विश्व एचआइभी/एड्स दिवसका अवसरमा पश्चिमाञ्चलको क्षेत्रीय सदरमुकाम पोखरामा एड्स सम्मेलन आयोजना गरियो । सम्मेलनमा सहभागी संक्रमितहरूले एचआइभी/एड्सका बारेमा खुलेर छलफल गरे । एड्स सम्मेलनले सरोकारवाला मात्रै होइन, अधिकारकर्मी, सञ्चारकर्मी र सर्वसाधारण नागरिकको समेत ध्यान खिच्न सफल भयो । आयोजकले सो सम्मेलनमा भाग लिन सार्वजानिक रूपमा नै अपिल गरेका थिए । एड्स शब्द सुन्नासाथ नजिक जान डराउने र घृणा गर्नेहरूले पनि सम्मेलनमा भाग लिएर यसका बारेमा अझै जनचेतना आवश्यक भएको औँल्याए ।
डेढ दशक पहिला धवलागिरीमा पत्रकारिता सुरु गर्दा सञ्चारकर्मीले एचआइभी/एड्स संक्रमितलाई भेट्न खोज्दा तर्सिने अवस्था थियो । त्यतिबेला सञ्चार माध्यममा एचआइभी/एड्स विषय पनि समाचार बन्न सक्छ भन्ने सामान्य बुझाइ भएका पत्रकारहरूलाई संक्रमित भेट्नु कठिन काम थियो । गोप्य स्रोतका आधारमा भेट भए पनि सार्वजनिक नगर्ने शर्तमा उनीहरू सामान्य कुरा गर्न मात्र तयार हुन्थे । अधुरो रूपमा प्रकाशित र प्रसारित सञ्चार सामाग्रीले संक्रमितहरूलाई समाजमा थप पीडा दिन्थे र घृणा गर्ने अवस्था सिर्जना हुन्थ्यो । एचआइभी/एड्स डरलाग्दो प्राणघातक रोग, जीवनभर निको नहुने रोग हो र यो समाजमा नराम्रो काम गर्नेलाई मात्र लाग्छ भन्ने आम बुझाइ थियो । यसले गर्दा कतिपय पत्रकारहरू पनि एचआइभी/एड्ससँग सम्बन्धित विषय समाचार बन्न सक्दैन भन्ने बुझ्थे । त्यतिबेला कठिन मेहनतका बाबजुद संक्रमितमाझ पुगेर तयार गरिएको पर्वतस्थित धाइरिङ गाविसको एचआइभी/एड्ससँग सम्बन्धित एउटा समाचार सार्वजनिक भएपछि त्यसले धवलागिरीमा सनसनी फैलायो । धाइरिङलाई एड्स गाउँको संज्ञा समेत दिइएको थियो । एचआइभी/एड्सका कारण बाग्लुङमा जीवन गुमाएका चार जनाको समाचारले त्यतिबेला स्थानीय मात्रै होइन, राष्ट्रिय भनिएका सञ्चार माध्यममासमेत प्राथमिकताका साथ प्रकाशित र प्रसारित भएका थिए ।
विभिन्न गैरसरकारी तथा सरकारी संघसंस्थाहरूले पछिल्लो एक दशकमा गरेका जनचेतनामूूलक कार्यक्रमले एचआइभी/एड्सको बुझाइमा ठूलो परिवर्तन आएको छ । यो विषय आमसञ्चार माध्यमको लागि पनि चासो र खोजीको विषय बनेको छ । प्राय: सबै सञ्चार माध्यममा दैनिक रूपमा प्रकाशित र प्रसारित साना–ठूला समाचार, खोजमूलक र अनुसन्धानमूलक आलेख, सम्पादकीय र लेखरचनाले यही कुराको पुष्टि गर्दछन् । सञ्चार माध्यममा प्रकाशित र प्रसारित समाचारका कारण एचआइभी/एड्स संक्रमितले सेवा, सुविधा, सहयोग र अधिकार पनि पाएका छन् । यसले गर्दा एचआइभी/एड्स विषय विगतमा समाजमा चित्रण गरेजस्तो अवस्थामा रहेन । यतिखेर यो मुद्दा आर्थिक, सामाजिक र सांस्कृतिक विषयसँग जोडिएको छ, त्यसैले त विगतमा घटना प्रधान रूपमा पस्किएका सञ्चारसामाग्रीहरू अहिले संक्रमितहरूको अधिकार आर्थिक, सामाजिक र सांस्कृतिक समस्याको अन्तरवस्तुसँग जोडिएका छन् । त्यसप्रकारका सामाग्रीहरूले नै सञ्चार माध्यममा प्राथमिकता पाउन थालेका छन् । त्यसैले यो विषय बहुआयामिक पक्षसँग गाँसिएको मुद्दा बनेको छ ।
पछिल्ला तथ्यांकहरूलाई हेर्ने हो भने नेपालमा एचआइभी/एड्स संक्रमित दर बढिरहेको छ । नेपालमा एचआइभी/एड्स संक्रमित मुख्य कारणका रूपमा गरिबी, चेतनाको अभाव, अशिक्षा र द्वन्द्वलाई मानिएको छ । आफ्नो परिवारको जीवन निर्वाहका लागि रोजगारीको खोजीमा भारतलगायत खाडी मुलुकमा जानुपर्ने नेपाली युवाहरूको वाध्यता नै बनेको छ । रोजीरोटीका लागि यसरी विदेशिएका निर्दोष युवाहरूले पैसासँगै एचआइभी/एड्सलाई पनि सँगै बोकेर ल्याउने गरेको तथ्यांक छ । आफ्नो श्रीमान् एचआइभी/एड्स संक्रमित भएको जानकारी नपाउँदा ती दम्पतीका छोराछोरीहरू पनि संक्रमित बनिराखेको अवस्था अहिले पनि विद्यमान छ । किनकी भारत, खाडीमुलुक र अन्य मुलुकमा तल्लो तहमा श्रम गर्ने नेपाली युवाहरूको संख्या करिब ४० लाख रहेको आँकडा सरकारसँग छ । यसले पनि रोजगारीका लागि भारत र तेस्रो मुलुक जाने ग्रामीण क्षेत्रका युवाहरू र उनीहरूबीचमा हुने सुरक्षित यौन सम्बन्धको अभाव अहिले पनि ज्युँ का त्यँु रहेको छ । यससँगै नेपालमा एचआइभी/एड्स संक्रमित बढ्नुको अर्काे कारण विगतमा द्वन्द्वले बढाएको आन्तरिक विस्थापन पनि हो । गरिबी र आन्तरिक द्वन्द्वका कारण विस्थापित भई ज्यान पाल्नैका लागि यौन पेसा अगाल्ने महिलाहरू यसका प्रमुख कारण हुन् । त्यो सँगसँगै सोख र रमाइलोका लागि यौनसम्पर्कमा आकर्षित युवायुवतीबीच हुने असुरक्षित सम्बन्ध पनि कारणको रूपमा नै देखिएको छ । पछिल्लो पटक यौनकर्मी महिलामा गरिएको सर्वेक्षण अनुसार २० प्रतिशत महिलाहरू विस्थापित भएपछि आफ्नो जीविकोपार्जनका लागि यो पेसा अँगालेका भेटिएका छन् । नेपालको जनसंख्याको एकतिहाई युवा रहेका छन् । ती युवायुवती मध्ये २० वर्षसम्म उमेर समूहका झन्डै ६४ प्रतिशतले यौन सम्पर्क गरिसक्ने तथ्यांक दुई वर्ष पहिले स्वास्थ्य विभागले सार्वजनिक गरेको थियो । यसरी यौन सम्पर्क गर्ने मध्ये १५ प्रतिशले मात्र आफ्नो पहिलो सम्पर्कमा कण्डम प्रयोग गर्ने गरेको उक्त तथ्यांकमा उल्लेख छ । एचआइभी/एड्स रोकथाम गर्ने भरभर्दाे र सुरक्षित उपाय भनेको यौन सम्पर्क गर्दा कण्डम प्रयोग गर्नु हो । यौन सम्पर्कबाहेक लागुऔषध दुब्र्यसन, जोखिमपूर्ण व्यवहार, सुइको प्रयोग, रगतको प्रयोग पनि संक्रमित वृद्धिका कारण हुन् ।
वास्तवमा समतामूलक समाजको निर्माण र सामाजिक न्यायका लागि मात्रै नभई सञ्चार माध्यमको भूमिका समाजको हरेक क्षेत्रमा हुने गर्दछ । सञ्चार माध्यमको सकारात्मक भूमिका एचआइभी/एड्सको न्यूनीकरण र रोकथाममा पनि हुन्छ । सञ्चार माध्यमको सकारात्मक प्रयासले मात्र एचआइभी/एड्स संक्रमितहरू समाजमा पुन:स्थापित हुन सकेका छन् । एचआइभी/एड्स संक्रमितलाई भइरहेका दुव्र्यवहारलाई निर्मूल पार्न, उनीहरूलाई सहयोग र सेवा उपलब्ध गराउने वातावरण सिर्जना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । यसप्रति आम मानिसमा रहेको परम्परागत बुझाइ र दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याई एचआइभी/एड्सको नियन्त्रण र रोकथामका लागि पनि सञ्चार माध्यमले जनमत सिर्जना गर्ने काममा सशक्त भूमिका निर्वाह गर्न सक्छन् । त्यति मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा संक्रमितहरूका लागि आएका सेवा, सुविधा र सहयोगलाई सहज रूपमा संक्रमित र प्रभावितसम्म पुर्याउने वातावरण बनाउने कार्यमा पनि सञ्चार माध्यमको भूमिका हुन्छ ।
एचआइभी/एड्सका क्षेत्रमा कार्य गर्ने संस्थाहरूमा मौलाएको अपारदर्शिता र अनियमिततालाई हटाउनका लागि पनि सञ्चार माध्यम क्रियाशील हुन्छन् । यसको रोकथामको लागि सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने भएकाले यससँग सम्बन्धित सञ्चार सामाग्रीहरू प्रस्तुत गर्दा सञ्चारकर्मीहरू पनि त्यत्तिकै जिम्मेवारी बन्नुपर्छ । एउटा समाचारले कुनै व्यक्तिलाई थप पीडा, हेला, तिरस्कार र दुव्र्यवहार हुन सक्छ कि भनेर दोहोर्याई–तेहर्याई सोच्नुपर्छ । एउटा सञ्चारकर्मीले एचआइभी/एड्सको बारेमा जति गहन र गम्भीर रूपमा बुझेको छ, उसको सञ्चार सामाग्रीको प्रभाव पनि त्यसैमा निर्भर रहन्छ । एचआइभी/एड्ससँग सम्बन्धित सञ्चार सामाग्री तयार गर्दा निकै सजग र संवेदनशील बन्नुपर्छ । सबै सञ्चार सामाग्रीको उत्पादन सत्य, तथ्य र यथार्थपरक भएर नै त्यसमा शुद्धता, सन्तुलन र स्पष्टता हुन्छ । एचआइभी/एड्ससँग सम्बन्धित सामाग्रीको उत्पादनमा ध्यान दिनुपर्ने अर्काे पक्ष भनेको यसको भाषा सरल र आम मानिसले बुझ्ने खालको हुनुपर्दछ । एचआइभी/एड्स विशुद्ध रोगसँग मात्र जोडिएको विषय नभएर संक्रमितहरूसँग जोडिएर आएको विषय पनि हो भन्ने कुरा सधैँ स्मरण गरिराख्नु पर्दछ । एचआइभी/एड्स त अहिले विश्व राजनीति, अर्थतन्त्र र विकाससँग जोडिएर आएको एउटा सशक्त मुद्दा हो । यसबाट सञ्चार माध्यम मात्रै होइन, कोही पनि पन्छिन सक्ने अवस्था छैन ।
प्रतिक्रिया