“रुद्राक्ष” देशभर, “हातमा लाग्यो शून्य” उपत्यकामा

काठमाडौं : नेपाली दर्शकले आजबाट दुई नयाँ चलचित्र हेर्न पाउने भएका छन् । ती हुन्– ‘हातमा लाग्यो शून्य’ र ‘रुद्राक्ष’ । हातमा लाग्यो शून्यको निर्देशन विजयविक्रम बस्नेतले गरेका हुन् भने रुद्राक्ष नवनिर्देशक गोकुल राईको निर्देशनमा तयार भएको हो । नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समय बिताएका अभिनेता राजेश हमाल र खल–अभिनेता सुनील थापा यी दुई चलचित्रमार्फत एकअर्काको प्रतिस्पर्धी बन्ने भएका छन् ।
हातलाग्यो शून्यमा हमालले पहिलोपटक कमेडी गरेका छन् । उपत्यका बाहिरको प्रदर्शनपछि उपत्यकामा भित्रिएको यो चलचित्र विश्व बस्नेतले निर्माण गरेका हुन् । हमालका अतिरिक्त कल्पना शाही, सुशील पोखरेल, किरण केसी, विमल अर्यालका साथै गोपाल नेपाल ‘छन्दे’ले चलचित्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विकास चौधरीको संगीत र राम जनकको द्वन्द्व–निर्देशन रहेको यस चलचित्रलाई लोकचन्द्र थापाले छायांकन गरेका छन् । हास्यप्रधान तथा पारिवारिक चलचित्र भएकाले यसले दर्शकको माया पाउने निर्देशक बस्नेतले विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै, आजैबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘रुद्राक्ष’ सस्पेन्स थ्रिलर भएको निर्माण पक्षले जानकारी गराएको छ । सुनील थापा, अनु शाह, दिनेश पाख्रिन आदि कलाकारको अभिनय रहेको चलचित्रलाई दिनेश पाख्रिनले निर्माण गरेका हुन् । विकास चौधरीको संगीत र शंकर अधिकारी घायलको गीत रहेको चलचित्रका सहनिर्माता डिबी कार्की हुन् । देशभरका अधिकांश स्टेसनबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको बिहीबार अडियो पनि सार्वजनिक गरिएको थियो । अडियो सार्वजनिक कार्यक्रममा अभिनेता सुनील थापाले चिनो चलचित्रको अभिनयपछि आफू राते काहिँला भनेर चिनिन सफल भएको बताउँदै यस चलचित्रबाट आफ्नो नाम त्यसबाट फेरिस्र ‘पालेदाइ’ को उपनामले चिनिने विश्वास व्यक्त गरे । (सौस)

प्रतिक्रिया