‘५० हजारको एउटा साडी किनें’

सपिङमा धेरै सौखिन छु । सपिङमा पैसा खर्च भएको पत्तै पाउँदिनँ । हुन त म पैसाभन्दा गुणस्तरलाई ध्यान दिन्छु । आफ्ना लागि त्यति सामान किन्दिनँ । बढीजसो सपिङ श्रीमान् र छोराका लागि हुन्छ । उनीहरूका लागि उपयुक्त सामान केही देख्यो कि किनिदिइहाल्छु ।
सपिङमा मलाई साथी र दिदीले साथ दिन्छन् । श्रीमान्सँग त कमै गइन्छ । उहाँलाई फुर्सद हुँदा कहिलेकाहीँ मात्र सपिङ जान्छौँ सँगै । तर, त्यो अवसर कमै मिल्छ । मौका मिल्नासाथ उपयोग पनि गरिहाल्छौँ ।
नेपालमा मैले सपिङका लागि उपयुक्त देखेका ठाउँ दरबारमार्ग, न्युरोड, सिटिसेन्टर र सिभिल मल हुन् । दरबारमार्गका केही निश्चित पसल छन्, जहाँ म नियमित जान्छु । अन्तको तुलनामा सजिलो र विश्वासिला लाग्छन् ती ठाउँ । दरबारमार्गका केही पसलको त म ग्राहक सदस्य पनि छु । यसो हुँदा सातदेखि दश प्रतिशतसम्म छुट पाइन्छ । छोरा र श्रीमान्लाई ब्रान्डेड सामानै चाहिन्छ । जस्तो पायो त्यस्तै लगाउदैनन् । त्यसैले जहाँ पायो त्यहीँ सपिङ गरेर पनि त भएन ।
नेपालमा धेरै पसलमा बार्गेनिङ गर्नुपर्छ । ठाउँ र परिस्थति हेरेर म पनि गर्छु । पसलेले पनि त बार्गेनिङको ठाउँ राखेरै मूल्य तोकेका हुन्छन् नि † हिजोआज नेपालमा धेरै ठाउँमा निश्चित दामका पसल खुलेका छन् । त्यहाँ बार्गेनिङ हुँदैन । बार्गेनिङ गर्नुपर्नेभन्दा निश्चित मूल्यका पसलमा जाँदा नै सजिलो हुन्छ हुनचाहिँ ।
सपिङका लागि सधैँ घरैबाट तयारी गरेर गइँदैन । बाटो हिँड्दै गर्दा मनपरेको सामान देखे पनि किनिहाल्छु । यत्ति हो गोजी गरम भएको अवस्थाचाहिँ हुन पर्‍यो । पैसा पुग्ने रहेनछ भने फर्केर गएर पनि त्यो सामान किन्छु । कहिलेकाहीँ फुट्पाथको सामान पनि किन्छु । आमाका लागि चाहिने हातेरुमाल र घरको सहयोगीका लागि ती सामान लिन्छु । आमा आफँैले सस्तो सामानको माग गर्नुहुन्छ ।
शृंगारका सामानमा चाहिँ म धेरै खर्च गर्दिनँ । धेरै मेकअप गर्ने बानी छैन । मौसमअनुसारको क्रिम, गाजल लाउँछु । हल्का मेकअप गर्छु । मुख धुँदा साबुन प्रयोग गर्दिनँ । मलाई साबुन सुट हुँदैन ।
मैले किनेका महँगा सामानमा घडी, साडी, कोट, सनग्लास छन् । केही समय पहिला पचास हजार रुपियाँ पर्ने साडी किनेँ । मैले लगाएकामध्ये सबैभन्दा महँगो साडी यही होला । अरूले उपहार दिने त कतिको दिन्छन् के थाहा ? सोध्न पनि त मिलेन । दैनिक प्रयोग हुने घरायसी सामान पनि प्राय म आपैँm किन्छु ।
विदेश जादाँ आफन्त साथीभाइलाई उपहार ल्याउछु । धेरै पैसा खर्च हुन्छ त्यसमा । विदेश गएपछि केही ल्याइदिने आश पनि त हुन्छ सबैलाई । आमा, भाउजू, साथी सबैका लागि केही न केही ल्याइदिन्छु । नेपाल जस्तो होइन, विदेशमा सामानको गुणस्तरका साथै मूल्य पनि झन् महँगो हुन्छ ।
मैले घुमेका देशमध्ये हङकङ र बैंकक सपिङका लागि ठीक लाग्यो । हङकङ महँगो सहर पनि हो । महँगो भए पनि हङकङमा एउटा ठाउँमा बार्गेनिङमा सामान पाइन्छ । म प्राय: त्यहीँबाट किन्छु । विदेशमा किनेको सामान महँगो भए पनि राम्रो हुन्छ ।
(वार्तामा आधारित)

प्रतिक्रिया