म आफ्नै मार्केटिङ गर्न चाहन्छु

अरूण तिवारी आफूलाई फिलोसोफिकल गीतकार भन्न रुचाउँछन् । उनको रचनामा ‘सावन’, ‘माया सबैलाई’, ‘बाँच्नुको अर्थ’, ‘इफेक्ट्स्’, ‘स्वीकारोक्ति’, ‘द वेस्ट अफ अरूण’, र ‘पर्खाल’ गरी सात गीति एल्बम तथा ‘एक्लै एक्लै’, ‘नदेखिने ईश्वर’, लगायत पुस्तक–कृति प्रकाशित छन् । उनको नयाँ कृति ‘सेलेक्टेड प्वयम्स/अरूण’ यसै साता बजारमा आएको छ ।

पाठकको ध्यान गीत, कविताभन्दा बढी आख्यानले तान्न थालेको भन्ने कुरा कत्तिको सत्य हो ?
आख्यानले ध्यान तानेको भन्ने गर्छन् । मलाई पनि धेरैले ‘यसो आख्यान पनि लेख्नुस् न’ भन्छन् । तर, आख्यानले बढी पाठक ताने पनि एउटा गीतले जति मान्छेलाई तान्न सक्छ, आख्यानले सक्दैन । आख्यानले क्षणिक शान्ति दिए पनि गीत वा कविताले जस्तो दीर्घकालीन शान्ति दिन सक्दैन । खासमा कविता वा गीत आख्यानभन्दा निकै परिस्कृत विधा हो । र, म सधैँ भन्छु, आख्यान गीतजत्तिको कालजयीचाहिँ हुँदैन ।
तर, गीत–कविताको मूल्यमा ह्रास आएको त सत्य हो नि †
मूल्यमा ह्रास आएको मान्दिनँ । तपाईंको यो प्रश्न नै झुर हो । गीत र कविताको स्थान आख्यानले लिन सक्दैन । गीत, कविता सामान्य मान्छेले बुझ्छन् । तर, आख्यान त्यस्तो नहुन सक्छ । कुनै खराब मान्छेले कविता वा गीत नपढेर, नसुनेर केही फरक पर्दैन ।
प्रसंग बदलौँ । तपाईं एउटा गीत कति मूल्यमा बेच्नुहुन्छ ?
म एउटा गीत १५ हजार रुपियाँभन्दा घटिमा बेच्दिनँ । कुनै गीतको २० हजार पनि लिन्छु । म नेपालको महँगो गीतकार हुँ भनेर दाबी गर्छु । किनभने मैले एउटा गीतलाई ३० हजार रुपियाँसम्ममा बेचेको छु ।
तपाईंलाई आफ्ना कुरा भन्न गीत नै किन चाहिन्छ ?
साहित्यमा थुप्रै विधा छन्, यी थुप्रै माध्यममध्ये गीत मात्रै यस्तो सशक्त माध्यम हो, जसलाई लाखौँले एकैपटक सुन्न सक्छन् । गीतको कुनै सीमा हुँदैन । म चर्चाको निकै भोको छु । म आफ्नै कृतित्वको बढी बयान होस् भन्ने चाहन्छु, र आफ्नै मार्केटिङ गर्न चाहन्छु, यो गीतले गरिदिन्छ ।
एउटा राम्रो गीतको परिभाषा तपाईं दिन सक्नुहुन्छ ?
मलाई दस वर्षअघि सोध्नुभएको भए गीतलाई स्वर, संगीत र शब्दको त्रिवेणी भन्थेँ । अहिले मेरो परिभाषा फेरिएको छ, म भन्छु, गीत भनेको गीत नै हो । गीत कुनै पार्टीको हुँदैन, कुनै वादको हुँदैन । यसमा चेतनाकै कुरा आउनुपर्छ । यो भाषामध्येको पनि सबैभन्दा परिष्कृत भाषा हो । सुन्दर गीतले मानिसको अन्तरआत्मालाई छुनुपर्‍यो ।
गीतले समाज र सत्तालाई कत्तिको असर गर्छ ?
गीतले समाज, सत्तालाई निश्चय नै असर गर्छ । तर, हाम्रोमा राजनीति गर्नेहरू परिस्कृत सोच भएका लाग्दैनन् । त्यसैले हाम्रोमा चाहिँ नेतालाई न गीतले छुन्छ, न साहित्यको कुनै विधाले । ‘एक जुगमा एक दिन एकचोटी आउँछ’, ‘गाउँगाउँबाट उठ’ गीतले जनतालाई जगाएकै हो, उठाएकै हो । नेताले पो त्यो सबै बिर्सिन्छन् । राजनीतिलाई असर गरेको नदेखिए पनि जनता र समाजलाईचाहिँ पक्कै असर गर्छ गीतले ।
सिर्जनाको स्तर समयको घटीबढीमा निर्धारण हुन्छ ? गीतकारले श्रोताको पछि लाग्ने कि आफ्नो पछि लगाउने ?
मनलाई आनन्द दिने विषय नै संगीत हो भन्ने मेरो बुझाइ छ । संगीत आफ्नो आनन्दका लागि हो भन्ने म सोच्छु । तर, श्रोताहरूले मन नपराउँदा उनीहरूले स्टेज छाड्नुपरेको वा गाउनै छाड्नुपरेका उदाहरण प्रशस्तै छन् । गीतकारले पहिले आफ्ना लागि लेख्नुपर्छ, त्यसपछि पाठकका लागि । कलाकारले पनि पहिले आफ्ना लागि गाउनुपर्छ/बजाउनुपर्छ, त्यसपछि श्रोताहरूको लागि । गीतलेखन र गायनमा मिठास भएन भने त्यसले कुनै माने राख्दैन । म श्रोताको पछि लागेजस्तो लाग्दैन र श्रोतालाई पछि लगाएँ भन्ने अभिमान पनि मसँग छैन ।
नयाँ ट्रेन्ड पछ्याउने लालसाकै कारण गीत वा संगीतमा नयाँ प्रयोगका नाममा नक्कलले प्रश्रय पाइरहेको हो ?
अहिले गीत लेखनमा क्वालिटी नभएका, वादन–गायनमा राम्रो सीप नभएकाहरू यसो यताउता मिलाएर, फ्युजन गरेर गीत बनाउँछन् । अहिलेको गीतकार, संगीतकार, गायकमा धैर्यको कमी छ । ऊ रातारात हिट हुन चाहन्छ, पैसा कमाउन चाहन्छ । तर, सत्य कुराचाहिँ के हो भने साधनाविना त्यो काम सम्भव छैन । आफू अघि बढ्न चाहेको विधामा ‘कमान्ड’ जरुरी छ ।

 

प्रतिक्रिया