व्यापार मेलामा दश करोडको कारोबार

भैरहवा, २ पुस । लुम्बिनी पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला ०६९ मा १० करोड मूल्य बराबरको कारोबार भएको छ ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघ, रूपन्देहीको आयोजनामा भैरहवामा २१ मंसिरदेखि १ पुससम्म भएको महोत्वसवमा दुई लाख दर्शकले अवलोकन गरेको आयोजकले बताएका छन् ।
संघका अध्यक्ष तथा मेला मूलआयोजक समितिका संयोजक विष्णुप्रसाद शर्माले भैरहवामा सञ्चालित मेला उत्साहवद्र्धक रूपमा सफल भएको बताए । स्थानीयस्तरमा उत्पादित वास्तुकला तथा हस्तकलाका सामग्रीको बजार प्रवद्र्धन गर्ने, रूपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा विस्तार गर्ने, शान्तिभूिम लुम्बिनीको गरिमा अभिवृद्धि गर्दै आन्तारिक र बाह्य पर्यटकको आगमनलाई प्रोत्साहन गर्ने तथा व्यवसायिक क्षेत्रका प्रतिस्पर्धात्मक अवसर र चुनौतीका नवीन सम्भावनाको पहिचान गर्दै सदुपयोग गर्ने उद्देश्यले सञ्चालित मेला उद्देश्य प्राप्तिमा सफलोन्मुख भएको संघका महासचिव तथा सचिवालय संयोजक कुलप्रसाद न्यौपानेले दाबी गरे ।
स्थानीय सिद्धार्थ रंगसालाको खेलमैदानमा आयोजित सो मेलामा लुम्बिनीसँग सम्बन्धित फोटो, कृषि उपज तथा सामग्री, साना उद्योगसम्बन्धी मेसिनरी औजार, विशेष वित्तीय क्षेत्र, बाल उद्यान, आइटीसम्बन्धी सामग्री तथा नयाँ उत्पादन एवं मगर समुदायद्वारा बनाइएको खानाका परिकार रहेका थिए ।
सबै दृष्टिकोणले यो मेला विगतभन्दा पृथक् र आकर्षक भएको मेला आयोजक समितिका सदस्य जीवलाल अर्यालको दाबी छ । यसपटक भैरहवामा जारी मेलाको बिशिष्ठतामा निश्चित रकममा हेलिकोप्टरबाट लुम्बिनी क्षेत्रको दृश्यावलोकन गर्ने व्यवस्था पनि प्रभावकारी रहेको थियो । हेलिकोप्टर व्यस्थापनका संयोजक तथा प्रचारप्रसार समितिका संयोजक चन्द्रबहादुर थापाले ३ सय ९० जनाले हेलिकोप्टर चढेको बताए । हेलिकोप्टरमार्फत लुम्बिनी क्षेत्रको अवलोकन गर्न विशेषत: छिमेकी मुलुक भारतीयको उत्साहवद्र्धक सहभागिता रहेको थियो । मेलाको अर्को आकर्षणमा संसारकै सबैभन्दा ठूलो चरा अस्ट्रिच रहेको थियो । शनिबारसम्म अस्ट्रिच अवलोकनका लागि १५ हजार व्यक्तिले टिकट काटेर अवलोकन गरेको टिकट व्यवस्थापन समितिका सदस्य पुष्यप्रसाद सापकोटाले बताए ।
भैरहवाको मेलामा स्थानीय प्रतिभाको पहिचान र प्रवद्र्धनका लागि भैरहवा आइडल पनि सम्पन्न भएको छ । त्यसैगरी मेलाको गरिमा बढाउन राष्ट्रियस्तरका चर्चित कलाकारलाई महँगो शुल्क तिरेर भए पनि भैरहवा ल्याइएको र दर्शकको पनि राम्रै उपस्थिति रहेको सांस्कृतिक समितिका संयोजक राजनजंग राणाले बताए । मेलाबाट स्थानीय कुटीर तथा घरेलु उद्योगले पनि पर्याप्त फाइदा लिएको संघका उपाध्यक्ष क्रषिकेश अग्रवाल बताउँछन् ।

प्रतिक्रिया