर्दा सबै चलचित्र हेर्न भने पाइँदैनथ्यो । कति चलचित्र हेर्ने चाहना हुँदाहुँदै पनि हेर्न नमिलेर चलचित्रको प्रदर्शन सकिएको हुन्थ्यो । त्यस्तो बेलामा आफैँलाई दिक्दारी लाग्थ्यो ।
मैँले हेरेका र अहिले पनि राम्रैसँग याद भएका चलचित्र भनेका कुसुमे रुमाल, प्रेम–पिण्ड, वासुदेव, तँ त सारै बिग्रिस् नि बद्रीलगायत हुन् । संख्याकै हिसाबले भन्ने हो भने पनि मैले १५, २० भन्दा माथिको संख्याका नेपाली चलचित्र हेरेको छैन ।
पछिल्लो समय हेरेको चलचित्र भनेको हिन्दीमा ‘ओ माई गड’ र नेपालीमा ‘बलिदान’, ‘वीरगणेशमान’, ‘दासढुंगा’ आदि हुन् । यीमध्ये मलाई मन परेको चलचित्र ‘बलिदान’ नै हो । यो चलचित्रले नेपालीको पीडा बोकेको छ । ‘दासढुंगा’ र ‘वीरगणेशमान’ राजनीतिसँग जोडिएर निर्माण भएकाले राजनीतिक हिसाबले हेर्ने हो भने चलचित्र राम्रा छन् । तर, कलात्मक हिसाबले ती दुवैमा शून्यता नै छाएको महसुस गरँे मैँले ।
प्रचारका कारणले चर्चामा सुनेका र हेर्ने चाहना हुँदाहुँदै पनि हेर्न नपाएका नेपाली चलचित्रहरू धेरै छन् । नीर शाहले बनाएको चलचित्र ‘मसान’ हेर्ने चाहना हुँदाहुँदै पनि त्यो हेर्न पाइनँ । तर, फुर्सदै हुँदा र थाहा पाउँदा पनि नहेरेको चलचित्र पनि प्रशस्तै छन् । नेगेटिभली प्रचार गरिएको ‘चपली हाइट’, ‘बिन्दास’जस्ता चलचित्र फुर्सदै हुँदा पनि हेर्न मन लागेन । चलचित्र हेर्न विषयमा पनि छनोट गर्ने मेरो आफ्नै तरिका छ । मैँले अहिले यु–ट्युब र ट्वीटरमार्फत चलचित्रका विविध पक्ष नियाल्ने गरेको छु । त्यसअलावा, पत्रपत्रिकाले राम्रा भनेका र सकारात्मक टिप्पणी गरेका चलचित्र हेर्ने गरेको छु । पछिल्लो समय टेलिभिजनमा सबै चलचित्रको प्रचार शैली एउटै भएकाले पनि राम्रो र नराम्रो छुट्याउन गाह्रो पर्ने गरेको छ । यसले गर्दा चलचित्र हेर्न दर्शक कम भएजस्तो लाग्यो । मैँले पनि चलचित्र कम हेरेको यही कारण हो । पछिल्लो समय चर्चामा आएका चलचित्र ‘साँघुरो’, ‘छड्के’ र हिन्दीमा ‘तलास’ चलचित्र हेर्न मन लागेको छ ।
(वार्तामा आधारित)

प्रतिक्रिया