दर्शक भड्काउने मेलोमेसो

काठमाडौं, ९ पुस । रुद्राक्ष हिन्दूधर्म अनुसार शिवको प्रतीक मानिन्छ । धार्मीक आस्थाको रूपमा रहेको यसले अलौकिक शक्ति प्रदान गर्नुका साथै यसले आयुर्वेदिक औषधिमा पनि उतिकै महत्त्वका साथ प्रयोग गर्ने गरिन्छ । पूजापाठको अवसरमा रुद्राक्षको माला धारण गर्ने, जपतप गर्ने र ग्रहगोचर शान्ति गराउन पनि रुद्राक्षको धारण गर्दछन् । रुद्राक्ष धारण गरे विभिन्न प्रकारका रोगबाट मुक्ति पाउन सकिने भएकाले यसलाई आयुर्वेदमा दिव्य औषधिसमेत भन्ने गरिन्छ । अलौकिक गुणले सम्पन्न भएकाले वनस्पतिको मणि भनेर यसको उपयोगिता हुँदै आएको छ ।

हाम्रो धर्म शास्त्रमा रुद्राक्ष धारणबाट अरिष्ट नाश, सौभाग्य वृद्धि, मनोरथपूर्ण आदि प्रतिकका रूपमा लिइने गरिन्छ । यीलगायत रुद्राक्षको महत्त्व र त्यसको बारेमा जानकारी पाउँछु भन्ने उद्देश्यले चलचित्र रुद्राक्ष हेर्ने सोच बनाउनु भएको छ भने तपार्इंको त्यो सोच निराशामा बदलिने निश्चित छ । किनभने दिनेश पाख्रिनको प्रस्तुति रहेको र शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र रुद्राक्षमा यस्ता कुनै प्रसंग कोट्याइएका छैनन् । प्रचार–प्रसारले चलचित्र जति चर्चित बनाएर दर्शकमा आस जगाउने काम भएको छ । त्यो आस चलचित्रको अन्त्यसम्ममा निरासमा बदलिने सम्भावना छ । किनभने, चलचित्रले रुद्राक्षको त्यस्तो कुनै महत्त्व दर्शाउन सकेको छैन ।
शीर्ष भूमिकामा रहेका रोहित कुमार (आकाश), अनुशाह (दिब्य), दिनेश पाख्रिन (अम्ले), मोनिका दाहाल (खुश्बु ) र सुनील थापा (पालेदाई)को वरिपरि घुमेको छ चलचित्र रुद्राक्ष । आकाश, दिब्या, खुस्बु, अम्ले, रमेशसहित ११ जनाको टिमले रुद्राक्ष ब्यान्ड बनेको हुन्छ । यी ब्यान्डका सबै सदस्य धरान कार्यक्रमका लागि काठमाडौंबाट एक माइक्रोबसमा निस्कन्छन् । रमाइलो गर्दे यात्रा गरिरहेका यो टिमको बाटो हाइवे निर्माण भइरहेकोले जंगलतिर मोडिन्छ । जंगलको बाटो हुँदै अगाडि बढेको माइक्रो जंगलको बीचमा बिग्रन पुग्छ । यसरी माइक्रो बिग्रिएपछि ब्यान्डका सबै सदस्य भोलिपल्ट बिहान भेट्ने भन्दै माइक्रोचालक र हेल्परलाई माइक्रोमा नै छाडेर जंगलमा रहेको एक घरमा बास लिन पुग्छन् । घरको पालेदाइले रातिको रमाइलो जमघटसहित रात काट्ने व्यवस्था मिलाइदिन्छ । त्यही घरमा सुतिरहेको ठाउँमा खुपीले विभिन्न आवाज सुन्छे । भोलिपल्ट घरमा बाहिर गाडी भएको ठाउँतिर जाँदैगर्दा खुपीले घरमा भूत भएको बताउँदा सबै साथीहरूले उसलाई उठाउँदै गाडी भएको तिर लाग्छन् । गाडीका चालक र हेल्परको कसैले हत्या गरिदिएको हुन्छ । त्यो हत्या देखेर खुपी चिच्याउँदै जंगलतिर दौडन थाल्छे र सबै साथीहरू पनि खुपीको पछि–पछि जंगलतिर लाग्छन् । जंगलमा गएपछि त्यस जंगलमा अगाडि बढ्ने सिलसिलामा एकएक गरेर उसका साथीहरूको मृत्यु हुन्छ– हिन्दी चलचित्र ‘काल’मा जंगलमा भएका घटनाजस्तै । आकाशले आफ्नो ब्यान्डका सदस्य के कारणले भटाभट मारिए भन्ने चलचित्रको अन्त्यतिर रहस्य खुल्छ । चलचित्रको अन्त्य हुनु केही अगाडि समेटिएको सानो मालिक र रितुको आत्मा भगाउन प्रयोग गरिएको रुद्राक्षले चलचित्रको नाम पुष्टि गर्ने प्रयास गरेको छ ।
रुद्राक्षको कथा अधिकांश हिन्दी भुतका चलचित्रमासँग मिलेको छ । चलचित्रका लेखक प्रकाशराज पुरीले कथामा नत नविनता नै दिन सकेका छन् नत एकपछि अर्काे गरी आउने दृश्यले कुतूहल पैदा गराउन सकेको छ । पहिलो हाफमा आउने केही दृश्य र गीतले दर्शकलाई दोस्रो हाफसँग बाँधेर राख्ने काम गरेको छ भने दोस्रो हाफमा चलचित्र टुंग्याउने काम मात्र भएको छ । चलचित्रमा नायक रोहित कुमारको अभिनय सबैभन्दा राम्रो छ । म्युजिक भिडियोमा दमदार अभिनय गर्दै आएकी नायिका अनु शाहले अभिनयमार्फत कुनै चमत्कार देखाउन सकेकी छैनन् ।
अनावश्यक दृश्य राखेर चलचित्र लम्ब्याउने परिपाटीबाट चलचित्र रुद्राक्ष पनि मुक्त हुन सकको छैन । उदय सुब्बाको टिम जंगलमा पटक–पटक देखाइएका दृश्य , क्यालिन्डरमा कालोले मेटाएको दृश्य, पाले दाइतिर फोकस गरिएका यीलगायत यस्ता केही दृश्यको चलचित्रसँग तालमेल नहुनुले चलचित्रको कथा उबडखाबट लाग्छ । जसले नव–निर्देशक गोकुल राईको निर्देशकीय क्षमतामा प्रश्न चिह्न खडा गरेको छ । तान्त्रिक बनेका मोहन निरौलाले हवन गरेको र मन्त्र बढेर रुद्राक्ष जगाएको प्रसंग हास्यास्पद लाग्छन् । यसले चलचित्रको लेखक र निर्देशकमा विषयबस्तु प्रतिको गाम्भीर्यता नभएको प्रष्ट हुन्छ । आफ्नो प्रेमीसँग दिनको समयमा संयोग गरेकी खुस्बुले त्यही राति नै आफू प्रिग्नेन्ट भएको छु भन्नु चलचित्रको मुख्य कमजोरी हो भने अर्काे कमजोरी रात्रिसमयका दृश्य प्रस्ट नहुनु पनि । निर्माता दिनेश पाख्रिनको अभिनय अशोभनीय छ भने मोनिकाले पनि सामान्य अभिनय गरेकी छन् ।
चलचित्रको सबैभन्दा सबल पक्ष गीतसंगीत नै हो । ती गीत रहेको छ । सिच्युएसन र पात्रअनुसारको गीतसंगीतले चलचित्रलाई सिगार्ने काम गरेको छ । चलचित्रमा द्वन्द्व सामान्य छ । ब्यान्ड मेम्बरका भूमिकामा देखिएका कलाकारहरू मुख्य कलाकारका सहयोगी मात्र बनेका छन् । करिब दुई घन्टाको चलचित्रले दर्शकलाई हलमा बाँधेर राखेता पनि सन्तुष्टी भने दिनसकेको छैन । चलचित्रको अन्त्यमा बुनेको प्रेत आत्माको कथा टुंग्याउन अलि हतारो गरिएको छ जसले दर्शकको नजरमा खल्लोपन महसुस गराउँछ । चलचित्र प्रचारको समयमा आफूले चिनो चलचित्रबाट पाएको उपनाम रातेकाहिँला फेरिएर रुद्राक्षबाट पालेदाइहुने खलपात्र सुनीलथापाले दाबी गरेका थिए । तर, चलचित्र उनको त्यस्तो दमदार अभिनय भने रहेको छैन । यो मामिलामा भन्ने हो भने दर्शक झुक्याउने काम मात्र भएको छ ।

प्रतिक्रिया