सेलेब्रिटीका नजरमा डिसेम्बर २१

डिसेम्बर २१ को हल्लाले नेपाली सेलेब्रिटीहरूलाई पनि तर्साएको छ । फेसबुक चलाउादादेखि जता जाादा पनि यही हल्ला सुन्नुपर्दा मुटुले ढ्याङ्ग्रो ठोकेको उनीहरू बताउाछन् । हावा नलागी त पात चल्दैन भन्ने मानसिकताका कारण कति कलाकार सशंकित छन् भने यसलाई विशुद्ध हल्ला मात्र ठान्नेहरू पनि छन् । नासाले कुनै खतरा नरहेको विज्ञप्ति जारी गरेपछि भने लामो सास फेरेको धेरैले बताए । प्राय: सेलिब्रिटीले डिसेम्बर २१ का सबैखाले कार्यक्रम स्थगित गरेर सम्पूर्ण समय परिवारकै साथ बिताउने योजना सुनाए ।
सीताराम कट्टेल : पृथ्वी सिद्धिने हल्ला केही समयअगाडिदेखि एकदमै बढी सुनेको छु । पहिला त हल्लाजस्तो मात्र लाग्थ्यो, अहिलेचाहिँ डिसेम्बर २१ सम्झेर झस्कने गरेको छु । फेसबुक खोल्नै हुँदैन, डिसेम्बर २१ तरिखकै टिप्पणी मात्र देखिन्छन् । पछिल्लो समय जलवायुमा आएको व्यापक परिवर्तनले पनि यसलाई संकेत गरेजस्तो लाग्छ । भर्खरै मात्र अमेरिकामा स्यान्डी नामक आँधीले धेरै क्षति पुर्‍याएको थियो । केही समयअघि जापानमा पनि महासुनामीले थुप्रै जनधनको क्षति गर्‍यो । यसरी हेर्दा पृथ्वी सिद्धिने हल्ला केही खतरनाक नै लाग्छ । सुनेको थिएँ– सूर्यले हजार भोल्टको ताप लिएर पृथ्वीलाई तहसनहस पार्छ भन्ने । तर, पृथ्वी पनि एउटा शक्ति त हो नै ।
हल्ला बढेसँगै नेपाल टेलिभिजनबाट प्रसारित हुने हास्यटेलिशृंखला मेरिबास्सैको सुटिङ अझ छिटोअघि बढाइरहेछु । डिसेम्बर २१ का दिन कुनै काममा नलाग्ने विचार गरेको छु । सकेसम्म म त्यो दिन परिवारका सबै सदस्यसँग बस्नुपर्ला †
अरुणिमा लम्साल : डिसेम्बर २१ तारिखका दिन पृथ्वी सिद्धिने हल्ला सुनेको छु । यो कुरामा विश्वास गर्ने कि नगर्ने भन्ने द्विविधामा छु । नासाको अध्ययनले यसमा कुनै सत्यता नभएको बताएपछि केही भरोसाचाहिँ लागेको छ, डरत्रास केही घटेको छ । मृत्युजस्तो डरलाग्दो विषयमा खासै कुरा गर्न मन छैन मलाई । पृथ्वी साँच्चै ध्वस्त हुने रहेछ भनेचाहिँ डिसेम्बर २१ मा परिवारकै साथ रहनेछु । योभन्दा ठूलो कुनै इच्छा छैन ।
रीमा विश्वकर्मा : पृथ्वी नासिएर सृष्टि ध्वस्त हुने हल्ला निकै सुनेकी छु । यो कुरामा ५० प्रतिशत सहमत र ५० प्रतिशत असहमत छु । साइन्सका दृष्टिले हेर्दा हल्लाप्रति अविश्वास लाग्छ । फेरि झस्कन्छु, त्यत्तिकै हल्ला किन हुन्थ्यो त † म त एकदमै कन्फ्युजनमा छु । २१ तारिखमा पृथ्वी सिद्धिने नै भयो भने त्यो दिन फेमिली छोड्दिनँ । उनीहरूसँगै बसेर समय बिताउँछु । बाँकी समयमा नजिकका साथीभाइ भेट्ने सोच छ । आफूले चित्त दुखाएको साथीहरूलाई खुसी बनाएर मात्र मर्न पाए, मेरा लागि काफी हुन्थ्यो ।
दीपाश्री निरौला : पृथ्वी सिद्धिने हल्लालाई नासाले विज्ञप्तिमार्फत झुटो भनिसकेको छ । त्यसैले मचाहिँ यो हल्ला मात्र हो भन्नेमा ढुक्क छु । तैपनि, ध्वस्त हुने नै भयो भने सबैजना सँगै मरूँ भन्ने चाहना छ । एकादुई बाँचे भने उनीहरू पनि ती मरेका मानिस देखेर मर्नेछन् ।
आज बिहानै मेरो पुख्र्यौली घर विराटनगरबाट बाबाको फोन आएको थियो । भन्नुभयो, ‘डिसेम्बर २१ तारिकअगाडि नै तेरो बिहे गरिदिनुपर्‍यो, त्यसैले विराटनगर आइहाल्नू ।’ यो हल्लाले मानिसमा आतंक मात्र फैलाएजस्तो लाग्छ । मानिसमा बढ्दै गरेको लोभलालची प्रवृत्ति घटोस् भनेर भगवान्ले नै यो हल्ला फैलाइदिएजस्तो लाग्छ मलाई । पृथ्वी साँच्चै ध्वस्त हुने अवस्था भएको भए म बाबाको इच्छा पूरा गर्नेतर्फ लाग्थेँ होला ।
नवल खड्का : मलाई यो हल्लाको विश्वास लागेको छैन । यद्यपि, यसले विश्व नै हल्लाएको छ । त्यो दिन कुनै स्थानमा क्षति भए पनि पूरै पृथ्वीचाहिँ सिद्धिँदैन जस्तो लाग्छ मलाई । तैपनि, केही संकेत देखिएका छन् । अमेरिकामा गएको स्यान्डी, जापानमा गएको सुनामीजस्ता विपत्तिले केही हो कि भनेजस्तो पनि भएको छ । हाल म मेरो अहिलेसम्मकै महत्त्वाकांक्षी चलचित्र भीमदत्त बनाउन लागिपरेको छु । यदि पृथ्वी सकिने नै हो भने यो चलचित्रलाई दर्शकमाझ वल्र्डवाइड प्रदर्शन गरेर देखाउने अन्तिम इच्छा छ ।
विल्सन विक्रम राई : फेसबुक खोल्नेबित्तिकै डिसेम्बर २१ तारिखकै त्रास फैलिएको पाउँछु । मलाई चाहिँ यो सबै बकम्फुसे कुराजस्तो लाग्छ । नासाले डाइरेक्ट तोक्मे बूढा, विल्सनविक्रम राईको फेसबुकमा यो कुरा साँचो नभएको बताएको छ । त्यसो नभए पनि मलाई चाहिँ पटक्कै चिन्ता छैन । नपत्याए मेरो फेसबुक खोलेर हेर्नुहोला । (………………………) त्यसैले नेपाली बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरूलाई यो हल्लामा लागेर सम्पत्ति नष्ट नगर्न आग्रह गर्छु ।
साँच्चिकै ध्वस्त हुने भयो भने म नेपाली हुँ भनेर मर्न चाहन्थेँ । अरू नेपालीले पनि यही आवाज गुन्जाएको सुन्न चाहन्थेँ । नेपालीहरूको त्यो आवाज विश्वले सुन्न सकोस् भन्ने मेरो अन्तिम इच्छा हो ।
जितु नेपाल : व्यापक रूपमा डिसेम्बर २१ तारिखको चर्चा सुनेको छु । अलिअलि आशंका रहे पनि टोटल्ली विश्वासचाहिँ छैन । नासाको अध्ययनले पृथ्वी सिद्धिने कुरा झूटो सावित गरेको छ । तैपनि, त्यो दिन कुनै देश तथा प्रान्तचाहिँ सिद्धिने हो कि जस्तो लाग्छ मलाई । त्यो विपत्ति आउने नै हो भने सम्पूर्ण परिवारका साथ रहने इच्छा छ मेरो । त्यो दिन म सायद परिवारलाई एकै ठाउँमा जम्मा पार्छु । सुटिङका लागि बाहिर पनि निस्किन्नँ ।
ऋचा शर्मा : यो हल्ला फेसबुकमा निकै सेयर भएको छ । मलाई प्राकृतिक कुराजस्तो लाग्छ । भुइँचालो आउँछ रे भन्छन् तर आउँदैन । नासाको विज्ञप्ति तथा समाचारले यसलाई झूटो बताएका छन् । तैपनि, पृथ्वीले त्यो दिन कोल्टे फेर्नेचाहिँ बताइएको छ । किन हो किन, यो कुरा पछिल्लो समयमा आएर वास्तविकताजस्तो लागिरहेको छ । बाँकी दिनमा रमाइलो गर्ने विचारमा छु । म मात्र होइन, मेरो परिवारका सबै यो हल्लाबाट त्रस्त छन् । अहिले परिवारका सबै सदस्य सँगै बसेर दिनैपिच्छे मासुभात खाइरहेका छौँ । डिसेम्बर २१ का दिन साना बच्चाबच्चीलाई पनि स्कुल नपठाउने तयारी परिवारले गरेको छ । मलाई पनि कुनै सुटिङ नपार्न आग्रह गरेका छन् । पृथ्वी सिद्धिने नै भयो भनेचाहिँ आमा, हजुरआमालगायत केही साथी सँगै बसेर मर्न पाए हुन्थ्यो भन्ने छ । केही साथीलाई भेट्ने इच्छा पनि छ ।
ऋचा सिंह ठकुरी : मलाई यो हल्लामा विश्वास छैन । मानिसलाई त्रस्त बनाउन गरिएको षड्यन्त्रजस्तो लाग्छ । मेरो अन्तिम इच्छा नै पृथ्वी ध्वस्त नहोस् भन्ने छ । यो इच्छा पूरा भए परिवार र जीवनसाथीलाई भेट्ने मौका पाउँथेँ । जीवनका तृष्णाहरू मेट्न पाउँथेँ ।
जीवन लुईटेल (अभिनेता) : पृथ्वी सिद्धिने हल्ला दुई वर्ष अगाडिदेखि सुन्दै आएकको छु । डिसेम्बर २१ तारिककै दिनलाई प्रतिनिधित्व गर्ने चलचित्र ‘२०१२’ विश्व ध्वस्त हुने चलचित्र हेरे पनि मलाई यो कुरामा कुनै विस्वास छैन । पृथ्वी सिद्धिने कुरामा केही सत्यता भए पनि मलाई यो कुरामा विस्वासै छैन ।
यदि, पृथ्वी सिद्धने नै भयो भने सहर्ष रूपमा स्वीकार्न वाध्य हुन्छु । सबैजना आ–आफ्नो काममा व्यस्त हुन्छन्, म पनि आफ्नै काममा व्यस्त हुन्छु । त्यो दिन पनि मेरो कुनै योजना छैन । सरकारले कित यो दिन पृथ्वी सिद्धिने भयो भनेर जनतालाई सचेत गराउन पर्‍यो ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया