मत-विमत

म सच्चा “कवितावादी” कवि

सौर्य अनलाइन २०६९ मंसिर २३ गते २:३० मा प्रकाशित

रमेश क्षितिज निकै राम्रा कविता लेखिरहेका छन्, जो शब्द र भावको संयोजन गर्न कुशल छन् । मूलत: कविता उनको अभिव्यक्तिको माध्यम हो, सँगसँगै गीत र कथामा पनि उनले आफूलाई उम्दा साबित गरेका छन् । सरलतापछाडि जीवनका जटिल पक्षको उद्घाटन हुन्छ उनका कवितामा । कवि तुलसी दिवसले भनेझैं क्षितिजका कविता ‘पारदर्शी चहकिला ऐनैऐनाको पंक्तिजस्ता देखिन्छन् ।’ उनका ‘अर्को साँझ पर्खेर साँझमा’ (कविता संग्रह ०५७), ‘आफैं आफ्नो साथी भएँ’ (गीत संग्रह ०६३), ‘क्षितिज’ (गीति एल्बम ०६३) प्रकाशित छन् । हाल उनी नयाँ कवितासंग्रह ‘घर फर्किरहेको मानिस’का कारण चर्चामा छन् ।
अहिले संसारभर गद्यको लहर चलिरहेको छ । कविताको भविष्य कस्तो होला ?
संसारभर गद्यको लहर चलेको छ भने त्यो कविताका लागि पनि खुसीको कुरा हो । कविता मानव जातिको सर्वोत्कृष्ट र ओजपूर्ण भाषा हो, यसैले यसको भविष्यमाथि शंका गर्नुपर्ने कुनै कारण देख्दिनँ म त । गद्यमा कवितात्मकता वा कविताको जस्तो कलाले नै प्राण गर्दछ । विभिन्न शैली समय क्रममा लोकप्रिय भएता पनि भाषाको चमत्कार कवितामा हुन्छ, त्यही सौन्दर्यले गद्यलाई पनि बचाउने हो । कविता सबै विद्याको जग भएकाले यसको भविष्य सदैव सुरक्षित छ, रहनेछ ।
कविता र गद्यमा कुनचाहिँ बढी प्रभावकारी हुन्छ ?
कविता र गद्यको आ–आफ्नै मौलिकता हुन्छ । प्राय: प्रत्येक लेखकले आफ्नो लेखकीय जीवन कविताबाट सुरु गरेको पाइन्छ, भाषाले सौन्दर्यको गहनता बोकेको हुनाले अन्य विधाको तुलनामा कम लोकप्रिय हुन सक्छ तर कवितामा रस बसेपछि मानिसले कविता नै पढ्छ, गद्यमा पनि काव्य खोज्छ । त्यस्तै गद्य बढी लोकप्रिय छ, गद्यले पाठकको निर्माण गर्छ, कविता मात्रै भइदिएको भए साहित्य पढ्ने पाठक कम हुन्थे होला † यसैले कविता र गद्यको तुलना उपयुक्त हुन्छ जस्तो लाग्दैन मलाई ।
नेपाली साहित्य विश्व साहित्यमा कहिले पुग्छ भनेर धेरै लेखक चर्चा गर्छन् । कहिले पुग्छ त ?
हेर्नुस्, यो कुनै मोटरगाडी वा जहाजबाट पुग्ने र यति किलोमिटर बाँकी छ भने जस्तो कुरा होइन । विश्व साहित्य भनेर केलाई भन्ने ? नेपाल राष्ट्रको परिचय विदेशमा पर्याप्त स्थापित भइसकेको छैन । बुद्ध र सगरमाथामाथि हामीले धेरै गर्व गरे पनि हामीले चिनाउन आफूलाई धेरै बाँकी छ भन्ने कुरा विदेश जाँदा थाहा हुन्छ । साहित्य राष्ट्रिय जीवनको एउटा अंगमात्र हो । जहाँसम्म हाम्रो साहित्यको स्तरको कुरा छ त्यो विश्वको कुनै पनि कुनाको साहित्यको तुलनामा गर्व गर्न लायकको छ । अहिलेको कुरै छाडौँ देवकोटा, लेखनाथ, सम, रिमालका सिर्जनालाई नै विश्वसामु लान सकेको भए हाम्रो छाती चौडा हुन्थ्यो । अनुवाद प्रचार–प्रसार र संस्थागतरूपमा हाम्रो साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न सक्ने हो भने हाम्रो परिचय गर्व गर्न लायककै हुन्थ्यो ।
माटो र साहित्यको सम्बन्ध के छ ?
माटो र साहित्यको गहिरो सम्बन्ध छ । साहित्यमा आउने मौलिकता माटोले निर्माण गर्छ । आफ्नो सभ्यता र संस्कृति बिम्ब र प्रतिकहरू समेत माटोकै देन हुन् जो हामीले लेख्ने साहित्यमा प्रतिबिम्बित हुन्छन् ।
अबका कविताले सम्बोधन गर्नुपर्ने विषय के–के हुन सक्छन् ?
मानिसले गुमाउँदै गएको चिज हो– हार्दिकता, सुख, आत्मियता त्यसलाई जोगाउनुपर्छ कविताले । मानिसमा बन्दै गएको असन्तुष्टि, निराशा र एक्लोपना छ । कविता अन्तस्करणको विषय हो– कविताले ऊर्जाको काम गर्नुपर्छ । आध्यात्मिक सम्बृद्धिविना मानिस सुखी हुँदैन भौतिकताले मात्र– कविताले त्यहाँ काम गर्नुपर्छ । नेपालको सन्दर्भमा राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भावको प्रवद्र्धन कविताका महत्त्वपूर्ण विषय हुनसक्छन् अहिलेलाई ।
कविता किन लेख्नुहुन्छ  ?
कसैलाई किन प्रेम गर्नुहुन्छ भनेर सोधेजस्तै जटिल प्रश्न भयो यो, कुनै स्वार्थविनाको प्रेम रहेछ भने जवाफ दिन गाह्रो हुन्छ । कविता त मेरो बाँच्ने जीवनशैली हो । रमेश क्षितिज भन्ने मानिस पनि यो दुनियाँमा छ है भन्नलाई लेख्छु सायद ।
कविताका शक्ति र सीमाहरू के–के हुन् ?
कविताले मानिसको अन्तस्करणमा छुन्छ, समाजमा न्याय र नैतिकतालाई अभिप्रेरित गर्छ । परिवर्तनकामी हुन्छ, सभ्यता र संस्कृतिको निर्माण गर्छ । यी शक्ति हुन् भने, गलत विचार बोकेको कविता, मानवीय प्रेम, आस्था र विश्वासलाई खण्डित गर्ने कविता, कविता हुन सक्दैन ती सीमा हुन् ।
अहिलेको कविताको स्वर के हो ?
अहिले कविताको स्ट्रिम हेर्ने हो भने नयाँ आइरहेका कविताको स्तर बहुल छ रंगीविरंगी इन्द्रेणीजस्तो । एकै समयमा विभिन्न स्वर, रङ र धारका कविता आइरहेका छन् ।
कविले कविताजस्तै जीवन बाँच्न सक्छ कि सक्दैन ?
कवि समाजको रोल मोडेल हो– उसको व्यवहारलाई समाजले नियालिरहेको हुन्छ । कवितामा एकथोक लेख्ने तर बाँच्नेशैलीचाहिँ अर्को हुँदा कुन कवि हो, कुन नेता हो मानिसहरूलाई कन्फ्युजन होला कि ?
देशमा सुरु भएको व्यापक राजनीतिक र सामाजिक रूपान्तरणको प्रक्रियामा साहित्यको स्वर निकै मधुरो सुनिन्छ नि ?
मलाई त्यस्तो लाग्दैन । राजनीतिक र सामाजिक रूपान्तरणको प्रक्रियामा साहित्य अग्रमोर्चामा रहेको पाउँछु म । विसं ००७, ०३६–३७, ०४६–४७, ०६२–६३ को ऐतिहासिक मोड बनाएर साहित्य अध्ययन गर्ने हो भने इतिहासले यही भन्नेछ ।
दसवर्षे जनयुद्ध साहित्यका लागि उर्वर भूमि थियो, हाम्रो साहित्यले यसको उपयोग कुन ढंगले गर्‍यो ?
युद्धका आर्थिक, सामाजिक र राजनीतिक प्रभाव थिए र छन् । साहित्यमा राम्ररी त्यसका कथा, व्यथा र विश्लेषणात्मक चित्र आउन सके जस्तो लाग्दैन छिटफुटवाहेक (घर फर्किरहेको मानिस) मा वार र पोष्टवारका चित्रात्मकता, बिम्ब घटना र चरित्र मैले पनि समेट्ने कोसिस गरेको छु । तर, जुन रूपमा समग्र साहित्यमा त्यो चित्रांकन हुनुपथ्र्यो, भएको छैन । इतिहासको त्यो महत्त्वपूर्ण कालखण्ड साहित्यमा आउनुपर्छ ।
समालोचनाको स्थिति के छ नेपालमा ?
समीक्षाभन्दा माथि उठेजस्तो लाग्दैन । युनिभर्सिटीतिर कोर्समा पढाइचाहिँ हुन्छ क्यारे । समालोचना छ भने पनि सेमिफाइनल स्तरको छ, आ–आफ्नो वर्ग सम्प्रदायजस्तो कुनै ग्रुपको समालोचकको कुन कवि, उपन्यासकार भनेजस्तो छ । समालोचकहरू इतिहास पढ्नमै व्यस्त भएजस्तो शास्त्रीय प्रेमको पिँजडामा नै बन्द भएजस्तो लाग्छ ।
एउटा सुन्दर कविता लेखिसकेपछि सबैभन्दा पहिले तपाईंको आफ्नै प्रतिक्रिया कस्तो हुन्छ ?
शायद, कुनै आमाले सुन्दर सन्तान जन्माएजस्तो †
कविताले जिन्दगीका सुख–दु:ख इरेजरले जस्तै मेट्न सक्छन् कि सक्दैन ?
सुख त किन मेट्नु र दीपकजी † साहित्यले जीवन बाँच्ने कला सिकाउँछ । दु:खहरूलाई स्वाभाविक रूपमा ग्रहण गर्न जान्नु पर्दछ । र मनभित्र ऊर्जा र शक्ति दिने काम साहित्यले गर्छ ।
कविता, कविता हुन के–के चाहिन्छ ?
कविता कला र विचारको सुन्दर संयोजन हो । भाषाको सौन्दर्य कवितामा चाहिन्छ । वितार त राजनेताको भाषामा पनि हुनसक्छ तर त्यो कविता होइन । काव्यिक नभई शब्दहरूको अनुप्रास र गुजुल्टो कविता बन्छ जस्तो लाग्दैन मलाई ।
तपाईंका कवितामा सवाल्र्टन स्वरहरू कत्तिको शक्तिशाली छन् ?
यो विषय र त्यो विषय, यो वाद र त्यो वाद भनेर कविता लेख्दिनँ म । सस्तो लोकप्रियता हासिल गर्ने भनेर पनि म लेख्दिनँ । म सच्चा ‘कवितावादी’ कवि हुँ । मेरा कवितामा म बाँचेको समय, मेरा वरिपरिका चरित्र र चित्रहरू, सल्वार्टन र सीमान्तकृतहरू, सामाजिक र राष्ट्रिय उथलपुथल सबै छन् भन्ठान्छु म ।
‘घर फर्किरहेको मानिस’को मुख्य पात्र को हो ? यसको रचनागर्भ बतादिनुस् न ।
मेरो संग्रहमा ‘घर फर्किरहेको मानिस’ नामको कुनै कविता छैन । क्यान्टोन्मेन्टबाट घरतिर फर्किरहेको लडाकु, विदेशबाट घर फर्किरहेको श्रमिक, मजदुर, बाहिरबाट आपैँmतिर फर्किरहेको आध्यात्मिक मानिस सबै छन् ।
‘नाटक हेरेर घर फर्किरहेको एउटा दर्शक’ कविता ०५९–६० तिर एकदिन प्रज्ञा प्रतिष्ठानको एउटा कार्यक्रमबाट फर्किंदै गर्दा हिँडेर अबेर रातमा बानेश्वर जानुपर्‍यो । त्यसबेला मनमा आएका कुराहरू त्यो कवितामा छन् ।

प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय