तीन चरणमा अडिसन दिएँ

सायद ०६४ तिरको कुरा हो, त्यतिबेला मैले भर्खरभर्खर विद्यार्थी जीवन पार गरेकी थिएँ । अभिनयमा मेरो सानैदेखिको रुचि थियो । त्यो रुचिले मलाई अभिनय क्षेत्रतिर जान प्र्रेरित पनि गर्‍यो । स्कुल होस् वा कलेज पढ्दा, अभिनयतिर मेरो ध्यान गइरहन्थ्यो । एक दिन मलाई आलोक नेम्वाङ दाईले ‘सानो संसार’ चलचित्रमा अडिसन भइरहेको छ, तिमी पनि चलचित्र खेल्ने भए अडिसन दिन आउ भन्नुभयो । मेरो आलोक दाईसँग धेरै अगाडिदेखि नै चिनजान थियो । मैले उहाँको निर्देशनमा धेरै म्युजिक भिडियो पनि खेलेकी थिएँ । उहासँग खेलेको म्युजिक भिडियोले पनि चर्चा कमाएको थियो । त्यो चर्चाले अब चलचित्रतिर जानुपर्छ जस्तो मलाई लागिरहेको थियो । यस्तै समयमा आलोक दाइले भनेको चलचित्रमा अडिसन दिन तयार भएँ ।

अडिसन पनि के हुने हो भन्ने मनमा डर हुँदाहुँदै पनि चलचित्रमा खेल्ने चाहनाले डोरिएर डराई–डराई अडिसन दिन गएँ । म अडिसनमा सहभागी हुन पुग्दा मभन्दा अगाडि अरू धेरैजना थिए । धेरै सहभागी भएकाले आस त थिएन, तैपनि अडिसनमा सहभागी भएँ । अडिसन पहिलो र दोस्रो हुँदै तीन चरणमा पूरा भयो । तीनै चरणका अडिसनबाट म छानिन पनि सफल भएँ ।
अडिसनबाट छानिएपछि चलचित्रको वर्कसप सुरु भयो । वर्कसपमा चलचित्रको क्यारेक्टर र चलचित्रको कथालगायत सबै मलाई सम्झाइयो पनि । चलचित्रमा अभिनय गर्न छनोट भएका सबै कलाकार वर्कसपमा सहभागी थिए । त्यो वर्कसप चलचित्रका कतिपय पक्षबारे सिक्नुका साथै सबै कलाकारसँग चिनजान गर्ने माध्यम पनि बन्यो ।
वर्कसप सकिएपछि चलचित्रको छायांकन सुरु भयो । केही दिनको छायांकनपछि मेरो पालो पनि आयो । मेरो पहिलो दिनको सुटिङ ठमेलको जावा भन्ने रेस्टुरेन्टमा थियो । चलचित्रका सबै युनिटसँग पहिलै चिनजान भएकाले पहिलो दिनको सुटिङ भए पनि मलाई नौलो भने लागेको थिएन । त्यसैले म चलचित्रको छायांकनमा एक्लै गएँ । म स्पटमा पुगेको करिब पन्ध्र मिनेटपछि मेरो मेकअप भयो । मेकअपमा पनि त्यति धरै समय भने लागेन । किनभने मेरो फेस नै मेकअप गरिसकेको जस्तो छ । मेकअप गरेको पच्चीस मिनेटपछि मात्र क्यामरा अगाडि उभिएर अभिनय गर्ने मेरो पालो आयो ।
मेरो पहिलो अभिनय महेश (कर्मा) सँग थियो । त्यो सिन मलाई अझै पनि याद छ । चलचित्रको कथाअनुसार महेश र म पहिलोपटक भेट्ने सिन थियो । मैले धेरै म्युजिक भिडियो खेलेको भए पनि चलचित्रको अभिनय पहिलोपटक भएकाले म नर्भसजस्तै थिएँ । जे भए पनि एक किसिमको उत्साह ममा थियो, त्यो हो– म्युजिक भिडियोबाट चलचित्र यात्रा सुरु गर्न लागेँे भनेर । चलचित्रका सबै युनिट वर्कसपमा भेटेकाले अभिनय गर्न पनि मलाई खासै डर लागेन । अभिनयका लागि जब क्यामराअगाडि म उभिएँ, मलाई बोल्ने सम्वाद सम्झाइयो । सम्वाद अलि छोटो भएकाले मैले छिट्टै कण्ठ गरेर सट दिन तयार भएँ ।
निर्देशक आलोक दाइले सबै प्राविधिकलाई सोधेर मलाई पनि तयार भएको बारे सोध्नुभयो । हामी सबैले ओके भनेपछि उहाँले एक्सन भन्नुभयो । मैले पहिलो टेक बिगारँे । तुरुन्तै फेरि दोस्रो टेक लिइयो । त्यो टेक ओके भयो । युनिटका सबै मसँग प्रसन्न भए । म चलचित्रमा नयाँ भएकाले पनि सबैले धेरै टेक खान्छे भन्ने सोचेका रहेछन् । दुई टेकमा नै अभिनय ओके भएको मलाई त पत्यारै लागेन । मैले के मेरो सट साच्चिकै ओके भएको हो भनेर सोधँे । सबैले मलाई विश्वास दिलाए । निर्देशक आलोकलगायत सबैबाट प्रशंसा पाउनथाले । त्यो प्रशंसाले मेरो चलचित्र अभिनयमा ऊर्जा थप्यो ।
पहिलो चलचित्र, त्यो पनि टिनएजर्स केटीको भूमिकामा, भएकाले पहिरनमा विशेष ध्यान दिएको थिइनँ । पाइन्ट र टिसर्ट प्रयोग गरेको थिएँ । चलचित्रको छायांकन सकिएलगतै चलचित्रको प्रचार–प्रसार हुन थाल्यो । मैले पनि आफ्नो तर्फबाट आफन्त साथीभाइ सबैलाई हल्ला–खल्ला गरेँ । जब चलचित्र प्रदर्शनमा आयो । चारैतिर चलचित्रको चर्चा हुनथाल्यो । चलचित्रसँगसँगै म पनि चिनिएँ ।
त्यो दिनलाई मैले आजसम्म पनि भुल्न सकेकी छैन, जुन दिन मैले आफँैले अभिनय गरेको चलचित्र हेरेकी थिएँ । यो चलचित्र मैले पटकपटक हेरेकी छु– कहिले साथीसँग, कहिले चलचित्रका युनिटसँग त कहिले आफन्तसँग । जति चलचित्र हेर्छु, त्यति आफूले गरेको अभिनय चित्त बुझ्दैन । मैले योभन्दा पनि राम्रो गर्न सक्थेँ, किन गरिन ? भनेर थक्कथक्क लागिरह्यो । यसरी मैले आफूले अभिनय गरेको पहिलो चलचित्र १० औँ पटक हेरेँ ।

प्रतिक्रिया