प्यालेस्टाइन स्वतन्त्रता संग्राम र संयुक्त राष्ट्रसंघ

भर्खरै मात्र संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई नन मेम्बर अब्जरभर स्टेटका रूपमा मान्यता दिएको छ । यद्यपि, एक वर्ष अघि सन् २०११ सेप्टेम्बरमा प्यालेस्टाइनले संयुक्त राष्ट्रसंघ समक्ष सदस्य राष्ट्रको रूपमा मान्यता पाउँ भनी हालेको निवेदनलाई अस्वीकृत गरेको थियो । गत ३० नोभेम्बरका दिन संयुक्त राष्ट्रसंघमा भएको मतदानमा बहुमतले प्यालेस्टाइनलाई अलग राष्ट्रका रूपमा मान्यता दिने भन्ने पक्षमा मतदान गरेको थियो । तथापि, संयुक्त राष्ट्रसंघले संयुक्त राज्य अमेरिकाको भिटोका कारण नन मेम्बर अब्जरभर स्टेटको रूपमा मात्र मान्यता दिएको छ । त्यति सम्म मात्र भए पनि प्यालेस्टाइनको स्वतन्त्रता संग्रामको जितको पहिलो खुड्किलो हो भन्दा अत्युक्ति हुने छैन भने संयुक्त राष्ट्रसंघको पनि एक साहसिक कदम मान्नु पर्छ । संयुक्त राष्ट्रसंघको यो कदमलाई युरोपियन युनियनलगायत अन्य विकसित मुलुकहरूले पनि स्वागत गरेका छन् ।
‘हाम्रो प्यालेस्टाइनमा रोमनहरूले राज्य गरे, पर्सियन अर्थात् फारसीहरूले राज्य गरे, इसाईका युद्घनायकहरूले राज्य गरे र बेलायतीहरूले पनि राज्य गरे । ती सबै टिक्न सकेनन् , यस्तैगरी इजरायलीहरू पनि यहाँका होइनन् भन्ने कुराको इतिहास र भूगोल साक्षी छ ।’ हमास पार्टीको घोषणापत्रबाट । यदि, हमास पार्टीको घोषणापत्रलाई ध्यान दिएर पढ्ने हो भने प्यालेस्टाइन कहाँ पर्छ र कसको हो भन्ने प्रश्नको उत्तर पाउन कठिन पर्ने छैन । हामीले चिन्ने प्यालेस्टाइन पश्चिमी जोर्डन राज्य हो । प्यालेस्टाइन भनेको यति मात्र नभै पौराणिक इजिप्टको इतिहास अनुसार मध्ये समुन्द्रतटको दक्षिणपूर्वी तटबाट लगभग आजका राज्यहरू इजरायल, पूर्वी जेरुसलम, गाँजा क्षेत्र, पश्चिम जोर्डन राज्य हँुदै अहिलेको जोर्डन पर्दछ । यी राज्यहरू ऐतिहासिक र धार्मिक रूपमा असाध्यै महत्त्वपूर्ण थिए र अझ सम्म पनि यथावत छन् । यी राज्यहरू
मा यहुदी, इस्लाम र इसाईहरूले आ–आफ्ना धर्म फैलाएका थिए ।
कसको हो त प्यालेस्टाइन ?
प्यालेस्टाइनको स्वतन्त्रताका लागि प्रथम युद्घ सातौँ सताब्दीमा भएको प्रमाण भेटिन्छ । उक्त युद्घको नेतृत्त्व दोस्रो कालिफन उमार इब्रन अल चटावले गरेको कुरा प्यालेस्टाइनको इतिहासमा भेटिन्छ । त्यसबेलाको स्वतन्त्रता संग्राम टेम्पलबर्गसम्म पुगेको पाइन्छ ।त्यस पछि पनि प्यालेस्टाइनमा यहुदी, इसाई र मुसलमानहरू रहँदै बस्दै गरे । बेला बेलामा एकआध झडपहरू भइरहन्थे तर ११ औँ शताब्दीसम्म त्यती ठूला झपडहरू भएनन् तर ११ औँ शताब्दीको अन्ततिर रोम इसाईहरूका युद्धनायकहरू संसार ब्रह्मलुट गर्दै चाहार्न थाले । यसक्रममा उनीहरू प्यालेस्टाइन पुगे तब उनीहरूले थाहा पाए कि एउटा खोँच परेको समुद्रको तटमा रहेको प्यलेस्टाइनबाट अन्य क्षेत्रमा आक्रमण गर्न, युद्ध छेड्न र लुक्न अनि आवतजावत गर्न सजिलो हुने भने । त्यस पछि उनीहरूले प्यलेस्टाइनलाई युद्धक्षेत्र बनाउने उद्देश्यले कब्जामा लिए । यतिमात्र नभई यी चलाख युद्धनायकहरूले प्यालेस्टाइनलाई विज्ञान, कला, दर्शनशात्र र साहित्य बाट भरिपूर्ण देखे । इस्लामहरूको यो सकारात्मक पक्षलाई यहुदी र इसाई युद्धनायकहरूले ईष्र्याका रूपमा हेर्न थाले र यसको विकासमा बाधा अड्चन हाल्ने योजनाहरू तयार पारे । खासगरी यसपछि आदिवासी प्यालेस्टाइन इस्लामहरू र पश्चिमा रोमन सभ्यताबीच द्वन्द्व सुरु भयो । यसबीच थुप्रै धर्मका नाममा युद्धहरू भए, जसमध्ये ३० वर्षे धार्मिक युद्ध जुन युद्ध इटलीबाट सुरु भएको भए पनि विश्वभरका जनतालाई प्रभाव पार्‍यो । यद्यपि, यो युद्ध रोमन क्यथोलिकहरूका बीचको नितान्त धार्मिक भनिए पनि यसले प्यालेस्टाइनलाई नराम्रो गरी द्वन्द्वमा फसायो ।
प्रथम विश्व युद्घपछि संसारमा थुपै्र परिवर्तनहरू भए तर प्यालेस्टाइनमा विद्रोहको राँको निभेन । अर्कोतिर सन् १९३० र १९४० को दशकमा यहुदीहरूले युरोप र अमेरिकाबाट भूमिगत एवं गैरकानुनी रूपमा यहुदीहरू ओसारेर इजरायल र प्यालेस्टाइनका विभिन्न ठाउँमा बसोवास गराउन थाले । दोस्रो विश्वयुद्ध छेडियो । दोस्रो विश्वयुद्धक्रममा एकलाख भन्दा बढी यहुदीहरू प्यालेस्टाइन पुगेर यत्र तत्र छरिएर बसोवास गर्न थाले ।
सन् १९४५ र १९४६ मा यहुदीहरूले पटकपटक मुसलमान क्षेत्रमाथि आक्रमण गरे । उनीहरूको उद्देश्य के थियो भने जसरी भए पनि उक्त क्षेत्र (अहिलेको इजरायल)बाट प्यालेस्टाइनीहरूलाई भगाउने र आफ्नो एकछत्र राज्य गर्ने । त्यतिबेला बेलायती सरकारले समेत उनीहरूको उक्त आतंकको विरोध गरेका थिए र प्यालेस्टाइनी प्रहरीसँग संयुक्त काम गरेर यहुदीको शक्तिलाई कमजोर तुल्याउने प्रयाससमेत गरेका थिए, तर सफल भएनन् किनभने त्यतिबेला यहुदीहरूको भूमिगत मोर्चाको आक्रमणबाट बेलायती सैनिक ठूलो संख्यामा हताहत भएका थिए । तत्पश्चात् त्यहाँ कफ्र्यु लगाइयो । उक्त कफ्र्यु अवज्ञा गरेको कारण इज्याक रबिन पक्राउ परेका थिए । पछि उनी इजरायलको प्रधानमन्त्री समेत बने । यहुदीहरूको मोर्चा यति ठूलो भयो कि उनीहरूले सन् १९४६ पछि अमेरिकामाथि दबाब दिन थाले र भन्न थाले कि पोल्यान्ड र अन्य पूर्वी युरोपमा बसोबास गरेका यहुदीहरूलाई जर्मनी अथवा प्यालेस्टाइन(अहिलेको इजरायल)मा बसाइसराइ गराउनु पर्छ । अमेरिकी सुपरपावरले पनि यसै गर्न थाल्यो ।
सन् १९४७ मा बेलायतले भारतलाई तीन टुक्रामा विभाजन गरेर छाड्यो । भारत छोड्ने निर्णय बेलायतले सन् १९४५ तिरै गरिसकेको थियो तर उनीहरूले भारतलाई कसरी फुटाएर छाड्ने भन्ने निर्णय नभइसकेकाले झुन्डिइरहेका थिए । किनभने, बेलायतका लागि त्यतिबेला भारतीय उपमहाद्वीप भन्दा प्यालेस्टाइन महत्त्वपूर्ण लागेको थियो । इतिहासकारहरूका अनुसार समुद्रतटमा रहेको प्यालेस्टाइन बेलायतले आफ्नोलागि भौगोलिक र आर्थिक दृष्टिले महत्त्वपूर्ण देख्यो, दुवै राज्यलाई समाइराख्नु बेलायतलाई महँगो पर्ने भयो । बेलायतमा गरिबी बढ्दो थियो । लन्डनमाथि गरिबरूपी धुवाँको कालो मुस्लो निस्कन थालिसकेको थियो । यस्तो अवस्थामा बेलायतले प्यालेस्टाइनलाई मात्र समाइराख्नु आफ्नो भलो ठान्यो । तर, प्यालेस्टाइनी र यहुदीबीच भएको युद्धको राँको बेलायतसम्म मात्र होइन कि संयुक्त राष्ट्रसंघसम्म फैलिसकेको थियो । अप्रिल १९४७ मा संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनको एक भागलाई यहुदीहरूको र अर्को भागलाई अरबियनहरूको राज्यमा विभाजन गर्ने प्रस्ताव ल्यायो । प्यालेस्टाइनको विभाजनलाई पश्चिम युरोप र सोभियतसंघले मन्जुर गरे, यद्यपि प्यालेस्टाइनीहरूको संघर्षचाहिँ समग्र प्यालेस्टाइनलाई स्वतन्त्र राज्य बनाउने भन्ने उद्देश्यले प्रेरित थियो । यसरी बेलायतले प्यालेस्टाइनबाट पनि हात धुनु परेको थियो ।
प्यालेस्टाइन र इजरायलको विभाजन भइसकेपछि लगत्तै प्यालेस्टाइनमाथि यहुदीहरूबाट एक भयंकर आक्रमण भयो । जसबाट हजारौँ प्यालेस्टाइनीहरू मारिनुका साथै झन्डै तीनलाख प्यालेस्टाइनीहरू त्यहाँबाट धपाइए । भगाइएका प्यालेस्टाइनीहरूका घरहरूमा इजरायलीहरूद्वारा गैरकानुनी यहुदी आप्रवासीहरूलाई बसोवास गराइए ।
संयुक्त राष्ट्रसंघले गरेको प्यालेस्टाइनको विभाजन अन्तर्गत यहुदीहरूको राज्यको रूपमा अहिलेको इजरायल सन् १९४८ को मे महिनामा स्थापित भएको हो । यहुदीहरूले इजरायल राज्य प्राप्त गरिसकेपछि पनि प्यालेस्टाइनमाथि आक्रमण गर्न छाडेनन् । प्यालेस्टाइनीहरूका गाउँ र टोल खाली गराउँदै यहुदीहरूको बसोबास गराउन थाले । ती क्षेत्रहरू गाजा क्षेत्र, हायरजासीन र पश्चिम बैंकहरू हुन् । इजरायलीहरूले ५० र ६० को दशकमा जर्मनीबाट पर्याप्त मात्रामा हातहतियारहरू प्राप्त गर्न थाले, कतिपय खरिद गरेर र कतिपय दोस्रो विश्वयुद्धमा जर्मनीमा मारिएका यहुदीहरूको क्षतिपूर्तीको रूपमा ।
प्यालेस्टाइनमा इजिप्टका तत्कालीन राष्ट्रपति गमाल अबर नोसार र अहमद सकु आइरीको नेतृत्त्वमा १९६४ मा प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पिएल्ओ)को गठन भयो । पिएलओको गठन डेमोक्रेटिक फ्रन्ट अफ लिबरेसन प्यालिस्टिना, अरब लिबरेसन फ्रन्ट र पपुलर स्ट्रगल फ्रन्टको नामबाट प्यालिस्टिना र त्यस क्षेत्रको स्वतन्त्रताका निम्ति संघर्षरत संगठनको सहयोगबाट भएको हो । यसमा अरू थुप्रै साना संगठनहरूको सहयोग पनि रहेको छ । कतिपय उक्त संगठनहरूको अस्तित्व अहिलेसम्म पनि कायम रहेको छ र आ—आफ्नो ठाउँबाट संघर्षरत छन् ।
पिएलओको गठनको लगभग पाँच वर्ष पछि यासिर अराफात पिएलओको गुरिल्ला युद्धका नायक बने र उनले बाँध्ने फेटालाई प्यालेस्टाइनको चिन्ह भन्ने घोषणा गरे । युद्ध, संघर्ष र शान्तिवार्ताका विभिन्न उतारचढाव एवं समर्थन, आलोचना र समालोचनाका विभिन्न संघारहरू पार गर्दै यासिर अराफातले आफूले अन्तिम श्वास फेर्दासम्म पिएलओ र समग्र प्यालेस्टाइनको नेतृत्त्व गरे । अहिले प्यालेस्टाइनको स्वतन्त्रताको लडाइँका निम्ति हमास पार्टीले नेतृत्व गरिरहेको छ । हमासले पिएलओको धेरैजसो उद्देश्यहरूलाई स्वीकार गरेको छ ।

प्रतिक्रिया