अमिसाले छाडिन् अनिलको साथ

नयाँदिल्ली : बलिउड अभिनेत्रीहरू अचेल चुजी भएका छन् । चर्चामा आउनुपूर्व आफूलाई चलचित्र दिएर चर्चामा ल्याउने निर्माताहरूको चलचित्र लिने र छाड्ने उनीहरूको बानी नै भइसकेको छ । पछिल्लो समय यो स्वभाव देखाएकी छन् अभिनेत्री अमिसा पटेलले । उनले निर्माता अनिल शर्माको चलचित्र छाडिदिएकी छन् । अनिलले यस अगाडि अमिसालाई चलचित्र ‘गदर’ मा नायिका लिएका थिए । ‘गदर’बाट अमिसा बलिउडमा राम्रै चर्चा बटुल्न पनि सफल भएकी थिइन् ।

अनिलले अहिले आफूले निर्माण गर्न लागेको नयाँ चलचित्रका लागि अमिसालाई अनुबन्धित गरेका थिए । आफ्नो व्यास्तताले गर्दा उनले चलचित्र छोड्नु परेको निकट स्रोतले बताएको छ । उनी अहिले अर्कै एक चलचित्रमा निकै व्यस्त रहेकी छन् ।
अमिसा अर्काे चलचित्रमा व्यस्त रहे पनि आफ्नो चलचित्र साइन गरेकाले जसरी पनि उनले समय निकाल्नुपर्ने अनिलले बताए । उनले भने– ‘अमिसाले चलचित्रको छायांकनका लागि समय मिलाउने मात्र नभई रिलिज नभएसम्म अर्काे चलचित्रमा समय नदिने वाचा पनि गरेकी छन् ।
अनिलले उक्त चलचित्रको छायांकनको मिति लगातार सारेकाले अमिसाले अभिनय गरेका अन्य चार चलचित्रको सुटिङ प्रभावित भएकाले अनिलको चलचित्र छाड्नुपरेको उनले बताएकी छन् । (एजेन्सी)

प्रतिक्रिया