चलचित्रमा प्रयोग हुने दर्जन किक

जम्प–टर्निङ किक : चलचित्रमा फाइट सुरु भएको केही समयपछि नै भिलेनलाई नकआउट गर्न यो किक प्रयोग गरिन्छ । जम्प गरेर जमिनबाट माथि उठेर फन्का मार्दै हानिने भएकाले यसलाई जम्प–टर्निङ किक भनिएको हो । जति पनि द्वन्द्व निर्देशक छन्, तिनले प्रयोग गर्ने प्रमुख किक हो यो । टाउकाको एकातिर कन्पट्टीमा लाग्ने भएकाले यो किक लागेको मानिस ढलेपछि उठ्न मुस्किल हुन्छ । चलचित्रमा यो किक खेलाडीबाहेक कसैले पनि हान्न नसक्ने भएकाले नायकका लागि पछाडिबाट हुकको प्रयोग गरिन्छ । यो किक मैले ‘संसार आफ्नै’ र ‘कसम’मा प्रयोग गरेको छु ।

टर्निङ किक : एउटा खुट्टा भुइँमै राखी शरीरसँगै घुमाएर हानिने किक हो यो । यो पनि टाउकाको एकातिर कनपट्टीमा हान्ने गरिन्छ । यसको पावर जम्प–टर्निङ किकभन्दा केही कम हुन्छ । चलचित्रमा यो किक गालामा लगाएको जस्तो गराउन प्रयोग हँुदै आएको छ । यस किकबाट भिलेनलाई नकआउट भएको देखाउन क्यामेरामा हाइस्पिड सट लिनु पर्छ । लगातार फाइट हानेर भिलेनलाई ढलाउन र फाइटलाई राम्रो देखाउन चलचित्रमा यसको प्रयोग गर्ने गरिएको छ ।
जम्प–ब्याक किक : यो दर्शनीय किक हो । करातेमा समेत प्रयोग हँुदै आएको भए पनि खासगरी तेक्वान्दोमा हानिने किक हो यो । सिधै जमिनभन्दा माथि उठेर पछाडि हानिने किक । यसरी हान्दा यो मान्छेको मुटु भएको भागमा र च्युँडोमा लाग्छ । चलचित्रमा भिलेन नकआउट गराउन क्यामेराको लो एंगल लगायर फाइटलाई राम्रो देखाउन प्रयोग गर्ने गरिन्छ । म आफँै मार्सल आर्टको खेलाडी भएकाले प्राय: चलचित्रमा यसको प्रयोग गरेको छु । क्यामेरा हाइयस्पिड गरेर यो किक खिचियो भने फाइट राम्रो देखिन्छ ।
ब्याक किक : जम्प नगरी एउटा खुट्टा जमिनमै राखेर अर्काे खुट्टाले पछाडिबाट हान्ने किक हो । चलचित्रमा फाइट एक राउन्ड देखाउन मात्र यसको प्रयोग गरिन्छ । कसैलाई किक लाग्यो भने त्यो मानिस फेरि रिपिट आउनका लागि यसको प्रयोग गर्ने चलन छ । यसका लागि कुनै प्रकारको सामग्री जरुरी छैन । यो किक चलचित्रमा मेजर मानिन्छ ।
साइड किक : चार–पाँचजनालाई एकैपटक ढाल्नका लागि प्रयोग गरिने यो किक मार्सल आर्ट खेल्ने नायकले सजिलै हान्न सक्छ भने अन्यलाई सिकाउँदै हान्न लगाउनु पर्छ । यसलाई प्राय: कोख भएको हिस्सामा हान्न प्रयोग गरिन्छ । चार–पाँचजनाले एकैपटक आक्रमण गरेका खण्डमा यो प्रयोग गरिन्छ । चलचित्रमा पेटमा हान्न यसको प्रयोग गरिन्छ । यो किक लागेपछि कलाकारको रियाक्सन राम्रो आउँछ ।
हुक किक : नायकले फाइट गर्दागर्दै नसक्ने अवस्था आयो भने यो हुक किकको प्रयोग गरिन्छ । निधारमा हानिने किक हो यो । यसरी हानेको किक लागेका मान्छे सम्हालिन गाह्रै पर्ने हुन्छ । चलचित्रमा सजिलोका लागि यो किक छातीमा हान्न प्रयोग हुँदै आएको छ । यसरी हानेको किक लाग्यो भने फाइटरलाई जोखिम हुने भएकोले फाइटरलाई रोल गरेर ढालेपछि छातीमा हानेर मुखबाट रगत निकाल्ने गरिन्छ । चलचित्रमा मैले यो किक टाउकोमा नै हान्न प्रयोग गर्ने गरेको छु ।
माएगिरी किक : यो नर्मल किकमा पर्छ । जुनै चलचित्रमा पनि यो प्रयोग हँुदै आएको छ । करातेबाट आएको यस किकलाई चलचित्रको भाषामा ड्रप किक भनिन्छ । खुट्टाका औँलाको बीच भागले मुटुमा हान्ने किक हो यो । चलचित्रमा फाइटरलाई ड्रप गरेर ढाल्न प्रयोग गरिने भएकाले ड्रप किक भनिएको हो । हावामा उडेर वा नउडी दुबै तरिकाले हान्न सकिन्छ । किक हान्न उड्दा वायर प्रयोग गरिन्छ भने जमिनबाट हान्नका लागि केही चाहिँदैन ।
स्ल्याप किक : करातेमा यसलाई माउसी किक भनिन्छ भने चलचित्रमा यसलाई स्ल्याप किक भन्ने गरिन्छ । एउटा खुट्टा टेक्ने र अर्काले गालामा हान्ने किक हो यो । यो किक छाती र पेटमा हान्न पनि प्रयोग हुन्छ । चलचित्रमा फाइटरलाई रोल गरेर ढलाउन वा पालै पालो ढलाउन प्रयोग गर्ने गरिन्छ । नर्मल किकका रूपमा चलचित्रमा यो प्रयोग हँुदै आएको छ । चलचित्रका लागि कम्पल्सरी छ । जुनै द्वन्द्वनिर्देशकले पनि चलचित्रमा यसको प्रयोग गर्ने गरेका छन् । यसको प्रयोगले फाइटर तथा नायक कसैलाई पनि जोखिम छैन ।
साम्पाङ किक : चाइनाको सांघाईबाट आएको किक हो यो । उसु खेलमा यो किक सो–पिसका लागि प्रयोग गरिन्छ । दुईटै खुट्टा हावामा नै उडाएर हान्ने भएकाले चलचित्रमा फाइटप्रति दर्शकको आकर्षण बढाउन नौलो किकका रूपमा प्रयोग गर्ने गरिन्छ । आफँै फाइटर हुँदा म यो किक हान्ने गर्दथँे । यो खेलाडीले मात्र हान्न सक्ने किक हो ।
जम्प डबल ट्रर्निङ किक : कुनै पनि हिरोले फाइटरलाई टर्निङ किक हानेपछि फाइटरले रियाक्सन दिइरहेका बेला फेरि जम्प गरेर गालामा हानिने किक हो यो । चलचित्रमा यसरी हान्दा फाइटर ढल्छ भने फाइट आकर्षक र मनमोहक देखिन्छ । रियालिस्टिक फाइट देखाउनभन्दा पनि तडक–भडक देखाउन यो प्रयोग हँदै आएको छ । मैले हलिउड चलचित्रबाट यसको सिको गर्ने गरेको छु ।
ट्विस्ट टर्निङ किक : देब्रे खुट्टा जमिनबाट माथि उचालेर घुमाउँदै दाहिने खुट्टाले हानिन्छ । दुवै खुट्टा घुमाउँदै यो किक हानिने भएकाले यसलाई ट्विस्ट टर्निङ किक भनिएको हो । तेक्वान्दोमा यो हुक किकको नामले चिनिन्छ । यसको प्रयोग कुनै कुनै द्वन्द्वनिर्देशकले मात्र गर्न गरेका छन् । मैले अहिले पछिल्लो समय काम गरेका चलचित्रमा यसको प्रयोग गरेको छु । चलचित्रका लागि यो राम्रो किक हो भने हाइस्पिड प्रयोग गरेर खिचियो भने यसले चलचित्र आकर्षक देखिन्छ ।
बटरफ्लाई किक : पुतली हावामा उडेजसरी उडेर हान्ने भएकाले यसको नाम बटरफ्लाई किक राखिएको हो । यो किक हान्ने मान्छेले छत्तीस डिग्रीमा शरीरलाई ढल्काएर हान्नुपर्ने हुन्छ । चलचित्रमा राम्रो देखाउन छातीमा हान्ने गरिएको छ भने भिलेनलाई फाइटबाट नकआउट गर्न फेसमा हान्ने गरिएको छ । यो किक नर्मल फाइटर र हिरो दुवैले हान्नसक्ने किक हो । सबै चलचित्रमा यसको प्रयोग भएको पाइन्छ । पहिले राजेन्द्र खड्गीले चलचित्रमा यसको प्रयोग गरे पनि अहिले सबै द्वन्द्व निर्देशकले प्रयोग गर्ने गरेका छन् ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया