अनसन तोडियो

काठमाडौं : चलचित्र र चलचित्र क्षेत्रको हकहितका खातिर भन्दै विभिन्न नौबुँदे माग राख्दै सोमबारबाट अनसनमा बसेका चलचित्रकर्मीको अनसन बिहीबार तोडिएको छ । अपराह्न सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले अनसनमा बसेका चलचित्रकर्मीलाई जुस खुवाउँदै अनसन तोडेका थिए ।
विगत चार दिनदेखि अनसनरत चलचित्रकर्मीले बुधबार गठन गरेको राष्ट्रिय चलचित्र संरक्षण मञ्च र सञ्चार मन्त्रालयबीच मागको विषयमा सकारात्मक वार्ता भएपछि अनसन तोडिएको हो ।
चलचित्र विकास बोर्डले पनि धेरै माग पूरा गर्नसक्ने भन्दै मन्त्री यादवले बोर्डमा अध्यक्ष तत्काल नियुक्त गर्ने बताएका छन् । अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट चलचित्रकर्मीले नै रोजेको व्यक्तिलाई बोर्डमा नियुक्त गर्ने सञ्चारमन्त्रीले बताएका थिए । चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउने, बोर्डमा अध्यक्ष नियुक्त गर्दा चलचित्र क्षेत्रकै व्यक्ति हुनुपर्ने, नेपाली चलचित्रलाई अग्रस्थानमा राखी विदेशी चलचित्रलाई कोटा प्रणालीअनुसार प्रदर्शनमा ल्याउनुपर्ने, बक्स अफिस केन्द्रीय संरचना निर्माण गरी तत्काल लागू गर्नुपर्ने, कुनै पनि स्वदेशी तथा विदेशी उत्पादनको नेपालबाट प्रसारण तथा प्रचार हुने विभिन्न श्रव्य–दृश्यमा नेपाली जनशक्ति अनिवार्य गर्नुपर्ने, चलचित्र सेन्सर बोर्ड चलचित्रकर्मीको नेतृत्वमा गठन गर्नुपर्ने, चलचित्र सेन्सर बोर्डको आचारसंहिता निर्माण गरी लागू गर्नुपर्नेलगायत मागमा सहमति भएको थियो । (सौस)

प्रतिक्रिया