सेयरमा आशाको किरण

काठमाडौं, १ पुस । केही समययता सेयर बजारमा आशाको किरण देखिन थालेको छ । सिभिल बैंकमा करिब ७ गुणा चाप परेपछि सेयर बजारमा आशाको किरण देखिनथालेको हो । लगानीका अन्य क्षेत्र संकुचित हँुदै गएकाले पनि सेयर आकर्षणमा वृद्धि भएको हो । सेयर बजार, रियलस्टेट, उद्योग/व्यवसाय, बैंक निक्षेप तथा राष्ट्रिय बचत पत्र र सुन बजारका तुलनमा अहिले सेयर कारोबार अलि प्रभावकारी देखिनथालेको छ ।

घर–जग्गा कारोबारमा बिचौलियाको बिगबिगी भएका कारण त्यस्ता वस्तुको वास्तविक मूल्य कति भन्ने अवस्था देखिँदैन । बीचका व्यक्तिले बढी नाफा खाने गरेकै कारण घर–जग्गा कारोबार बढी झन्झटिले रहेको छ । यसको झन्झटिलो कागजी प्रक्रियाका कारण आमनागरिक अनावश्यक विवादमा पर्नसक्ने सम्भावना पनि त्यतिकै छ ।
यसबाहेक उद्योग व्यवसायको अवस्था हेर्ने हो भने त एकदमै नाजुक बन्दै गएको छ । सरकारले अन्धाधुन्द लोडसेडिङ गरेका कारण उद्योगलाई आवश्यक पर्ने विद्युत् अभावले उद्योग सञ्चालनमा समस्या देखिनथालेको छ । ऊर्जा मन्त्रालयले १९ घन्टा दैनिक लोडसेडिङ हुने प्रक्षेपण गरेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले १० घन्टामा झार्ने बताए पनि यो काजगमा सीमित रहनपुगेको छ । विद्युत् उत्पादन घट्दै जाने र पुसदेखि भारतबाट थप विद्युत् आयात गर्ननसके १८ घन्टासम्म लोडसेडिङ पुग्ने प्राधिकरणले बताइसकेको छ । ऊर्जा मन्त्रालयको निष्क्रियता, अर्थ मन्त्रालयको बेवास्ता, गृह मन्त्रालयको असहयोगलगायत कारणले लोडसेडिङ घट्न सकेको छैन । जबसम्म लोडसेडिङ घट्दैन तबसम्म उद्योग व्यवसाय फस्टाउन सक्दैन ।
पछिल्लो समयमा आएर बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने क्षेत्रको अभाव रहेका कारण त्यस्ता संस्थाले निक्षेपमा दिने ब्याजदर घटाउँदै लगिरहेका छन् । चालु आवको तीनमहिने अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २४ अर्ब ९७ करोड रुपियाँले बढेको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको निक्षेप परिचालन क्रमश: १ दशमलव ७ प्रतिशत, ४ दशमलव ८ प्रतिशत र ३ दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र विकास बैंकको निक्षेप परिचालन ६ दशमलव १ प्रतिशत र २ दशमलव ८ प्रतिशतले बढेको थियो । निक्षेपमा भएको वृद्धिसँगै त्यस्ता संस्थाले ब्याजदर घटाएका छन् । ब्याजदर घटेका कारण बैंकमा निक्षेप राख्ने अवस्था छैन भने बंैकहरूले कर्जा प्रवाह सन्तोषजनक रूपमा गर्न नसकेको केन्द्रीय बैंकले जनाएको छ ।
अहिले आएर सरकार परिवर्तनको माहोलले सेयर बजारमा प्रभाव पार्नसक्ने संकेत देखिएको छ । गत १४ जेठमा संविधान बनाउनुपर्नेमा अहिलेको वर्तमान सरकारले संविधानसभा विघटन गरेरे नयाँ चुनावका लागि ७ मंसिरको समयसीमा तोकेकामा सो समयमा पनि कुनै प्रगति हुन नसेपछि सरकार परिवर्तनले पहिलो प्राथामिकता पाएको हो । माओवादी इतर सरकार बन्ने संकेतले पनि यसमा आशा जगाएको हुनसक्छ । यसले सेयर बजारमा एक किसिमको तरंग पैदा गरेको छ । यो भनेको बजारका लागि सकारात्मक पक्ष हो । पछिल्लो समयमा राष्ट्रपतिले गरेको सहमतिको सरकार गठनलाई सबै दलले सकारात्मक रूपमा लिएपछि राजनीतिक तिक्तता कम हुने आँकलन गरिएको छ । तर पनि दलहरूले सहमतिको सरकार बनाउन सकेका छैनन् । एकीकृत माओवादीभित्र पनि सहमतीय सरकारका लागि वर्तमान सरकार बाधक नबन्ने ठोस निर्णय आइसकेको अवस्था छ । नेपाली कांग्रेसका सुशील कोइरालाले आफूलाई भावी प्रधानमन्त्री उमेदवारका रूपमा प्रस्तुत गरिसकेका छन् । एमाओवादीले पनि सरकार गठन प्रक्रियमा आफू लचिलो हुने निर्णय गरेको छ । यो भनेको दलबीच सहमतिको सरकार बन्छ भन्नु हो । ढिलो या चाँडो सहमतिविनाको राजनीति अघि बढ्न नसक्ने कुरामा दुईमत छैन । त्यसैले आगामी दिनमा सेयर बजार बढ्नेमा आशावादी बन्न सकिन्छ ।
एमाले, मधेसवादी दललेसमेत कांग्रेस नेतृत्व स्वीकार्य हुने सन्देश दिएको अवस्थालाई सकारात्मक रूपमा लिँदै लगानीकर्ता सेयर बजारप्रति आकर्षित हुनसक्ने बजार विश्लेषकको भनाइ छ । कांग्रेस नेतृत्व होस् वा अन्य राजनीतिक दलको अथवा वर्तमान सरकारकै नेतृत्वमा सहमतीय सरकार बन्नै पर्छ । नत्र मुलुक अगाडि बढ्न सक्दैन । लामो समयदेखि ओरालो लागेको सेयर बजारमा उसै कारणले पछिल्लो समय केही सुधारको संकेत देखिएको हो । अहिले पनि नेप्से पाँच सयकै आसपासमा रहेको छ । राजनीतिक माहोलसँगै नेप्सेपरिसूचक ६ सयभन्दा माथि जानसक्ने आँकलन सेयर बजारमा छ । यस्तो अवस्थामा लगानीकर्ताले आफूसँगको लगानी लाभांश र बोनस सेयर दिने राम्रा कम्पनीमा लगानी गर्नसकेका अवस्थामा बंैकमा निक्षेप राख्नुभन्दा बढी नाफा आर्जन हुन सक्छ ।
नेप्से ९ अंकले बढ्यो

काठमाडौ : नेप्से परिसूचक ९ दशमलव १० अंकले बढेको छ । गत साता स्टक एक्सचेन्जमा एक सय १५ कम्पनीको कारोबार भएको छ । जसमा चार हजार आठ सय ३६ कारोबारबाट ३४ करोड २५ लाख ३७ हजार रुपियाँ बराबरका १० लाख २९ हजार ६ सय १४ कित्ता सेयर खरिद–बिक्री भएका छन् ।
यस अघि एक सय आठ कम्पनीको कारोबार भएको थियो । जसअनुसार ६ हजार तीन सय २० कारोबारबाट ५१ करोड ५२ लाख ८६ हजार रुपियाँ बराबरका १५ लाख दुई हजार एक सय ७४ कित्ता सेयर खरिद–बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ३३ दशमलव ५२ प्रतिशतले ह्रास आएको छ । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र १९ करोड ८४ लाख रुपियाँ बराबर कारोबार भएको छ । यो कुल कारोबारको ५७ दशमलव ९३ प्रतिशत हो ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनका तुलनामा २ दशमलव २९ अंकले वृद्धि भई एक सय २६ दशमलव ५१ अंकमा पुगेको छ । कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक, कित्ताका आधारमा नेपाल बंगलादेश बैंक र संख्याका आधारमा ग्लोबल आइएमई अग्रस्थानमा रहेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया