पिकनिकमा आर्यनलाई फ्यानको चुम्बन

ललितपुर, ८ पुस । गोदावरीको पिकनिक स्पटमा शनिबार बेग्लै रौनक थियो । पिकनिक खान पुगेका सयौँ कलाकार र उनलाई घेरेका फ्यानको भिडले त्यहाँको माहोल गुलजार बनायो ।

करिब एक सय कलाकारको समूह पिकनिक स्पटमा पुग्नासाथ त्यहाँ वरिपरिका अरू पिकनिक स्पट एकाएक खाली हुनपुगेका थिए । चिरपरिचित कलाकारलाई देख्नेबित्तिकै फ्यानहरू ओइरिइहाले । उनीहरूले आफ्ना प्रिय कलाकारसित अटोग्राफ लिनुका साथै तस्बिर पनि खिचाउन भ्याए ।
पिकनिकमा सबैभन्दा आकर्षणका केन्द्र बने, नायक आर्यन सिग्देल । कालो चश्मा, कालो ह्याट र लामो जुँगामा बिलकुल फरक देखिएका आर्यन करिब १५ मिनेट मात्रै पिकनिकमा सहभागी भए । उनलाई फोटो खिचाउने क्रममा विशेषगरी किशोरी फ्यानहरूले घेराउमा पारिहाले । कोही उनलाई अंकमाल गर्न खोज्दै थिए भने कोही अटोग्राफ मागिरहेका थिए । हुलमुलकैबीच एक किशोरीले मौकामा चौका हान्दै आर्यनलाई गालामा चुम्बन गरिदिइन् । उनी थिइन्, प्लस टु अध्यननरत दीक्षा पाण्डे ।
थुप्रै कलाकारको अटोग्राफ हात र गालामा लेखाउन भ्याएकी पाण्डेले आफ्नो अनुभव सुनाउँदै सौर्यसित भनिन्, ‘मलाई आज जीवनकै ठूलो खुसी प्राप्त भएजस्तो अनुभूति भइरहेको छ । मलाई मनपर्ने आर्टिस्ट आर्यन सिग्देललाई चुम्बन गर्न पाएँ, फोटो पनि खिचाएँ ।’
नायिका निशा अधिकारी धेरैजसो किशोर फ्यानसित व्यस्त थिइन् । उनीसित फोटो खिचाउन र अटोग्राफ लिन थुप्रै किशोर लालायित देखिन्थे । खलनायकका रूपमा चिनिएका कलाकार सरोज केसी पनि फ्यानको क्रेज देखेर मख्ख परिरहेका थिए । केसी भन्दै थिए, ‘कलाकारितामा लागेर अहिलेसम्म नपाएको फ्यान आज पाएँ ।’
हास्य कलाकारद्वय दीपकराज गिरी र दिपाश्री निरौलासित पनि फ्यान उत्तिकै झुम्मिएको देखिन्थ्यो । उनीहरू दीपकको केटा र केटी फ्यान उत्तिकै संख्यामा भए पनि दिपाश्रीको चाहिँ केटा फ्यान बढी थिए ।
केटी फ्यान पुरुष कलाकारतिर र केटा फ्यान महिला कलाकारतिर बढी झुम्मिएका थिए । कलाकारतिर यसरी फ्यान झुम्मिरहँदा पर्दामा नदेखिने निर्माता तथा निर्देशक भने ओझेलमा परे । उनीहरू चुपचाप रमिता हेरिरहेका थिए ।
चलचित्र कलाकार संघले आयोजना गरेको पिकनिक मदिरारहित थियो । खानामा पुलाउ र खसीको मासु थियो । कार्यक्रमको सुरुआतमा निर्देशक समाजका अध्यक्ष विमल पौडेललाई चलचित्र क्षेत्रको हकहितका खातिर अनसन बसेकोमा चलचित्र कलाकार संघका नवनिर्वाचित अध्यक्ष नवल खड्काले खादा ओढाएर सम्मान गरे । पिकनिकमा निर्माता संघका अध्यक्ष राजकुमार राई, कलाकारहरू शिव श्रेष्ठ, बसुन्धरा भुसाल, आकाश अधिकारी, किरण केसी, उत्तम केसी, मौसमी मल्ल, दिनेश डिसी, मदनदास श्रेष्ठ, रूपा राणा, सौजन्य सुब्बालगायत सहभागी भएका थिए । संघका अध्यक्ष खड्काले पिकनिक भव्य भएको सौर्यलाई बताए ।

प्रतिक्रिया