मुम्बई : अभिनेता सलमान खान पछिल्लो समयमा बलिउडकै लक्की कलाकार मानिन थालिएका छन् किनभने उनको अभिनय रहेको जुनै चलचित्र प्रर्दशनमा आए पनि त्यसले व्यावसायिक सफलता हात पार्ने गरेको छ । केही समयअगाडि सलमानको नयाँ चलचित्र ‘दबंग–२’ प्रदर्शनमा आएको छ । यस चलचित्रले पनि बलिउडमा निकै उत्साहजनक व्यावसाय गरिरहेको छ ।
बलिउडसम्बन्धी सञ्चारमाध्यमलाई आधार मान्ने हो भने यसले बलिउडमा यसअगाडिका चलचित्रले बनाएका रेकर्ड तोडेको छ । चलचित्रले प्रदर्शनमा आएको पहिलो सातामै ४९.५ करोड बराबर व्यावसाय गरेर ‘थ्री इडियट्स’को रेकर्डलाई ब्रेक गरेको छ । यसअघि ‘थ्री इडियट्स’ले अन्य बलिउड फिल्मको रेकर्ड तोड्दै प्रदर्शनमा आएकै साता ३८ करोडको व्यावसाय गरेर रेकर्ड बनाएको थियो ।
सधैँजसो चाडबाड वा विशेष मौका छोपेर आफ्नो चलचित्र रिलिज गर्न निर्माता निर्देशकलाई लगाउने सलमानले यो चलचित्र रिलिज गर्न भने कुनै खास अवसर वा पर्व छोपेका छैनन् । तापनि, चलचित्रले रिलिजको पहिलो दिन २० करोड बराबरको कमाइ गर्न सफल भयो ।
पछिल्लो समय सलमानले जुन चलचित्रमा हात हालेका छन्, त्यो चलचित्र हिट हुने गरेको नागपुरका वितरक अक्षय राठीले बताए । उनले भने, ‘कुनै सार्वजनिक बिदा नपरेको समयमा यसपटक सलमानको चलचित्र रिलिज गरिए पनि चलचित्रले राम्रो व्यावसाय गरेको छ । यस हिसाबले हेर्ने हो भने चलचित्रले आगामी सातासम्म पनि राम्रो व्यावसाय गर्ने अनुमान गर्न सकिन्छ । (एजेन्सी)
प्रतिक्रिया