अमेरिकी ओलिभियरा कल्पो भइन् “मिस युनिभर्स २०१२”

लस भेगास (अमेरिका) : अमेरिकाकी २० वर्षीया ओलिभिया कल्पो ‘मिस युनिभर्स २०१२’ उपाधि जित्न सफल भएकी छन् । अन्य ८८ देशका सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी ओलिभियालाई निवर्तमान मिस युनिभर्स अंगोलावासी लैला लोपेजले उपाधिको ताज पहिर्‍याइदिएकी थिइन् ।
विश्वको मनोरञ्जन राजधानी मानिने लस भेगासको अति महँगो र आकर्षक प्लानेट हलिउड क्यासिनोको हलमा आयोजित दुई घन्टा लामो भव्य अन्तिम चरण प्रतियोगितामा पहिलोपटक ओलिभिया टाइट नीलो मिनी–ड्रेस लगाएर उपस्थित भएकी थिइन् । पछिल्लोपटक उनी बैजनी र नीलो बिकिनीमाथि जाडो यामको रातो भेल्भेट गाउन लगाएर प्रस्तुत भएकी थिइन् । पूरै प्रतियोगिता एनबिसी टेलिभिजनबाट र अन्य एक सय देशमा प्रत्यक्ष प्रसारण भएको थियो । गत वर्ष यो प्रतियोगिता ब्राजिलको साओ पाउलोमा आयोजना भएको थियो ।
प्रतियोगितामा मिस फिलिपिन्स जेनिन तुगोनोन फस्र्ट रनर–अप र मिस भेनेजुएला इरेन सोफिया एसेर किन्तेरो सेकेन्ड रनर–अप भए ।
रोड आइल्यान्डको प्रतिनिधित्व गर्दै मिस युनिभर्स उपाधि जित्ने कल्पो पहिला युवती हुन् भने यससँगै कुनै अमेरिकी युवतीले यो उपाधि जितेको १५ वर्षमा पहिलोपटक हो । यसअघि सन् १९९७ मा अमेरिकी सुन्दरी ब्रुक लीले मिस युनिभर्स उपाधि जितेकी थिइन् । ओलिभियाको जितसँगै अमेरिकाले यो प्रतियोगिता जित्न नसकेको लामो अन्तराल सकिएको मान्दै प्रतियोगिताका मालिकद्वय डोनाल्ड ट्रम्प र एनबिसीले सन्तोष व्यक्त गरेका छन् ।
इभनिङ गाउन प्रतिस्पर्धामा उनी केही चिप्लिएपछि टेलिभिजनहरूले उनलाई अन्तिम तीन प्रतियोगीबाट लगभग बाहिरिइसकेको टिप्पणी गरेका थिए तर पछि उनले आफूलाई सम्हालिन र जजे’ज डिसिजन जितेर आफ्नो दाबेदारी यथावत् राख्न सफल भएकी थिइन् ।
उपाधि जित्नुभन्दा केही मिनेटपहिले पाँच सन्तानमध्येकी माहिली ओलिभियालाई निर्णायकले सोधेका थिए, ‘तपाईंले पछिसम्मै पछुतो मान्नुपर्ने कुनै कुरा कहिल्यै गर्नुभएको छ ?’
‘अरू केही भन्नुभन्दा पहिले म के भन्न चाहन्छु भने हरेक अनुभव– त्यो चाहे राम्रो होस् वा नराम्रो– बाट हामीले केही न केही सिकेकै हुन्छौँ । यो नै जीवन हो,’ जवाफमा उनले भनेकी थिइन्, ‘तैपनि मैले पछुतो मान्नुपर्ने गरी गरेको काम भनेको सायद आफ्ना भाइ–बहिनीलाई हुर्काउने क्रममा राम्ररी ध्यान पुर्‍याउन सकिनँ भन्ने लाग्छ, किनभने हामी उमेर ढल्कँदै गएपछि उनीहरूलाई अझ धेरै फुक्र्याउने र पुल्पुल्याउने गर्छौँ ।’
सबै प्रतियोगी सुन्दरी पछिल्ला दुई सातादेखि सन सिटी क्षेत्रमा बसोबास गर्दै आएका थिए । त्यहाँ उनीहरूले फोटो सेसन दिएका थिए, पेन्टिङ क्लास लिएका थिए र विभिन्न कोठामा लुकेर बसी अतिथिहरूलाई तर्साएर मनोरञ्जन दिने आदि गरेका थिए ।
गत जुनमा लस भेगासमै आयोजित प्रतियोगिता जितेर ओलिभियरा कल्पो रोड आइल्यान्डबाट पहिलोपटक मिस अमेरिका बनेकी थिइन् । उनले अन्य दुईजना व्यावसायिक संगीतकारका साथै विश्वप्रसिद्ध शास्त्रीय संगीतकार यो–यो माबाट सेलो संगीतको बृहद् तालिम लिएकी थिइन् । आफ्नो मिस युनिभर्स पेजमा उनले आफू फिल्म वा टेलिभिजन क्षेत्रमा करिअर बनाउने विचारमा रहेको उल्लेख गर्दै अड्री हेपबर्नलाई रोल मोडल बताएकी छन् । हेपबर्नमा रहेको ‘उदारता, बौद्धिकता, तीक्ष्णता र लावण्य’ आफूलाई असाध्यै मन पर्ने उनले उल्लेख गरेकी छन् ।
ओलिभियरा मिस युनिभर्स भएपछि उनको ठाउँमा मिस मेरिल्यान्ड नाना मेरिवेदर नयाँ मिस युएसए बनेकी छन् । मिस युनिभर्समा सहभागी हुने प्रतियोगी १८ वर्ष पुगेर २७ वर्ष नाघेका अविवाहित वा नि:सन्तान हुनुपर्छ । उपाधि जितेसँगै ओलिभियरालाई नखुलाइएको भारी तलब, महारानीले लगाउने जस्तो पहिरन, असीमित सौन्दर्य प्रशाधन सामग्री र न्युयोर्क सिटीमा विलासी अपार्टमेन्ट प्राप्त हुनेछ । (एजेन्सी)

 

प्रतिक्रिया