सहकारी समस्या समाधान गर्न उच्चस्तरीय समिति

काठमाडौं, २५  मंसिर । पछिल्लो समयमा सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि उच्चस्तरीय सहकारी सुदृढीकरण राष्ट्रिय समिति गठन गरिएको छ ।
केही सहकारी संस्था सहकारी सिद्धान्त, ऐन, नियमअनुसार सञ्चालन नभएको कारण समस्या देखिएकाले उच्चस्तरीय समिति गठन गरिएको राष्ट्रिय सहकारी संघ नेपालले जनाएको छ । समस्या समाधानका लागि समितिले पहल गर्ने जनाएको छ । राष्ट्रिय सहकारी संघ लिमिटेड नेपालका अध्यक्ष केशवप्रसाद बडालको संयोजकत्वमा समिति गठन गरिएको हो ।
त्यस्तै सदस्यहरूमा  सहकारी विभागका रजिस्ट्रार केदार न्यौपाने, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिका अध्यक्ष मीनराज कँडेल, राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेती र सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ लिका अध्यक्ष विष्णुहरि ढकाल रहेका छन् ।
त्यसैगरी जिल्ला तहमा पनि पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । समितिको संयोजकमा जिल्ला सहकारी संघका अध्यक्ष रहने छन् भने सदस्यहरूमा डिभिजन सहकारी कार्यालयका प्रमुख, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख र जिल्लास्तरीय विषयगत सहकारी संघबाट एकजना अध्यक्ष रहने समितिले जनाएको छ । डिभिजन सहकारी कार्यालय नभएको जिल्लामा सम्बन्धित जिल्लामा क्षेत्राधिकार रहेको सहकारी कार्यालयको नै प्रतिनिधित्व रहने र राष्ट्रिय सहकारी बैंक नभएको जिल्लामा एक विषयगत संघका अध्यक्ष थपिने समितिले निर्णय गरेको छ ।
सहकारीहरूमा जति समस्या देखिएको छ, त्यसको समाधान र अन्य संस्थामा यस्तो समस्या आउन नदिन समिति गठन गरिएको समितिका संयोजक तथा राष्ट्रिय सहकारी संघ नेपाल लिमिटेडका अध्यक्ष केशवप्रसाद बडालले जनाकारी दिए । ‘यस समितिले काम तीब्र गतिमा गर्ने छ,’ बडालले भने, ‘समितिले आजैबाट काम सुरु गरेको छ ।’ राष्ट्रिय तथा जिल्लागत समितिले सहकारीका समस्या समाधानका लागि बृहत्तर ढंगबाट काम गर्ने उनले बताए । ‘समितिले समस्यामा परेका सहकारीको समस्या समाधानमा पहल गर्ने छ ।’ समितिका सदस्य तथा राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले भने, ‘सरकारी ऐन/नियमअनुसार सञ्चालन गरी सुदृढीकरण गर्नका लागि पहल गर्ने छ ।’ यसो गर्दा पनि सिद्धान्त, ऐन, नियम र मापदण्डअनुरूप सञ्चालन नभएमा कारबाही गर्न सम्बन्धित निकायमा पहल गर्ने उप्रेतीले बताए ।

प्रतिक्रिया