‘प्रोड्युसर’मार्फत श्यामको डेब्यु

काठमाडौं : सानैमा चलचित्र हेर्दा आफू पनि पर्दामा त्यसैगरी छाउने रहर मनमा जाग्यो । त्यो रहरका कारण उनी कलाक्षेत्रतिर होमिए । यो क्षेत्रमा होमिएको एक दशकपछि उनको रहर पनि पूरा हँुदै छ चलचित्र प्रोड्युसरमार्फत । चलचित्र प्रोडुसरबाट उनी नायकका रूपमा देखिँदै छन् । उनी अर्थात् श्याम अर्याल ।

हुन त उनको अभिनय यात्रा यसै चलचित्रबाट सुरु भएको भने होइन । उनले केही टेली शृंखला तथा म्युजिक भिडियोमा पहिले नै अभिनय गरिसकेका छन्, जुन अभिनय दर्शकको मन मस्तिष्कमा बस्न पनि सफल भएको छ । त्यसो त उनी सञ्चारकर्मीका रूपमा पनि राम्रै चर्चित छन् । टिभी र एफएम प्रस्तोताका रूपमा आफूलाई परिचित गराउन सफल अर्याललाई नायकका रूपमा उभ्याउने काम भने जनकदीप पराजुलीले चलचित्र प्रोड्युसरमा गरेका हुन् । जनकदीपकै निर्देशनमा राजकुमार राई र ज्योतिराज राईको निर्माण रहेको चलचित्र सार्वजनिक हुने क्रममा छ ।
सञ्चारकर्ममा दशक बिताएका उनी सानैदेखिको रहरले अभिनयमा लागेको बताउँछन् । ‘सानैदेखिको रहर अहिले पूरा गर्दै छु,’ उनले भने । ०५८ मा रेडियो अन्नपूर्णा पोखराबाट सञ्चारकर्म थालेका श्याम अहिले अभिनय र सञ्चार कर्मलाई सँगसँगै लाने सोचाइमा छन् । चर्चित गायकगायिकाका आधुनिक, लोक, पप, रिमिक्स गरी पाँच दर्जन म्युजिक भिडियोमा अभिनय गरेका अर्याल सुन्दर थापाको ‘सर्लक्कै साइली हे सुन्तली…’ बोलको गीतमा बनेको भिडियोको अभिनयले चर्चामा ल्याएको उनी बताउँछन् ।
म्युजिक भिडियोको सफलताले हिरो बन्ने रहर उनको मनमा जाग्यो । त्यसैले अभिनयका लागि विभिन्न विधामा प्रशिक्षण लिन थाले उनले । धर्मात्मा, डर, किस्मत, युगदेखि युगसम्म, कसुमे रुमाल, आइएम सरीलगायत ठूलो पर्दाको र घातक मान्छे र दोषी भिडियोहरूमा अभिनय पनि गरेका छन् । कलाकारिता क्षेत्रमा सहअभिनेता रूपमा प्रवेश गरेका अर्याललाई नायक बनाउने आश्वासन धेरैले दिए पनि नायक भने ‘प्रोड्युसर’ ले बनाउँदै छ ।
टेलिसिरियल, सडक नाटक, रेडियो नाटक, चलचित्र होस् वा म्युजिक भिडियो कलाकारितामा निरन्तर लागेका उनी जुनसुकै विधामा पनि आफूलाई सहज महसुस हुने बताउँछन् । धेरै संघर्षले नायक बनेका अर्याल प्रोड्युसरबाट निकै आशावादी छन् । प्रोड्युसरको निर्माण प्रि–प्लानसहित गरेकाले चलचित्र उत्कृष्ट बनेको उनको दाबी छ । नायकका रूपमा अभिनय गरेको चलचित्र प्रोड्युसर आफ्नै जिन्दगीको ‘टर्निङ प्वाइन्ट’ भएको उनी बताउँछन् ।
चलचित्र अभिनयमा जमे पनि उनी सञ्चारक्षेत्र छाड्न चाहँदैनन् । ‘म सञ्चारबाटै फिल्ममा आउन सफल भएको हुँ, त्यसैले यो कर्म छाड्दिनँ,’ उनले भने । (सौस)

प्रतिक्रिया