जन्मेपछि मर्नुपर्छ भन्ने कुरा हो रहेछ र, होइन पनि रहेछ । वास्तवमा जन्म र मृत्युको अन्तरालमा हामी आफू जे भएका र बनाइएका हुन्छौँ, त्यो ज्ञानको अनुभव र अनुभवको ज्ञानले हामीलाई बोध गराउँदोरहेछ । त्यसपछाडि मात्र हामीले जन्म र मृत्युको वास्तविकता थाहा पाएर ढुक्क भएर भन्न सक्दा रहेछौँ, जन्मेपछि मर्नु अथवा मर्नै पर्छ…। नत्र, आशय नै नबुझेर ताली बजाएको जस्तो हुँदो रहेछ । शब्दमा तालमदले भनेको कुरा सम्झन्छु, ‘हामी कुनै वस्तुलाई ती जे छन् त्यसरी हेर्दैनौँ, बरु हामी जे छौँ त्यसरी हेर्छौं ।’
यतिबेला मलाई जजी सम्झना हुन्छ । ऊ एउटा अत्यन्त राम्रो नृत्यकार थियो । त्यसबेलाको दार्जिलिङमा ‘नौलाख तारा उदाए’ गीतले मलाई दिन थालेको लोकप्रियता भर्खरै दुई/तीन वर्ष मात्र पुगेको थियो । त्यहीबेला जजीसँग मेरो परिचय साटासाट भएको थियो, मैले उसको नृत्य हेरेर र उसले मेरो गीत सुनेर । जजीका बाबु बंगाली र आमा तिब्बती भएको दुर्लभ संगमको परिणामले होला, उसले आफ्नो रूपमा अखण्ड सौन्दर्य पाएको थियो । मलाई व्याकरणले क्षमा दिन्छ भने केटाको हैसियतले म उसलाई राम्रो र केटीको हैसियतमा राम्री नभनेर ‘राम्रिनी’ भन्न चाहन्छु । उसमा भएको त्यो अनुपम सौन्दर्य प्रकृतिले अथवा सृष्टी संरचनाले दिएको वरदान अथवा अभिशापले भए पनि हाम्रो सामाजिक दृष्टिले ऊ न केटा न केटी भएर ‘हिँजडा’ ठहरिएको थियो ।
सबै प्रकारको नृत्यमा ऊ प्रवीण भए पनि उसको विसंगत रुचि कत्थक नृत्यमा थियो । दार्जिलिङ छँदा धेरैचोटी उसको पर्फमेन्स हेर्ने सुयोग मलाई जुरेको थियो । म उसको ताल, ज्ञान, लयकारी, भावभंगी, बोलचाल आदिको अखण्डित प्रस्तुतिले चकित हुन्थेँ । उसको पहिलो प्रदर्शनीबाटै प्रभावित भएर म उसलाई बधाई दिन स्टेजमा पुगेको थिएँ । रंगमंचदेखि सुरु भएको हाम्रो संसर्ग बिस्तारित हँुदै आवतजावत र भेटघाटमा पुग्न थालेको थियो । कहिलेकाहीँ हामी लामो कुराकानी पनि गथ्र्यौं । एकसाँझ हामी मालरोड घुम्दै गर्दा उसले भनेको एउटा कुराको सम्झना र त्यसमा एकैसाथ आज पनि मलाई पछुतोबोध भइरहेको छ । उसले भनेको थियो, अथवा उसले भनेकी थिई (कत्रो फसाद †), ‘तपार्इं एउटा ब्याले संगीत बनाउनुहोस् †’ यति भनेर जजीले एउटा लामो फन्को मारेको मलाई अझै सम्झना छ भने पछुतो यसकारण छ कि मैले क्यानटेटा र क्याबरहरू रचेको छु तर आजपर्यन्त मैले ब्याले संगीतको रचना गरेको छैन ।
एकपटक जिमखाना क्लबमा आयोजित फूल प्रदर्शनीमा म पनि सरिक भएको थिएँ र, साँझमा एउटा पार्टीको पनि आयोजना भएको रहेछ । जलपान वितरण कार्यक्रममा म देख्छु, जजी साडीमा सजिएकी छिन् † वास्तवमा भन्ने नै हो भने नारी पहिरनमा ऊ अत्यन्तै मोहक र प्रखर सुन्दरी प्रतित हुन्थ्यो । त्यो उसको सुन्दर अनुहारको कोमलता मात्र नभएर उसको अंग–प्रत्यंगमा भएको नारीजनित सौन्दर्यले हिन्दीमा भनेभैँm अर्को चाँदनी थपिदिएको थियो । तर, मलाई यो सबै सह्य हुँदैन थियो । मानौँ, म कुनै त्यस्ती सुन्दरी पत्नीको यस्तो पति हुँ जसको पत्नी वा प्रेमिकालाई अरूहरूले हेरेको मात्रै पनि असह्य हुन्छ । वास्तवमा मैले जजीलाई प्रेमिका त के त्यसको एककुनाले पनि हेरेको थिइनँ । मेरो त्यसबेलाको अबोधता भन्दा पनि ठूलो गल्ती के हो भने उसमा जनित द्वैध व्यक्ति वा चरित्रलाई म ‘न्युट्रल’ गराउन चाहन्थेँ । आज सम्झन्छु, कत्रो र कति ठूलो दुस्साहस गरेछु मैले । र, त्यति बेलाको रन्कोले कसैलाई केही नभनी म क्लबदेखि बाहिरिएर घर पुगेछु ।
त्यसपछाडिका दिनहरूमा जजीले जसरी मेरो कन्सर्टहरू बिराउँदैनथ्यो, त्यसरी नै म पनि उसको नृत्य हेर्न चुक्दिनथेँ । यतिसम्म कि ऊ स्वयं टिकट लिएर मलाई भन्थ्यो, ‘दाजु, तपार्इं त आउनै पर्छ । तपार्इं आउनुभएन भने सत्ते म नाच्दै नाच्दिनँ ।’
धेरै दिनसम्म जजी र मेरो भेट भएन । सुन्थेँ, जजीले रक्सी खान थालेको छ रे † कुन ठूलो कुरा हो र ? म पनि पिउँछु, नभए पनि बेलाबखत रक्सी खान थालिसकेको थिएँ । एकरात साँझ ढलेर आठ बजेतिर होला, जजी हाम्रो त्यसबेलाको आर्ट अकादेमीको कक्षामा आइपुग्छ । आफ्नो ब्याग र एउटा सानो पोको एउटा मेचमा राखेर म उठ्दा नउठ्दै उसले मलाई ढोगिसकेको हुन्छ ।
म भन्छु, ‘जजी, मलाई तिमी नढोग ।’
‘किन ? तपाईंलाई ढोग्नु नराम्रो हो र ?’
‘मैले नराम्रो भनेको होइन तर कसैको चरण छुनु भनेको चानचुने कुरा नभएर एकदमै ठूलो कुरा हो । देवतापछाडि मातापिता र गुरुलाई मात्र ढोग्नुपर्छ । म तिम्रो न त मातापिता, न गुरु नै हुँ ।’
‘तर, मैले तपाईंलाई मातापिता र गुरु नै मानेको छु । मलाई तपार्इंमा बास दिनुहुन्न ?’
उसको यो भनाइले म यत्ति बिर्दिण हुन्छु कि मेरो कण्ठ रुद्ध हुन्छ । केहीछिन पछि म बल गरेरै भन्छु, ‘आज तिमी रक्सी खाएर आएजस्तो छौ ।’
अनि हाँसोको ठूलो फोहोरा छुट्छ भनेर होला, उसले दुवै हत्केलाले मुख थुनेर हाँसोलाई कम पार्छ र, भन्छ—‘त्यो दिन तपाईं जिमखानाबाट गएपछि मेरो संसारै अँध्यारो भयो । जलपानपछाडि नृत्यको कार्यक्रम भएकाले उनीहरूले मलाई जबरजस्ती सारी पहिर्याइदिएका थिए । म यत्ति रोएँ, यत्ति रोएँ र, नाच्न पनि सकिनँ । त्यसपछि तपाईंलाई भेट्न मलाई आँटै आएन । र, आज रक्सीको भरमा आँट गरेर तपाईंलाई भेट्न आएँ । तपाईं महान् हुनुहुन्छ, अम्बर दाज्यु † तपार्इं साँच्चै महान् हुनुहुन्छ । म उसलाई आश्वासनको खोक्रो शब्दमा भन्छु—‘जजी, म महान् होइन, तिमी महान छौ ।’
गर्जेको स्वरमा ऊ भन्छ, ‘म कसरी महान् ? तपार्इंजस्तो मान्छेलाई यस्तो झूटो कुरा भन्न सुहाउँदैन, पटक्कै सुहाउँदैन । मलाई महान् नभनेर, तुच्छ भन्नुहोस् ।’ यति भनेर यहाँनेर ऊ केहीबेर रुन्छ । म पनि उसलाई चुप नगराएर रुन दिन्छु र, केही बेरपछि ऊ भन्छ—‘म समाजबाट, परिवार र रिस्तेदारदेखि अपमानित र तिरस्कृत † न पुरुष, न नारी नै हुन सकेको विडम्बनाको रचनामा परेको एउटा पशु मात्रै हुँ । एउटा कुरा तपार्इंलाई नै भन्छु भनेर पनि म आज रक्सी खाएर आएको हुँ । तपाईंलाई थाहा छ, म तपार्इंलाई ठूलो श्रद्धा, इज्जत र आदर गर्छु । तर, तपाईंलाई थाहा नहोला, सबैभन्दा अघि बढेर म तपार्इंलाई प्रेम गर्छु र, अर्को जुनी हुन्छ भने म तपाईंलाई अझ झन् बढी माया, प्रेम गर्ने तपाईंकी प्रेयसी भएर जन्मन पाउँ । अब, म यस्तो फोहोर र गलीच ठाउँमा बस्दै बस्दिनँ । तर, तपार्इंलाई भने विशेष केही फरक पर्दैन । किनभने हामी जस्तालाई घोप्टो पर भन्ने र घोप्टो पार्न खोज्नेहरू भन्दा तपार्इं धेरै माथि र चोखो हुनुहुन्छ । त्यसपछाडि जजी साँच्चै नै हरायो—कहाँ गयो, के भयो केही वास्ता भएन । हुँदैन पनि रहेछ । त्यसपछाडिको कथा कुनै दिन भनौँला ।
प्रतिक्रिया