सञ्चारकर्मी खनाल भिडियो निर्देशनमा

काठमाडौं : सञ्चारकर्मीहरू अचेल भटाभट निर्देशन क्षेत्रमा होमिन थालेका छन्, त्यो चाहे चलचित्र होस् वा म्युजिक भिडियो । यसै क्रममा विगत लामो समयदेखि रेडियोमा कार्यक्रम सञ्चालन गर्दै आएका सञ्चारकर्मी सन्तोष खनाल पनि म्युजिक भिडियोमार्फत निर्देशनमा उत्रिएका छन् ।
गायिका योजना पुरीको एल्बम ‘मनै त हो’ को शीर्ष गीत ‘मनै त हो…’ मा बनेको म्युजिक भिडियो खनालले निर्देशन गरेका हुन् । उनकै शब्द रहेको यो गीतको भिडियोमा केके अधिकारी र मानश्वीको अभिनय रहेको छ ।
०६१ बाट सञ्चारकर्ममा होमिएका खनालले आफूलाई सञ्चारकर्मीका अलावा कलाकारितामा पनि त्यतिकै सक्रिय गराउँदै आएका छन् । तीतो सत्य, जीरे खुर्सानी, मेरी बास्सै, लगन जुर्ला जस्तो छलगायत टेलिशृृंखलामा समेत अभिनय गरिसकेका खनाल सोही अभिनयको अनुभवले निर्देशनमा हात बढाएको बताउँछन् । त्यसो त कुसुम नाट्य समूहबाट बेलाबेलामा प्रदर्शन गरिने नाटकमा समेत अभिनय गर्ने गरेका खनाल नाटकको सिलसिलामा देशका २२ भन्दा धेरै जिल्ला पुगिसकेका छन् । थुप्रै कलाकार एवं प्रशंसकको हौसला र प्रेरणाले आफू निर्देशनमा लागेको बताउने खनाल कलाकारिता र सञ्चारकर्मलाई एकैसाथ लैजाने सोचमा छन् । ‘कलाकारिता र सञ्चारकर्ममा भविष्य देखेकाले यी दुवैलाई एकैसाथ अगाडि बढाएको हुँ । सकेसम्म दुवै पेसालाई निरन्तरता दिन्छु,’ खनालले आफ्नो योजना सुनाए । (सौस)

प्रतिक्रिया