बैंक खाता खोल्न पुन: सहज हुँदै

काठमाडौं, ९ पुस । सम्पत्ति शुद्धीकरण ऐनलाई थप सहज तुल्याउन राष्ट्र बैंकले जारी गरेको ग्राहक पहिचान (केवाइसी) मार्गदर्शनअनुसार खाता खोल्न सेवाग्राहीले झन्झिटिलो ठानेपछि राष्ट्र बैंक त्यसलाई सरल बनाउने तयारीमा लागेको छ । कालो धनलाई सेतो धनमा परिणत गर्ने माध्यमका रूपमा बंैकिङ प्रणालीको प्रयोग नहोस् भन्ने मनसायले नेपाल राष्ट्र बैंकले केवाइसी मार्गदर्शन सुरु गरेको थियो । राष्ट्र बैंकले गत असोजबाट लागू गरेको नयाँ केवाइसी मार्गदर्शनअनुसार कुनै व्यक्तिले बैंकमा खाता खोल्न बाबु, आमा, बाजे, बज्यै, श्रीमती एवं बालिग छोराछोरीको समेत नागरिकता नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था गरेको थियो ।

नयाँ व्यवस्थाअनुसार खाता खोल्न ग्राहकले आनाकानी गर्ने गरेपछि नयाँ खाता खोल्ने दरमा नै कमी आएको एनआइसी बैंक टेकु शाखाका एक सहायकस्तरका कर्मचारीले भने । खाता खोल्ने क्रमलाई झन् सहज पार्नुपर्नेमा झनै झन्झटिलो बनाइएको गुनासो बैंक कर्मचारीले सुन्नुपर्ने गरेको उनले बताए । बैंकमा खाता हुने व्यक्तिले चालु आर्थिक वर्षभित्र नयाँ केवाइसी मार्गदर्शनअनुसार विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।
खाता खोल्न झन्झटिलो बनाएपछि नेपाल बैंकर्स संघको अनुरोधमा त्यसलाई सहज पार्ने तयारी राष्ट्र बैंकले गरेको हो । सम्पत्ति शुद्धीकरणका लागि खाता खोल्न गरिएको कडा व्यवस्था लागू गर्ने/नगर्ने भन्ने विषयमा राष्ट्र बैंकका अधिकारीबीच समेत विवाद रहेको बताइन्छ । राष्ट्र बैंकका केही कर्मचारी बैंकमा खाता खोल्ने व्यवस्था थप सहज बनाउनुपर्ने पक्षमा छन् । पछिल्लो एक महिना राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाका कारण सर्वसाधारणको वित्तीय संस्थामा आकर्षण घट्ने देखिएपछि खाता खोल्ने कडा प्रावधान परिवर्तन गर्ने मनस्थितिमा पुगेको हो । राष्ट्र बैंकमाथि खाता खोल्ने व्यवस्थामा भएको कडाइका कारण बंैकिङ क्षेत्रबाट पैसाको कारोबार सहकारी एवं अन्य अनौपचारिक क्षेत्रमा जाने खतरा बढी भएको भन्दै परिवर्तन गर्न दबाब परेको हो ।
पुरानो व्यवस्थाअनुसार खाता खोल्दा खोल्ने व्यक्तिको नागरिकताको फोटोकपी र फोटो भए पुग्छ । पछि थप व्यवस्था गरी बाबु, आमा, बाजे, बज्यै, श्रीमती र छोराछारीको समेत नागरिकता नम्बर राख्न अनिवार्य गरेको थियो । तीव्र विरोधपछि पुन: राष्ट्र बैंकले परिवर्तन गर्न लागेको व्यवस्थाअनुसार खाता खोल्न बाबुबाजे वा छोराछोरीको नागरिकता नम्बर नचाहिने बनाउन लागिएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।
व्यक्तिको नागरिकतामा बाबु र बाजेको नाम हुने भए पनि उनीहरूको नागरिकता नम्बर हुँदैन । नयाँ व्यवस्थाअनुसार कतिले स्वर्गीय भइसकेका बाजेको नाम मुस्किलले थाहा पाए पनि नागरिकता प्रमाणपत्र नै नलिएको अझ बज्यैको त नाम पनि थाहा नहुने समस्या सिर्जना भएको थियो । राष्ट्र बैंकले सबै क्षेत्रको असहमतिपछि खाता खोल्ने व्यवस्था परिवर्तन गर्न लागेको हो ।
सम्पत्ति शुद्धीकरणका नाममा विगतमा १० लाख रुपियाँभन्दा माथिको रकम बैंकमा राख्दा स्रोत खोल्नुपर्ने व्यवस्था गरेपछि बैंकमा निक्षेप घटेको बैंकर्सले बताएका थिए । पुन: खाता खोल्दा यस्तो कडा प्रावधान थपेपछि ग्राहक थप बंैकिङ क्षेत्रमा नआउने बैंकरहरूले दाबी गरे । नेपालको वित्तीय प्रणालीमा करिब ३० प्रतिशत जनताको मात्रै पहुँच रहेको छ । केन्द्रीय बैंकले सम्पत्ति शुद्धीकरणका नाममा ग्राहकलाई निरुत्साहित पार्दै गएमा पहुँच अझ घट्न पुग्ने उनले दाबी गरे । नेपाल बैंकर्स संघका अध्यक्ष एवं सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले भने खाता खोल्ने प्रक्रियालाई सहज पार्न राष्ट्र बैंकसँग छलफल भइरहेको बताए ।

प्रतिक्रिया