लघु उद्यम व्यवसायमा सहकारीको लगानी

कञ्चनपुर, २ पुस । कञ्चनपुरको झलारीमा रहेको सिर्जनशील वचत तथा ऋण सहकारी संस्थाले स्थानीय बासिन्दाको आर्थिक अवस्थामा सुधार गर्ने उद्देश्यले लघु उद्यममा लगानी गर्न थालेको छ ।

सहकारीमा आबद्ध तीन सय बढी सदस्यलाई किराना पसल, डेरी उद्योग, कुखुरापालन, कृषि, हस्तकला, छाला जुत्ता व्यापार, बायोग्यास, होटल व्यवसाय, तरकारी, फलफूल र घरेलु उद्योग सञ्चालन गर्नका लागि ऋण लगानी गरेको हो ।
सहकारीका सचिव मदनराज भट्टका अनुसार लघु उद्यममा मात्रै सहकारीले ४० लाख रुपियाँ बढी रकम लगानी गरेको छ । दुई वर्षदेखि सहकारीले सहजरूपमा लघुउद्यम सञ्चालन गर्नका लागि ऋणको व्यवस्था मिलाउन थालेपछि अधिकांश बासिन्दा व्यवसायी बनेको सचिव भट्टले बताए ।
बैंकबाट कर्जा लिनका लागि कागजी झन्झट र भनेको समयमा पैसा नपाइँदा हैरानी व्यहोर्नु पर्ने विगतको समस्या सम्झिँदै शिवराज भट्टले भने, ‘सहकारीले सहजै र विनाधितो ऋण दिने व्यवस्था गरेकाले व्यवसाय विस्तार गर्न निकै सहज भएको छ ।’
सहकारीले दैनिक बचतसमेत गर्दै आएकाले भविष्यका लागि चिन्ता गर्नुपर्ने अवस्था रहेन,’ गणेश ऐरले भने । ग्राहकको घर दैलोमै बचत तथा ऋण सेवा सुरु गरिएकाले झनै सहज भएको उल्लेख गर्दै उनले भने, ‘सहकारीको खुत्रुके बचतले बालबालिकाको विद्यालयको खर्च चलाउन समेत पुगेको छ ।’
सहकारीबाटै ऋण लिएर १५ जना युवा वैदेशिक रोजगारमा गएका छन् । सहकारीमा हालसम्म करिब पाँच करोड रुपियाँ लगानी गरिएकामा तीन करोडभन्दा बढी रकम असुली भएको सचिव भट्टले बताए । विभिन्न शीर्षकमा एक करोड २३ लाख बढी रकम लगानीमा रहेको छ । ऋण लगेर व्यापार व्यवसाय र लघु उद्यम गर्दै आएका सदस्यले समयमै रकम चुक्ता गर्ने परिपाटीले भएकाले ऋणको भाखा नघाउने सदस्य दुई दशमलव ३८ प्रतिशत रहेका छन् ।
अन्ठानब्बे प्रतिशत सदस्यले समयअगावै ऋण चुक्ता गर्दै आएको उनले बताए । सहकारीको कुल सेयर पुँजी २६ लाख ७३ हजार ६ सय रुपियाँ रहेको छ भने बचत परिचालन ८२ लाख रुपियाँ बढी रहेको छ ।
हालसम्म ९३ जना सेयर सदस्यलाई नौ लाख ८७ हजार आठ सय ४८ लाभांश वितरण गरेको सहकारीका निमित्त व्यवस्थापक भुवनेश्वरी भट्टले बताए । सहकारीले दुई लाख बढीको सेयर हुने सदस्यको जीवन बिमा नि:शुल्क गर्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले बैंक तथा वित्तीय संस्था टाढा भएकाले यस वर्षदेखि सेवाग्राहीलाई सघाउ पुर्‍याउन रेमिट्यान्स सेवासमेत सुरु गर्ने तथा सदस्य कल्याण कोष स्थापना गर्नेलगायत योजना अघि सारेको जानकारी दिए ।
सहकारीले आव ०६९/७० मा ३८ लाख आम्दानी गर्ने १६ लाख रुपियाँ नाफा आर्जन गर्ने अनुमान गरेको छ । झन्डै एक दशकअघि यहाँका जागरुक २५ जना युवाले स्थापना गरेको सहकारीमा हाल एक हजार एक सय ४६ जना सदस्य रहेका छन् ।
पूर्णश्रीको नाफा ४१ लाख
पूर्णश्री बचत तथा ऋण सहकारीले आर्थिक वर्ष ०६८/६९ मा ४१ लाख पाँच हजार दुई सय ५८ रुपियाँ नाफा गर्न सफल भएको छ ।
संस्थाको चौथो वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष दुर्गाप्रसाद मल्लले गत आव ०६७/६८ मा २९ लाख ३० हजार सात सय ६६ नाफा गरेको बताए । त्यसैगरी संस्थाले ०६८/६९ मा ४० प्रतिशत अर्थात् गत वर्षभन्दा ११ लाख ४७ हजार चार सय ९२ नाफा वृद्धि गरी ४१ लाख पाँच हजार दुई सय ५८ नाफा गर्न सफल भएको बताए ।
आरम्भको वर्ष आव ०६५/६६ मा ५७ लाख १६ हजार चुक्ता पुँजी रहेकामा यसलाई वृद्धि गरी हाल एक करोड २८ लाख ९३ हजार पाँच सय रुपियाँ पुर्‍याइएको छ । सुरुमा एक करोड ६७ लाख १५ हजार सात सय दुई रुपियाँ निक्षेप संकलन गरेको यस संस्थाले हाल पाँच करोड १८ लाख ८६ हजार पाँच सय ६१ निक्षेप संकलन पुर्‍याएको छ ।
त्यस्तै कर्जा सापटीतर्फ आव ०६८/६९ मा पाँच करोड १५ लाख ३३ हजार आठ सय रहेको, २७ लाख रुपियाँ लगानी गरेको, ब्याज आम्दानीतर्फ एक करोड १८ लाख तीन हजार दुई सय ४८ रहेकामा संस्थाले कुल ६१ लाख ९० हजार आठ सय २२ रुपियाँ बचत गरेको छ ।
कार्यक्रममा अध्यक्ष मल्लले संस्थाका सदस्यलाई स्वरोजगार बनाउन संस्थाले २५ प्रतिशत र सदस्यको ७५ प्रतिशत लगानीमा पूर्णश्री मिनिरल वाटर एन्ड विभरेज उद्योग स्थापना गरी शुद्ध एवं गुणस्तरीय खानेपानीको उत्पादन र वितरण सुरु गरेको बताए ।

प्रतिक्रिया