“दीपा केटीजस्ती छैनन्”

नेपाली कलाकारिता क्षेत्रमा महिला राम्री, सेक्सी भएपछि क्षमता पनि नचाहिने, अवसर पाइहाल्ने प्रचलन बढ्दो छ । तर, दीपाश्री निरौला भने संघर्ष गरेर कलाकारितामा आएकी महिला हुन् । काठमाडौंको कोठामा बसेर पाउरोटीले भोक मेटाएर कलाकारितामा प्रवेश गरेकी हुन् । ०५१ सालदेखि हामी दुईले सँगै रेडियोमा अभिनय गर्न थाल्यौँ, रामविलास र धनियाँ बनेर । दीपाको लगनशीलता, कामप्रतिको समर्पण त्यतिबेला देखि नै बुझेको थिएँ । सायद, त्यसैको प्रभाव होला, अहिले पनि हामी सँगै कलाकारितामा छौँ ।
दीपासँगको अभिनयका क्रममा मैले कहिल्यै उनलाई महिलाजसरी हेरेको छैन । मलाई उनी महिलाजस्तै लाग्दैन । काम गर्ने शैली पुरुषकै जस्तो छ । अनि रिस पनि पुरुषकै जस्तो । हामी प्राय: हरेक दिन सँगै हुन्छौँ । दिनकै भेटमा उनी मसँग कम्तीमा पाँच पटक रिसाएकै हुन्छिन् । आफूले भनेअनुसारको काम नभए झनक्क रिस उठिहाल्छ उनलाई । अनि मलाई ‘जोगी’, ‘ओ डाइरेक्टर साप’ भनेर सम्बोधन गर्न थाल्छिन् । म पनि के कम, रिस उठ्यो भने ‘बज्यै’ भनिदिन्छु ।
रिसाएर लामो समयसम्म नबोली बस्ने बानीचाहिँ उनको छैन । तुरुन्तै कुल हुन्छिन् । कहिलेकाँही ठट्टा गरेर भन्ने पनि गर्छु, ‘दीपा तिम्रो रिसाउने बानी हट्यो भने सुनमा सुगन्ध हुन्छ ।’
बानी केटाको जस्तो भए पनि मेकअपमा चाहिँ दीपालाई कसैले भेट्दैन । नक्कल पनि केके हो केके पार्नुपर्छ । कतै पार्टी, निम्तामा सँगै जानुपर्‍यो भने कम्तीमा आधा घण्टा नकुरेको दिन हुँदैन । हिजोआज त दुई बजेको कार्यक्रम भए उनलाई एक बजेकै कार्यक्रम हो है भनेर झुक्याउने गर्नुपरेको छ । उनी आफू मात्रै चिरिच्याँट्ट परेर हिँड्ने हो र π मैले पनि आफ्नो रुचिअनुसारको लुगा लाउन पाउँदिनँ भन्या † मलाई के सुहाउँछ के सुहाउँदैन भन्ने पनि उनैलाई थाहा छ । उनकै डिजाइनमा चल्नुपर्छ म । फेरि, महिलाको अर्डर आएपछि बोल्नु पनि भएन ।
हेल्थमा एकदमै सचेत हुनु उनको अर्को विशेषता हो । १५ वर्षयता फुल भेज हुन् । जस्तो पायो त्यस्तो कुरा खाँदिनन् । फलफूल, सागसब्जी र जुस बढी खाने गर्छिन् । ठोस खानेकुरामा उनको धेरै रुचि छैन । मलाई पनि खानेकुरामा केयर गर्न सल्लाह दिइरहन्छिन् ।
दीपासँग मेरो व्यावसायिक र व्यक्तिगत दुवै कुरा हुन्छ । बेलाबेलामा उनको बिहेको कुरा पनि चल्छ । बिहेको प्रसंग आएपछि ‘अहिले मेरो बिहे गर्ने बेला नै भएको छैन’ भन्दै पन्छिन्छिन् । आफू त साथी न परेँ । कस्तो केटासँग बिहे गरौँ भनेर सोधेदेखि यसो भनिदिने न हो । फेरि, म उनको सल्लाहकार होइन । त्यसैले बिहेको बारेमा यसो गर, उसो गर भन्नै मन लाग्दैन । उनैलाई बिहेबारे सोच्ने फुर्सद छैन भने मैले एक स्टेप अघि बढेर बोल्ने कुरो पनि त भएन ।
कहिलेकाहीँ दीपाको समग्र लाइफबारे सोचिरहँदा मलाई लाग्छ, ‘उनी कलाकारिताका लागि मात्रै बनेकी हुन् ।’ सामान्य मान्छेजस्तै गुण, दोषसहितकी महिला, जो जन्मेको कलाकारिताका लागि हो । अभिनयक्षमता नै भगवान्ले उनलाई दिएको उपहार हो । उनले जीवनभर आफ्नो क्षमताको भरपुर उपयोग गर्नुपर्छ । त्यसैले दीपालाई एउटा स्ट्रङ कलाकारको रूपमा मात्रै हेर्छ मेरो नजरले, न महिला न पुरुष । (वार्तामा आधारीत)

प्रतिक्रिया