म विवाह र परिवारजस्ता सामाजिक संस्थासँग सहमत छैन । यी निजी सम्पत्तिको उदयसँगै आएका संस्था हुन् । जब संसारमा निजी सम्पत्तिको अन्त्य हुने व्यवस्था आउँछ, त्यस सँगसँगै यी संस्थाको पनि अन्त्य हुनेछ । हाम्रो समाजमा विवाह, परिवार र प्रेमलाई एउटै सन्दर्भमा लिने गरिन्छ । तर, विवाह र प्रेम उस्तै कुरा होइनन् । विवाह र प्रेमबीच कुनै सम्बन्ध नै छैन र हुनु पनि हुँदैन । विवाह सामाजिक करार हो, प्रेम हृदयको व्यापार हो । विवाहको सम्बन्ध निजी सम्पत्तिसँगै हुन्छ । निजी सम्पत्तिले जन्माएको यो विवाह संस्था एकदमै खत्तम संस्था हो । मान्छेलाई प्रेम गर्नमा बाधा दिने संस्था हो यो । विवाह सम्बन्धलाई आधार मानेर नै मान्छे संयमित र नियन्त्रित हुन बाध्य छ । बाहिर अरू युवती देख्दा पुरुषको मन चञ्चल हुन्छ तर घरकी श्रीमतीले थाहा पाउँछे कि भनेर ऊ डराउँछ । महिलाको मन पनि त्यस्तै हुन्छ । मान्छे एकलगामी होइन, स्वभावैले बहुगामी प्राणी हो ।
मान्छेहरू मलाई सोध्छन्, तपाईं कस्तो प्रेमी हो ? म आफूलाई उच्चकोटिको प्रेमी ठान्छु । प्रेम भन्नु सम्बन्ध होइन, यो त स्वभाव हो भन्छन् । मलाई आफूले प्रेम गरेका व्यक्तिको कहिल्यै आलोचना गर्दिनँ, सधैँ म उनीहरूको आदर र सम्मान गर्छु । आफ्ना प्रेमिकाहरूप्रति मलाई कुनै किसिमको ईष्र्या र प्रतिशोध हुँदैन । मेरी प्रेमिकाले अरू कुनै पुरुषलाई मन पराउँछिन् भने म आपैँmले उसँग भेटाइदिन चाहन्छु । प्रेमिकालाई जे मन पर्छ, त्यो उपलब्ध गराइदिँदा मलाई खुसी लाग्छ । मान्छेहरू प्रेमिकालाई आफ्ना गाईवस्तु, भेडाबाख्रा वा गाडीजस्तो ठान्छन् । मेरा लागि मेरा प्रेमिका वा पत्नी सम्पत्ति वा वस्तु होइनन्, छुट्टै व्यक्ति हुन् । उनीहरूका पनि रुचि हुन्छन्, चाहना हुन्छन् । उनीहरूको पनि छुट्टै स्वतन्त्र जीवन हुन्छ ।
प्रेम स्वतन्त्रताको अर्को नाम हो । प्रेम सुरु हुन्छ छनोटबाट, छनोट सुरु हुन्छ स्वतन्त्रताबाट । जुन सम्बन्धमा तपाईंको स्वतन्त्रता नष्ट हुन्छ, त्यो प्रेम हुँदैन । तपाईं कुनै महिलासँग दाम्पत्य जीवनमा बाँधिनुभएको छ भने त्यो प्रेम होइन, स्वतन्त्रता हुँदैन । स्वतन्त्र हुनलाई त रोमान्टिक र उच्छृंखल हुनुपर्छ । तर, मान्छेको रोमान्टिक चाहनालाई विवाह सम्बन्धले बाँधिराख्छ ।
पौराणिक सन्दर्भमा हेर्दा विवाह सम्बन्धको आदर्श चरित्र राम हुन्, प्रेमको आदर्श कृष्ण । मलाई राम रुन्चे लाग्छ, कृष्णचाहिँ प्रफुल्ल । मेरो प्रेमको आदर्श पनि कृष्ण नै हुन् । कृष्णको जीवनशैली बन्धनमुक्त छ र प्रेममा उनी फुक्काफाल छन् । अहिलेसम्म आदर्श प्रेमी भनेर व्याख्या गरिएका लैला–मजनु, रोमियो–जुलियट, राम–सीता आदि सबैको प्रेममा तत्कालीन सामाजिक बन्धनमा बाँधिएको अन्तरकथा छ । तर, राधाकृष्णमा त्यस्तो कुनै बन्धन थिएन । उनीहरूको वियोग पनि स्वेच्छाको वियोग थियो । स्वेच्छाले उनीहरू आ–आफ्नो बाटो लागे, कसैले रोकेन ।
प्रेममा दैहिक उपस्थिति वा अनुपस्थिति अर्थहीन हुन्छ । देह अलग हुँदा पनि प्रेम अलग हुँदैन, ज्यान छुट्टिएर बस्दा पनि नछुिट्टने प्रेम नै महान् प्रेम हो । त्यसैले मलाई लाग्छ, प्रेमको दैवी स्वरूप यदि कहीँ छ भने त्यो कृष्णमै छ ।
स्त्री–पुरुषको सम्बन्ध मात्रै प्रेम होइन । जब पति–पत्नी साथी बन्छन् र आपसमा मित्रताको सम्बन्ध हुन्छ तब मात्रै त्यहाँ प्रेम हुन्छ । मान्छेले सिनेमा वा उपन्यासमा प्रेम खोज्ने गल्ती गर्छन् । तारा झार्ने झूठो कसम खान्छन् । तर, प्रेम नाप्न, तौलन, हेर्न सकिने कुरा हो होइन । न यसको वैज्ञानिक व्याख्या नै सम्भव छ । प्रेम त्यस्तो बिन्दु हो, जसको कुनै लम्बाइ–चौडाइ नाप्न सकिन्न । प्रेम र जीवनको अर्थ अलगअलग हुँदैन, प्रेमलाई पूर्णतामा बाँध्नु जीवनलाई पूर्णतामा बाँध्नु हो भने जीवनलाई पूर्णतामा बाँध्नु प्रेमलाई पूर्णतामा बाँध्नु । राम्रो प्रेमी हिंसा, घृणा, ईष्र्या, मोह र रोगबाट मुक्त हुन्छ । प्रेमलाई सेक्ससँग जोड्नु सबैभन्दा गलत काम हो । यी सँगै जान सक्छन् तर एक–अर्काका पर्याय होइनन् ।
हाम्रो समाजमा प्रेमलाई विवाह संस्था र यौनसम्बन्धको पर्याय ठानेर यसको विकृत परिभाषा दिने गरिएको छ, जसको ठूलो सिकार महिला भएका छन् । प्रेममा परेर घरबार छाडेर विद्रोह गर्ने वा विवाह नै नगर्ने महिलाहरू अत्यन्तै उदार चरित्रका हुन्छन् । तर, प्रेम र मानवीय सम्बन्धलाई हेर्ने समाजको दृष्टिकोण गलत छ । प्रेम कहिल्यै गलत हुँदैन, असत्य हुँदैन । यो समाजको मूलमा नै बरु असत्य छ । त्यसैले सच्चा प्रेम विद्रोही देखिन्छ । समाजले चरित्रहीन वा विपथगामी भनेका महिला वा पुरुषमा मैले महान् आत्माको दर्शन गरेको छु । समाज प्रेम होइन, बन्धन चाहन्छ र बन्धनलाई प्रोत्साहन दिन्छ । समाजले जसलाई लाञ्छना लगाउँछ, म त उनीहरूमै महानता भेट्टाउँछु । पाठकहरूले पनि पक्कै आफू वरिपरि हेर्दा थाहा पाउनुहुनेछ, सबै लाञ्छित पात्रमा महान् गुणहरू हुन्छन् ।
मैले साँचो अर्थमा महान् मानेका प्रेमीहरू पनि फरक खालका छन्– गान्धी, अब्राहम लिंकन र कृष्णप्रसाद भट्टराई । भट्टराईबारे मेरो एउटा संस्मरण छ । एकपटक जेलमा छँदा मैले उहाँलाई सोधेँ– कति स्त्रीसँग तपाईंको सम्बन्ध भयो ? उहाँले भन्नुभयो– ‘धेरैसँग पो भयो त, म सभामुख छँदा थुप्रै कर्ल गर्लसँग पनि गएको छु †’ किसुनजीले वेश्यागमनको सौन्दर्यात्मक पक्षबारे मलाई भन्नुभयो । उहाँले उनीहरूलाई वेश्याका रूपमा नमानेर प्रेमिकाका रूपमा सम्मान गर्नुभयो । मलाई लाग्यो, प्रेम सम्मानको अर्को नाम हो । जीवनका पछिल्ला दिनसम्म पनि उहाँ आफ्ना बदनाम प्रेमिकाका बारेमा अत्यन्त सम्मानपूर्ण सम्बोधन गर्नुहुन्थ्यो । जुन वेश्याकहाँ उहाँ जानुहुन्थ्यो, पछि लगातार एउटै कहाँ पनि जानुहुन्थ्यो ।
किसुनजीले व्यक्तिगत सम्बन्ध र प्रेमिकाबारे सार्वजनिक रूपमा बोल्न कहिल्यै रुचाउनुभएन । तर, उहाँको सम्पूर्ण स्वभावमा, उहाँको ठट्टा, निसंगता, वैराग्य, हाँसो हेर्नोस्– कुनै कुण्ठा भएको मान्छे त्यस्तो ठट्टा र रमाइलो गर्न सक्छ ? किसुनजी वेश्यासँग जानुहुन्थ्यो र उनीहरूलाई सम्मान गर्नुहुन्थ्यो । कार्यकर्तालाई सम्मान गर्नुहुथ्यो र छोराछोरीलाई जस्तै माया गर्नुहुन्थ्यो । तर, अहिलेका नेताहरू कार्यकर्तालाई सम्मान गर्दैनन्, साधन मात्रै बनाउँछन् । वास्तविक अर्थमा प्रेमी नभएकाले नै उनीहरूले समाजमा हिंसा र पाखण्डलाई प्रोत्साहन दिएका छन् । सत्ताभोगीहरूले अलिकति प्रेम गरे, अलिकति उपन्यास पढे, अलिकति कविता पढे, अलिकति संगीत सुने हाम्रो राजनीति सुध्रिने थियो ।
०००
प्रेम मूलत: सिर्जनात्मक हुन्छ । प्रेम भन्नु प्रेम मात्रै होइन, यसलाई सिर्जनात्मकतासँग जोड्नुपर्छ । प्रेमलाई सिर्जनासँग जोडिएन भने त्यो बिस्तारै सड्न थाल्छ । एक चरणपछि प्रेमले प्रेमको उदात्तीकरण छुनैपर्छ र आफूभन्दा माथि उठ्नैपर्छ । राजनीति पनि प्रेमकै अभिव्यक्ति हो । समाज बदल्न हिँडेकाहरू समाजलाई नै प्रेम गर्छन् । क्रान्ति गर्नेहरू सबैभन्दा बढी प्रेमी हुनुपर्छ । संसारका सच्चा क्रान्तिकारीहरू सच्चा प्रेमीहरू हुन् । उनीहरू समाजलाई, मान्छेलाई र संसारलाई सबैभन्दा बढी प्रेम गर्छन् ।
प्रेमले कुनै धर्म वा पेसासँग सम्बन्ध राख्दैन । व्यस्त कारोबारी पनि असल प्रेमी हुन सक्छ । प्रेम मस्तिष्कसँगभन्दा हृदयसँग जोडिन्छ । तर, महिला र पुरुषबीच हाम्रो समाजले फरक–फरक प्रवृत्ति सिकाउँछ । हाम्रो समाजले घरपरिवारमा बाँधिएका सामान्य महिलालाई ज्यादातर स्वार्थी र आत्मकेन्द्री बनाउन सिकाउँछ । महिलालाई सामाजिक सीमाभित्र रहन बाध्य पार्छ । यस्तो हुँदाहँुदै पनि कति महिला आदर्शप्रेमी हुन्छन् । वास्तवमा पुरुषभन्दा महिलामा नै कैयौँ गुना बढी प्रेम हुन्छ । प्रत्येक किसिमको प्रेममा पुरुषभन्दा महिला बढी प्रफुल्लित हुन्छन् । यो मेरो अनुभव हो । सेक्समा पनि यदि प्रेम छ भने महिलाले बढी आनन्द प्राप्त गर्छन् भन्ने मेरो विश्वास छ ।
प्रेममा परेपछि प्रत्येक पुरुष डराउन थाल्छ, स्त्रीचाहिँ बलवान् र निडर हुन थाल्छे । पुरुष तर्सन थाल्छ, स्त्री खतरा मोल्न तयार हुन्छे । प्रेम हुनासाथ पुरुषमा स्त्रीका र स्त्रीमा पुरुषका गुण तथा स्वभाव साटिन थाल्छन् । अधिकांश प्रेम गर्ने महिलाले साहसिक निर्णय गरेका छन् । तर, पुरुष ठीक उल्टो देखिन्छ । मेरो विचारमा प्रेम सबै रोगको उपचार हो । प्रेमलाई सेक्सजस्ता शारीरिक आवश्यकतासँग मात्रै जोड्नु महामूर्खता हो । मान्छे जन्मदैमा र हुर्कंदैमा प्रेम गर्न जान्दैन, प्रेम गर्न जान्न एउटा प्रक्रिया पार गर्नुपर्छ । हुर्कंदै गर्दा केही थाहा हुन्छ भने त्यो सेक्स हो, आपैँm केही हुन्छ भने त्यो वासना हो । तर, प्रेम आपैँm हुँदैन । प्रेम भनेको त व्यक्तिको वास्तविकताबाट उठेर व्यक्तित्वमा हुने रूपान्तरण हो । प्रेममय मान्छे कस्तो हुन्छ भन्न गाह्रो हुन्छ, प्रेमविहीन मान्छे कस्तो हुन्छ, बरु त्यो चिन्न सजिलो छ । क्रोधित, आक्रोशित व्यक्तिलाई परैबाट चिनिन्छ । अहिलेका नेपालका नेताहरू त्यस्तै प्रेमविहीन छन् ।
०००
मलाई के कुरा स्विकार्न कुनै हिचकिचाहट छैन भने म सामन्ती संस्कारको प्रेमविरोधी परिवेशमा हुर्किएँ । अहिले ६४ वर्षमा पनि म पूर्णप्रेमी हुन सकेको छैन । पूर्णप्रेमी हुनु भनेको सन्त हुनु हो, सन्त फ्रान्सिस जस्तै । ती सन्तको जिउमा घाउ भयो र किरा पर्यो । अरूले किरा निकालौँ भन्दा उनले किरालाई किन मार्ने भनेर सोधे । म उनको यो कथनसँग सहमत छु । मैले आफूलाई सक्दासम्म र बुझ्दासम्म प्रेमले परिष्कृत गर्ने कोसिस गरेको छु । यसर्थ, प्रेम मेरो सन्दर्भबिन्दु भएको छ । म कस्तो प्रेमी भनेर आफैँ भन्ने कुरा उठ्दैन तर एउटा कुरा अवश्य हो– अचेल म आफूमा द्वेष, घृणा वा प्रतिस्पर्धाको भावना पाउँदिनँ । मेरो विचारमा यस्ता भावनाको अनुपस्थित नै मैले प्रेमको क, ख, ग सिक्दै गरेको प्रमाण हो ।
म २०/२१ वर्षको लक्का जवान हुँदाको प्रेम अविस्मरणीय छ । मेरी प्रेमिका र म रिक्सामा चढेर कतै घुम्न जाँदै थियौँ । प्रेमिकाले रिक्सा रोकेर आइसक्रिम किनिन् र एक्लै खान थालिन् । रिक्सा अघि बढिरहेको थियो । केहीबेरपछि मैले ‘म पनि खान्छु’ भनेर प्रेमिकाले खाइरहेको आइसक्रिम मागेँ अनि फ्याँकिदिएँ । मलाई मेरी प्रेमिकाको त्यो कार्य असभ्य लाग्यो । मैले जे ठीक ठान्छु, उसले त्यही गरोस् भन्ने लाग्थ्यो मलाई । पछि उनीसँग मेरो विछोड भयो । भगवान् मेरा दाहिना भए । किनभने वियोगपछिका मेरा वर्षहरू अत्यन्तै राम्रा भए । त्यही वियोग र वेदनाले मलाई प्रेमबारे सिकाए । अहिलेको मेरो प्रेममा ईष्र्या, द्वेष र अधिकारबोध हुँदैन । प्रेमिकाले अरू कसैलाई प्रेम गर्छु भने पनि म गर–गर भनिदिन्छु ।
आउन त मेरो जीवनमा थुप्रै प्रेमिका आए । म मेरा प्रेमिकाहरूबारे त्यति धेरै बोल्ने गरेको छैन । यसले मेरा वैधानिक/अवैधानिक पत्नी वा प्रेमिकाहरूलाई अफ्ठयारो पर्न सक्छ । यतिचाहिँ भन्न सक्छु, मलाई स्त्रीबाट अशान्ति छैन । तर, प्रेम भनेको महिलासँगको गोप्यकार्य मात्रै होइन । कसैले आफ्नो आत्मकथाको भूमिकामा गान्धी र नेहरूको प्रसंग उल्लेख गरेको मलाई सम्झना भइरहन्छ । उसले लेखेको छ– म आत्मकथामा गान्धीजस्तो सत्य पनि लेख्न सक्तिनँ, नेहरूजस्तो झुट पनि । म पनि प्रेमकाबारे आफ्नै उदाहरण दिन चाहन्नँ । किनभने, म पनि न गान्धीजस्तो सत्य लेख्न सक्छु, न जवाहरलाल नेहरूले जस्तो झुट । म झुट बोल्न चाहन्नँ, सत्य बोल्ने हिम्मत पनि गर्दिनँ । तसर्थ, म आफ्नो प्रेमबारे यसपटक धेरै बोल्दिनँ ।
प्रस्तुति : संगीतश्रोता
प्रतिक्रिया