निगमको घाटा ५३ करोड

काठमाडौं : नेपाल आयल निगमको मासिक घाटा करिब ५३ करोड पुगेको छ । भारतीय आयल निगम (आइओसी) ले एक डिसेम्बरमा पठाएको नयाँ मूल्यसूचीअनुसार निगमको मासिक घाटा बढेर ५२ करोड ८९ लाख पुगेको हो । यसअघि निगमको घाटा २० करोड ४२ लाख रुपियाँमा झरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि अघिल्लो महिना अर्थात् आइओसीले १६ नोभेम्बरमा पठाएको मूल्यसूचीअनुसार निगमको मासिक घाटा अहिले २० करोड ४२ लाख रुपियाँमा झरेको थियो । एक नोभेम्बरमा निगमको समग्र मासिक नोक्सानी ३१ करोड ४९ लाख रुपियाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आए पनि एलपी ग्यास र डिजेलमा घाटा बढेकाले अघिल्लो महिनाभन्दा नोक्सानी बढेको निगम अधिकारीको भनाइ छ । नयाँ मूल्यसूचीअनुसार अहिले एलपी ग्यासमा प्रतिसिलिन्डर ६ सय ५६ रुपियाँ ६२ पेसा नोक्सानी छ । यसअघि एलपी ग्यासमा प्रतिसिलिन्डर पाँच सय आठ रुपियाँ नोक्सानी थियो ।
यस्तै, डिजेलमा तीन रुपियाँ ५२ पैसा प्रतिलिटर घाटा रहेको निगमले जनाएको छ । निगमअनुसार अहिले पेट्रोलमा प्रतिलिटर नौ रुपियाँ ६७ पैसा, मट्टीतेलमा ११ रुपियाँ ३७ पैसा, हवाई इन्धन (आन्तरिक उडान) २४ रुपियाँ ४९ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) २९ रुपियाँ २२ पैसा प्रतिलिटर नाफा रहेको छ ।
निगमले नयाँ मूल्यसूचीअनुसार एलपी ग्यासमा थाम्नै नसक्ने गरी नोक्सानी भएको भन्दै मूल्य बढाउने तयारी गरेको छ । ग्यास र डिजेलमा भएको घाटाका कारण मासिक नोक्सानीमा कमी आउन नसकेपछि निगम ग्यासमा मूल्य वृद्धि गर्ने तयारीमा जुटेको हो ।
निगम स्रोतका अनुसार घरायसी र व्यावसायिक प्रयोजनका लागि खपत हुने सिलिन्डरको रङ फरक–फरक बनाएर सहुलियतको व्यवस्था भएपछि मूल्य बढाउने निष्कर्षमा निगम पुगेको हो । यसले अहिले भइरहेको घाटामा कमी आउने निगमको दाबी छ । अन्तर्राष्ट्रिय बजार मूल्यका कारण ग्यासमा घाटा बढ्दै गएकाले निगमले मूल्य वृद्धि विकल्पका रूपमा अघि सारेको हो । निगम स्रोतका अनुसार एलपी ग्यासको हालको परल मूल्यलाई बिक्री मूल्य तोक्ने कसरत निगमले गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट र नेपाली बजारमा भएको मूल्य वृद्धिले गत जुलाईमा करिब चार वर्षपछि पहिलोपटक निगम नाफामा आएको थियो । तर, अन्तर्राष्ट्रिय बजारमा क्रमश: मूल्य वृद्धि हँुदै गएपछि त्यो नाफा टिकाइरहन भने निगमले सकेन । जुलाईमा निगमलाई १३ करोड ११ लाख मासिक नाफा भएको थियो । आर्थिक वर्ष ०६५/६६ पछि निगम नाफामा आएको यो नै पहिलोपटक थियो । (सौस)

प्रतिक्रिया