अनाथलाई सघाउन थिरजले गाउने

काठमाडौं : यथार्थवादी गीतलाई महत्त्व दिई सांगीतिक क्षेत्रमा देखापरेका गायक थिरज राईले आधा दशकपछि चर्चा बटुल्न थालेका छन् । डेढ दशकअघि इलामको लक्ष्मीपुरबाट आएर काठमाडौंमा संघर्षरत गायक राईको सांगीतिक व्यस्तता बढ्दै गएको छ । एक दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा क्रियाशील रहे पनि औपचारिक रूपमा उनी ०६४ मा सोलो एल्बम अघिपछि लिएर श्रोतामाझ आएका थिए । उक्त एल्बमको ‘सयकडा ३ ब्याजले मार्‍यो हजुर’ गीतले उनलाई यथार्थवादी गायकको परिचय दिलाएको थियो । त्यसकै निरन्तरतामा ०६८ मा निकालेको कलियुग एल्बममा संगृहीत ‘बोल्नेको यहाँ पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन’ बोलको गीतले पनि उनलाई यथार्थवादी गायककै रूपमा थप परिचय दिलायो ।
गत जेठमा एकल प्रस्तुतिसमेत दिइसकेका उनले ६ दर्जनभन्दा बढी गीतमा स्वर, तीन सयजति भजन र सयभन्दा बढी आधुनिक गीतमा संगीत दिइसकेका छन् । व्यापारका दृष्टिले ठप्पप्राय: रहे पनि सांगीतिक क्षेत्रलाई निरन्तता दिँदै आएका उनी भन्छन्, ‘सांगीतिक क्षेत्रको उतारचढावको वर्तमान अवस्थामा पनि संघर्ष गरिरहेको छु, श्रोताले माया गर्न थालेका छन्, उहाँहरूको मायाले हौसला बढेको छ ।’ आफू तेस्रो एल्बम निकाल्ने तयारीमा रहेको जानकारी दिँदै थिरजले आगामी ५ पुसमा अनाथहरूको सहयोगार्थ संखुवासभाको खाँदबारीमा एकल प्रस्तुति दिने कार्यक्रम रहेको बताए । उनले खाँदबारीमा डेढ दर्जन गीत गाउने पनि बताए । (सौस)

प्रतिक्रिया