दुई महान् त्रासदी

विश्व ग्राममा पैसा र ईश्वर दुवै किन यति शक्तिशाली छन् ? यो प्रश्न प्राय: जसो सूर्य उदाएभैँm उदाइरहन्छ मस्तिष्कको क्षितिजमा । यस तथ्यलाई पूरै बेवास्ता गरेर असम्पृक्त बाँच्न पनि सकिँदैन । यद्यपि, ईश्वर मानिसको आत्मिक र पैसा भौतिक आविष्कार थियो तर मानिसका आविष्कारहरू मानिसमाथि नै निमर्मतापूर्वक हावी हुँदै गइरहेको देख्छु र कहिलेकाहीँ अलिक अत्तालिन्छु ।
ईश्वरहरू अत्यन्त शक्तिशाली र क्रूर छन् । उनीहरू मानव र मानवीयताको विपक्षमा अद्यावधि छन् र भइरहने छन् । प्रमिथस र सिसिफसका उदाहरणहरू पर्याप्त छन् । मानिस ईश्वर–सत्ताबाट मुक्त हुन सकिरहेको छैन । हाम्रा अनन्त कोसिसहरू सिसिफसका निरर्थक श्रमजस्ता भएका छन् । विश्व–राजनीतिमा बेलाबेलामा अस्तित्वगत क्रूर शासनहरूभन्दा बढी घातक र खतरनाक छ– हामीले स्विकारिरहेको ईश्वरीय शासन । राजनीतिक शासनहरूले मान्छेको शरीरको हत्या गरिरहेका छन् जब कि ईश्वरीय सत्ताले त मान्छेको मानसिक हत्या नै चाहिरहेका छन् । शरीरमा लागेको चोट निको हुन सजिलो छ र त्यसको लागि खासै लामो समय पनि लाग्दैन, मस्तिष्कमा लागेको चोट निको हुन धेरै गाह्रो र समय लाग्ने हुन्छ । तर, हामीहरूले चुपचाप नै त्यसलाई सहिररहेका छौँ । ईश्वरीय सत्तासँग हामीहरूले मौन रूपमा सम्झौता नै गरिरहेका छौँ ।
केही सीमित देवदेवता, आस्था र केही सीमित परम्पराहरूबाट सन्तुष्टि प्राप्त गर्न सक्ने हाम्रो पुरानो स्वभाव यथावत नै छ । त्यसैकारण दार्शनिक जे. कृष्णमूर्ति हामीहरूलाई ‘सेकेन्ड ह्यान्ड मानिस’ भन्छन् । आफ्नै ईश्वर, धर्म र संस्कृतिका सम्मोहनमा लठ्ठ परिरहेका हामीहरूलाई त्यसैकारण ओशो ‘नार्सिससका बोटहरू’ भन्छन्, खै हाम्रो मौलिकता ? खै हाम्रो बाँच्ने विशुद्ध मानवीय शैली ? मलाई लाग्छ, हाम्रा सोच र विचारहरू ‘सेकेन्ड ह्यान्ड’ होउन्, ‘अमौलिक’ होउन्, त्यो त्यति समस्याको विषय होइन । सोचविचारहरू प्राय: अमौलिक नै छन् । तर, मानिसको सम्पूर्ण सत्ता नै ‘सेकेन्ड ह्यान्ड’ र ‘अमौलिक’ भयो भने त्यो भन्दा ठूलो उपहास हाम्रो लागि सायदै अरू हुन सक्ला । यति विशाल विश्व ब्रह्माण्डमा प्रकृतिले मानिसलाई जुन मौलिकता दिएको छ, त्यसमा त्यही दिनदेखि नै मैला लागेको छ, जुन दिन मान्छेले कायरतावश ईश्वरको आविष्कार गर्‍यो ।
एकातिर ईश्वरले हामीलाई ‘अमौलिक’ बनाइरहेको छ भने, अर्को तर्फ पैसाले हामीलाई दास बनाउँदै गइरहेको छ । कदाचित ईश्वरको दासताबाट मानिस फुत्कियो भने ऊ पैसाको शासनबाट डसिन अभिशप्त छ । यो हाम्रो युगको अर्को ठूलो त्रासदी हो । उच्चतर विकसित गर्दै गइरहेको पुँजीवादले हाम्रा प्रत्येक अंगअंगको मूल्य तोकिरहेको छ । वित्तीय रूपमा मान्छे स्वयं मुद्रा भैँm ‘वस्तु’ मा रूपान्तरित भइरहेको छ ।
हारोल्ड जे. मोरबिजको एउटा कथा अत्यन्त घतलाग्दो छ– ‘सिक्स मिलियन डलर मेन’ शीर्षकको । एक दिन लेखकले आफ्नी छोरी र ज्वाइँबाट ‘जन्म दिनको कार्ड’ प्राप्त गर्छन्, जसमा लेखिएको हुन्छ, ‘बायो–केमिस्टका अनुसार मानव शरीर निर्माण गर्ने सम्पूर्ण वस्तुको रकम सन्तानब्बे सेन्ट मात्रै हुन्छ ।’ लेखकलाई त्यस कुराले आश्चर्य र चिन्तित तुल्याउँछ । त्यो तथ्यले उनलाई गहन अध्ययन र अनुसन्धानतर्फ आकर्षित गर्छ । उनले मानव शरीर निर्माणमा आवश्यक तत्त्वहरू र तिनीहरूको मूल्यसूची पत्ता लगाउँछन् । मानव–शरीरमा पाइने तत्त्वहरू (जस्तो हेमोग्लोबिन, ट्राइटसिन, इन्सुलिन, अल्कालाइन फस्फेट, एनएडिपी, बिलिरुबिन, कोलोजन, आल्बुमिन,  फोसिलाइल, स्टिमुलेटिङ हार्मोन) इत्यादिको आवश्यक समिश्रण (लेखकको १६८ पाउन्डको शरीरको लागि– ६८ प्रतिशत पानी बाहेक) को जम्मा मूल्य छ खरब अमेरिकी डलर पुग्छ । लेखकले यसबाट के निष्कर्ष निकाल्छन् भने एउटा बायो–केमिकल कम्पनीको मुनाफा एउटा सिंगो मानिसको मूल्यभन्दा अत्यन्त कम हुन्छ । त्यसैले मानिसलाई किन्न असम्भव छ । एउटा कम्प्युटर विज्ञानले मानव शरीरका विभिन्न तत्त्वहरूको अध्ययन गरेर त्यसको मूल्य निकाल्न सक्ला तर मानव शरीरमा त यी तत्त्वहरू मात्र नभएर मस्तिष्क छ, चेतना छ, सिर्जनात्मक क्षमता छ– जसको कुनै मूल्य तोक्न सकिँदैन ।
एउटा ठट्यौलीबाट प्रारम्भ भएको उक्त कथा अन्तत: यति गहन निष्कर्षमा पुग्छ । हाम्रो विश्व ग्राममा यस्ता धेरै कम्पनीहरूको तीव्रतर विकास भइरहेको छ र तिनीहरू मानव शरीरको मूल्य आँकलन गर्न हरदम कस्सिरहेका छन् ।
‘मानव जीवन अत्यन्त मूल्यवान् छ’ यो अति प्राचीनतम उक्ति हो तर प्रत्येक युगमा यसको प्रासंगिकता यथावत् छ । तर, विश्वले तीव्र विकास भइरहेको प्रविधिको सहायता लिएर स्वयं मानिसलाई वस्तुलाई भैँm मूल्य दिने धृष्टता गरिरहेको छ ।
मेरो पैसासँग कुनै दुस्मनी छैन तर त्यससँग मेरो मित्रता पनि छैन । पैसासँगको मित्रता सापेक्षित रूपमा बढी घातक छ भन्ने लागिरहन्छ सधैँ । महाकविको कविता पंक्ति ‘हातका मैला सुनको थैला के गर्नु धनले’ रट्दै बाल्यकाल बिताएकोले पनि त्यसको गहिरो प्रभाव अझै महसुस भइरहन्छ ।
अहिले विश्वमा पैसाको  मूल्यलाई मानव जीवनको मूल्यभन्दा बढी मान्यता दिने प्रतिस्पर्धा भइरहेको छ । पैसाले मान्छेलाई रिमोट कन्ट्रोलले टिभी च्यानलहरू परिवर्तन गरे भैँm आफ्नो बसमा पारिरहेको छ । हामीहरू अचेतनमा उसका घातक निर्देशनहरू पछ्याइरहेछौँ । रोबोटिक्सको इतिहासको बारेमा कतै एक कथा पढेको थिएँ । एक वैज्ञानिकले थुप्रै रोबोटहरू निर्माण गरे र तिनीहरूको सामूहिक प्रदर्शनीमा नागरिकहरूलाई आमन्त्रण गरे । नागरिकहरू उत्सुकतापूर्वक प्रदर्शन हेर्न जम्मा भए । बडा गर्वका साथ जब ती वैज्ञानिकले फलामको हाडमासुले बनेको एउटा रोबोटलाई प्रदर्शनको निम्ति आदेश दिए, त्यो रोबोटले सरासर गएर ती वैज्ञानिकको नै घाँटी अठ्यायो र उनलाई निर्ममतापूर्वक मार्‍यो ।
पैसा त्यही रोबोट हो, जसले हाम्रो साँघुुरो स्वास नली भएको कोमल घाँटी फलामका मजबुत हातहरूले पलप्रतिपल आठ्याइरहेको छ । पैसा त्यही आविष्कार हो जो हरेक प्रदर्शन स्थलहरूमा हाम्रो हत्या गर्ने प्रयास गर्दै छ । मान्छेले आपैँmले सृष्टि गरेको एक वस्तुले स्वयं मान्छेलाई समाप्त पार्ने कोसिस गरिरहेको छ । विचारणीय के छ भने, हामीले त्यसको सही सदुपयोग गर्न सकिरहेका छैनौँ । त्यसलाई सही रूपमा मूल्य दिन सकिरहेका छैनौँ । त्यो त हाम्रो मूल्यभन्दा पनि बढी मूल्यवान् हुँदै गइरहेको छ ।
प्रारम्भमा ईश्वरलाई हामीले स्थापित गर्‍यौँ र उसलाई हाम्रो मूल्यभन्दा मूल्यवान् ठान्यौँ । अहिले पैसालाई पनि त्यही मूल्य दिइरहेका छौँ । यो नै हाम्रो समयको महानतम त्रासदी हो ।

प्रतिक्रिया