२६ चलचित्र भवन बन्द

काठमाडौं : चलचित्रले व्यवसाय गर्न छाडेकाले उपत्यकाबाहिरका करिब दुई दर्जन बढी चलचित्र भवन बन्द भएका छन् । चलचित्रको व्यवसाय हुन छाडेकाले भवन सञ्चालन गर्न गाह्रो भएको भन्दै सञ्चालकले चलचित्र भवन बन्द गरेका हुन् । ६ महिनादेखि प्रदर्शनमा आएका करिब ६ दर्जन चलचित्रले निराशाजनक व्यवसाय गरेका कारण बन्द भएको चलचित्र प्रदर्शक एक संस्था डिसिएनले जनाएको छ । डिसिएन नेपालले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार उपत्यकाबाहिरका २६ चलचित्र भवन बन्द छन् ।
आफूले चार महिनादेखि गरेको अनुसन्धानले उपत्यकाबाहिरका २६ हल बन्द भएको पाएको डिसिएनका प्रमुखसमेत रहेका निर्माता कलाकार अशोक शर्माले सौर्यसँग भने । अबका चार महिना उपत्यकाबाहिर चलचित्र व्यवसाय यस्तै अवस्था रहने हो भने उपत्यकाबाहिरका प्राय: सबै चलचित्र भवन बन्द हुने उनले अनुमान लगाए । शर्माले यसरी चलचित्र भवन बन्द हुनुलाई चलचित्रको घट्दो गुणस्तर र चलचित्र निर्माणमा आएको तीव्रतालाई बताए । बन्द भएका अधिकांश चलचित्र भवनमा डिसिएन सरोवर जडान भएका छन् । बन्द भएको चलचित्र भवनमा राज चलचित्र मन्दिर इलाम, अप्सरा चलचित्र मन्दिर फिकल, अवला चलचित्र मन्दिर भद्ररपुर, सुशीला चलचित्र मन्दिर मोरङ, पंकज टाकिज लेटाङ, बुद्ध चलचित्र मन्दिर मिर्चैया, कुमारी चलचित्र मन्दिर दिक्तेल, लवकुश चलचित्र मन्दिर धनुषा, नन्दिनी चलचित्र मन्दिर रौतहट, सत्य चलचित्र मन्दिर विराटनगर, गौतम बद्ध चलचित्र मन्दिर तौलिहवा, माछापुच्छ्रे चलचित्र मन्दिर रजहर, सुम्नीमा चलचित्र मन्दिर सालझन्डी, पुष्प चलचित्र मन्दिर बेलहरी, प्रतिमा चलचित्र मन्दिर कञ्चनपुर, श्रीकृष्ण चलचित्र मन्दिर जोशिपुर, ओम शान्ति चलचित्र मन्दिर राजपुर, चौधरी चलचित्र मन्दिर राजपुर, प्रकाश चलचित्र मन्दिर बाँसगढी, पार्वती चलचित्र मन्दिर बाँसगढी, घोडाघोडी चलचित्र मन्दिर कैलाली र श्रीकृष्ण चलचित्र मन्दिर राजपुरलगायत छन् । (सौस)

प्रतिक्रिया