विकास बोर्डमा पौडेलको अनशन

काठमाडौं : निर्देशक समाजका अध्यक्ष विमल पौडेलले आमरण अनशन सुरु गरेका छन् । चलचित्र क्षेत्र र चलचित्रकर्मीका हितका लागि भन्दै नौबँुदे मागसहित उनले अनशन सुरु गरेका हुन् ।
सोमबारबाट चलचित्र विकास बोर्डको मूलढोकामा अनशन सुरु गरेका पौडलले आफ्नो माग पूरा नभएसम्म अनशन नतोड्ने सौर्यसँग बताए । उनले भने, ‘सरकारले चलचित्र क्षेत्रलाई उपेक्षा तथा राजनीतिक हस्तक्षेप गरेकाले चलचित्र क्षेत्रको भविष्यसमेत अन्योलमा पुगेको छ ।’ उनले यी मागलाई सरकारले तुरुन्त सम्बोधन नगरे परिस्थिति जे पनि हुने चेतावनीसमेत दिए ।
निर्देशक पौडेलको अनसनमा चलचित्र विकास बोर्डका कर्मचारी युनियन राष्ट्रिय कर्मचारी संगठनले पनि ऐक्यबद्धता जनाएको छ । संगठनका अध्यक्ष आनन्द घिमिरेले मौखिक रूपमा यो आन्दोलनलाई समर्थन गरिसकेको र औपचारिक मिटिङ गरी आन्दोलमा आफ्नो संगठनले सहभागिता जनाउने तयारीमा रहेको पनि सौर्यलाई बताए । (सौस)

प्रतिक्रिया