जागिर छाडेर व्यवसायमा

काठमाडौं, २१ मंसिर । आफ्नो जीवन सुरक्षित बनाउन प्राय: सबैजना सरकारी जागिर रोज्ने गर्दछन् । आमाबाबुको चाहना छोराछोरी सरकारी जागिर खाउन् भन्ने हुन्छ । तर, धादिङका शिवप्रसाद अर्यालले भने सरकारी जागिर छाडेर वसायलाई रोजे ।

सरकारी जागिरले आफूलाई मात्र हुने अरूलाई केही गर्न नसकिने भएपछि उनी व्यवसायमा होमिएका हुन् । उनी भन्छन, ‘सरकारी जागिरबाट भविष्य नदेखिएपछि व्यवसायमा लागेँ ।’ ७ वर्षे सरकारी जागिरमा अर्यालले कत्ति पनि सन्तुष्टि लिन सकेनन् । विसं ०५४ मा नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका उनी ०६१ सालसम्म काम गर्दा शाखा अधिकृत भइसकेका थिए ।
सानैदेखि बिजनेस माइन्ड भएका अर्याल जागिर छाडेपछि एजुकेसन कन्सल्टेन्सीको विजनेसमा लागे । सरकारी जागिरबाट पैसा कमाउने नदेखेपछि बिजनेस गर्न थालेका अर्यालले छोटो समयमा नै सफलता हात पारे । सन् २००६ मा उनले चार साथीसँग मिलेर कमलादीमा इन्डो बल्र्ड एजुकेसन कन्सल्टेन्सी खोले । अहिले उनी सोही कन्सल्टेन्सीको प्रबन्ध निर्देशक छन् ।
इन्डो कन्सल्टेन्सी राम्रै चल्न थालेपछि सन् २००९ मा अन्य देशमा पनि विद्यार्थीलाई रायसल्लाह दिन उनीहरूले इन्डो बल्र्ड इन्टरनेसनल कन्सल्टेन्सी स्थापना गरे । त्यस कन्सलटेन्सीबाट अमेरिका, बेलायत, क्यानडा, अस्ट्ेरलिया, जापान र युरोपनियन देशमा पढ्नजाने विद्यार्थीलाई सल्लाह दिने गरिएको छ ।
भारतमा पढ्न जाने विद्यार्थीलाई फोकस गरेको सो कन्सल्टेन्सीमा सुरुदेखि नै विद्यार्थी आउन थाले । भारतमा पढ्नका लागि विद्यार्थीलाई रायसल्लाह दिने उनको पहिलो कन्सल्टेन्सी थियो । अहिले इन्डो कन्सल्टेन्सीमा भारत जाने विद्यार्थीको पहिलो रोजाइ बन्नपुगेको छ ।
‘हामीसँग भारतमा विद्यार्थी पठाउन थालेको लामो अनुभव भएकाले आकर्षण बढेको हो’, उनी बताउँदछन् । उनी विद्यार्थीको भर्ना गर्नेदेखिका अन्य काम गर्न कलेजमा पुग्छन् । जागिर छाडेपछि बिजनेस गर्ने सिलसिलामा भारतका दिल्ली, बंगलौर र चेन्नईजस्ता सहर घुमेको उनी बताउँछन् । उनी त्यतिबेला इन्टरनेसनल मार्केटिगसँग आबद्ध थिए । त्यहाँ उनले नेपाली विद्यार्थीले भोगेका समस्या प्रत्यक्ष हेर्ने अवसर पाए । उनले भारत पढ्ने विद्यार्थीले कलेजबारे थाहा नपाएर दु:ख पाएकाले अब त्यसो नहोस् भन्नाका लागि कन्सल्टेन्सी खोलेको बताए ।
अहिले उनको कन्सल्टेन्सीबाट हजारभन्दा बढी विद्यार्थी भारतका विभिन्न कलेजमा पढ्न गएका छन् । एक सय ४५ कलेज र ४० विश्वविद्यालयमा आफ्नो सहयोगले नै विभिन्न विषयमा विद्यार्थी अध्ययन गरिरहेको अर्याल बताउँछन् ।
कन्सल्टेन्सीबाट नर्सिङ, फार्मेसी, डेन्टल, इन्जिनियरिङका लागि विद्यार्थी भारत जाने गरेको उनी बताउँछन् । बढीजसो नर्सिङ र इन्जिनियरिङ गर्न विदेश जानेगरेको उनको अनुभव रहेको छ । विशेषगरी बैंगलोरमा बिएस्सी नर्सिङ पढ्न विद्यार्थी जाने गरेका छन् । पहिले छात्रा असुरक्षित भनेर अभिभावकले नपठाउने गरे पनि अहिले भने उतिकै संख्यामा जाने गरेका छन् ।
‘हामीले पठाएका छात्रा कोही असुरक्षित छैनन्,’ उनी भन्छन, ‘हामी सिधै कलेजसँग सम्पर्क राखेर विद्यार्थीलाई भर्ना गर्दछाँ र होस्टेलमा राख्छौँ ।’ नेपालका विद्यार्थीलाई अन्य देशभन्दा भारतमा अध्ययन गर्न सजिलो हुने उनको भनाइ छ ।
अध्ययन गर्न गएका विद्यार्थीका हरेक समस्या फेस गर्नुपरेकाले आफू उनीहरूको सेकेन्ड प्यारेन्टका रूपमा रहेको उनको अनुभव छ । उनी भन्छन, ‘विद्यार्थीलाई पनि एक सेकेन्ड घरमा आएजस्तो लाग्छ । विद्यार्थी नेपालमा शिक्षा महँगो र पढ्नको लागि सिट नभएकाले भारत जाने गरेको अर्याल बताउँछन् ।’ उनले नेपालमा पढाइ हुने कोर्सको भारतमा दुईतिहाई पैसा सस्तो पर्ने दाबी गर्छन् ।
कन्सल्टेन्सीबाट नै विद्यार्थीको कागजात तथा भर्ना प्रक्रियासमेत हुने गरेको उनको भनाइ छ । विद्यार्थी को कसरी पढिरहेका छन् भनेर ३/३ महिनामा अनुगमन पनि गर्ने गरेको अर्याल बताउँछन् । विद्यार्थी पढ्ने सहरमा उनीहरूले सम्पर्क मान्छे पनि राखेका छन् । जहाँ समस्या परेको बखत उनीहरू विद्यार्थीकहाँ पुग्दछन् ।
सरकारले राजदूतावास, कलेज र कन्सल्टेन्सीबीच त्रिपक्षीय सहमति गरेर पठाएमा विद्यार्थी समस्यामा नपर्ने उनको भनाइ छ । उनले सरकारले नेपाललाई शैक्षिक पर्यटनको आकर्षणको केन्द्रविन्दु बनाउनसके विदेशी विद्यार्थी पनि नेपालमा भित्र्याउन सकिने बताउँछन् । उनले आफूमात्र नभई ३० जनालाई रोजगारीसमेत दिएका छन् ।
प्रस्तुती: शरद शर्मा

प्रतिक्रिया