बाइस गाविसमा चरम खाद्यान्न सङ्कट

ओखलढुंगा, १९ मंसिर । ओखलढुंगाको २२ गाविसमा खाद्यान्न संकट देखिएको छ । जिल्लामा गत वर्षभन्दा खाद्यान्न उत्पादनमा कमी आएपछि खाद्यान्न अभावको अवस्था सिर्जना भएको हो । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार गत वर्षभन्दा यो वर्ष मुख्य खाद्यान्न बाली धान र मकै उत्पादनमा कमी आएको हो ।
गतवर्ष जिल्लाभरि १७ हजार ९६ मेट्रिक टन धान उत्पादन भएकामा यो वर्ष १६ प्रतिशत घटेर १४ हजार ३६१ मेट्रिक टन मात्र धान उत्पादन भएको छ ।
त्यसैगरी यस वर्ष गतवर्ष २९ हजार दुई सय ५८ मेट्रिक टन मकै उत्पादन भएकोमा यो वर्ष १२ दशमलव ५ प्रतिशत घटेर २६ हजार ४१ मेट्रिक टन मात्र मकै उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक शंकर उपाध्यायले जानकारी दिए । पानी कम परेकाले यो वर्ष हिउदे बालीको उत्पादन पनि घट्ने निश्चित भएको छ । समयमा पानी नपरेकाले दाल तथा कोदोको उत्पादन २० प्रतिशतसम्म घट्ने कार्यालयले अनुमान गरेको छ ।
उत्पादन घटेपछि जिल्लाका ५६ गाविसमध्ये २२ गाविसमा यो वर्ष खाद्यन्न संकट हुने निश्चित भएको दाबी कार्यलयलका अधिकारीको छ । पूर्वमा दियाले, भदौरे, पात्ले, जन्तरखानीदेखि पश्चिमका खिजिफलाँटे, भूसिंगालगायतका गाविसमा यो वर्ष भएको उत्पादनबाट किसानका लागि पुस महिनाको दोस्रो साता मात्र खाद्यान्न पुग्ने देखिएको छ । ती २२ गाविसका किसानलाई आºनै बारीको उत्पादनबाट तीन महिनामात्र खान पुग्ने कार्यालयले गरेको सर्वेक्षणबाट देखिएको प्राविधिक उपाध्यायले बताए । बढी सुख्खा भएका केही गाविसमा विगतमा पनि खाद्यान्न संकट हुने गरेको भए पनि खेतीको याममा यस वर्ष पानी नपरेकाले २२ गाविसमा खाद्यान्न संकट हुने भएको हो ।
दियाले, भदौरे, पलापुजस्ता अति सुख्खा र खिजिकाति, पात्ले र भूसिंगाजस्ता अति हिमाली क्षेत्रमा खाद्यान्न बाली उत्पादनमा ५० प्रतिशतसम्म कमी आएको छ । सुख्खा गाउँमा हुने दाल उत्पादनबाट परिवार पाल्दै आएका दियाले, भदौरे तथा पलापुका किसान पुसपछि खाद्यान्न संकट हुने भएकाले चिन्तित छन् । सुख्खा भएकाले कोदो र दाल मुख्य बाली भए पनि समयमा पानी नपरेकाले असोजमै सुख्खा लागेको भदौरे गाविसका शिक्षक सन्तोष कार्कीले बताए । यहाँको मुख्य आम्दानीको स्रोत दाल भए पनि पानी नपरेकाले दालमा दाना नलागेकाले दाल बेचेर चामल किन्ने किसान भोकभोकै हुने अवस्था रहेको कार्कीले भने ।
सुख्खा लागेर दाल र कोदो बारीमा सुकेकाले परिवार पाल्न समस्या हुने भदौरे गाविसका अर्का किसान भीमबहादुर मगरले बताए । हिउँदे बालीमा भर पर्ने किसानका लागि पुसको दोस्रो साता नबित्दै बिहान बेलुका छाक टार्न समस्या हुने मगरको भनाइ छ । जिल्लाको कुल ५९ हजार हेक्टर कृषि भूमिमध्ये छ हजार हेक्टरमात्र बाह्रै महिना सिँचाइ हुने र अरू छ हजार हेक्टरमा वर्षाद्मा धान रोप्ने गरिएको छ । यस वर्ष भने बाह्रै महिना सिँचाइ हुने खेतमा पनि पर्याप्त पानी नपुगेर धान उत्पादन घटेको दियालेका किसान कुमार ढुंगाना बताउँछन् ।

प्रतिक्रिया