राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

पोखरा २२, मंसिर । राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ । मेलाको उपप्रधानमन्त्री तथा गृह मन्त्री विजयकुमार गच्छेदारले एक समारोहबीच उद्घाटन गरेका हुन् । लगानीको संवद्र्धन : उद्योग व्यवसायको प्रवद्र्धन भन्ने मूल नाराको साथ सुरु भएको महोत्सव १ पुषसम्म सञ्चालन गरिने कार्यक्रम छ ।

मेलामा अत्याधुनिक डोममा निर्मित विशेष प्रकारका स्टल सहित दुई सय ६७ स्टल रहेका छन् । तीमध्ये डोममा ७८, रेस्टुरेन्ट १५, अटो ४५, मेड इन नेपाल पेभेलियनमा २०, पोखराका उत्पादन, पर्यटन, कृषि तथा हस्तकलामा ४०, फ्लोरिकल्चरमा आठ र बाँकी साधारण स्टल रहने छन् । यो वर्षको मेलामा चीनमा उत्पादित सामग्रीको प्रदर्शनीका लागि १० स्टलमा चाइना पेभेलियनको व्यवस्था गरिएको आयोजकले बताए । मेलाको मुख्य आकर्षणमा औद्योगिक तथा व्यापार मेला, हस्तकला , कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्रसरकारी संघ, संस्थाको गतिविधिको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, शृंगारका सामानको बिक्रीवितरण रहेका छन् ।
साथै मेलाको थप आकर्षणतर्फ लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त ब्यान्डको सांगीतिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, प्रवेश टिकटमा दैनिक रूपले पुरस्कारको व्यवस्था, उत्कृष्ट स्टललाई पुरस्कार, चमेनागृहको व्यवस्था, बालउद्यान तथा साथमा स्थापित हास्य कलाकारद्वारा मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको छ ।
मेलाका ८५ प्रतिशत स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ । मेलाको तीन लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको मेला सम्पन्न गर्न ९० लाख खर्च लाग्ने र ३० लाख बचत हुने अनुमान गरिएको छ ।
मेलाबाट बचत भएको रकम सरकारको ५ विकास क्षेत्रमा १/१ वटा क्षेत्रीयस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने अवधारणाअनुरूप पश्चिमाञ्चल विकास क्षेत्रको पोखरामा निर्माण हुन लागेको क्षेत्रीयस्तरको प्रदर्शनीस्थल पोखरा प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता प्रदान गरी खर्च गरिने पोखरा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णमोहन श्रेष्ठले जानकारी दिए । मेला अवलोकनका लागि विद्यार्थीलाई ३५ रुपियाँ र सर्वसाधारणका लागि ५० रुपियाँ टिकटदर कायम गरिएको छ । टिकट बिक्रीबाट प्राप्त रकमबाट पोखरामा दमकल खरिदका लागि प्रतिटिकट दुई रुपियाँ, बालश्रम न्यूनीकरण कार्यक्रमका लागि एक रुपियाँ, महेन्द्रपुलस्थित सेती नदीमाथि झोलुंगे पुल निर्माणका लागि एक र सहारा क्लबले पोखराको दोविल्लामा निर्माण गर्नलागेको सहारा एकेडेमीलाई प्रतिटिकट एक रुपियाँ सहयोग प्रदान गर्ने संघले जनाएको छ ।
मेला सम्पन्न गर्न पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोइरालाको संयोजकत्वमा मूलआयोजक समिति र १७ वटा विभिन्न उपसमिति गठन भएका छन् । मेलाले पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पुर्‍याउने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया