प्रचण्ड भन्छन्, “म भ्रमबाट मुक्त भएँ, बाबुराम त प्रधानमन्त्री नबन्ने रहेछन्”

काठमाडौं, १९ मंसिर । एमाओवादीले डा. बाबुराम भट्टराई नेतृत्वमै सहमतीय सरकार गठन गर्ने अडानबाट पछि हट्ने संकेत गरेको छ । सहमतीय सरकार गठनका विषयमा तीन प्रमुख दलको सोमबार बसेको बैठकमा कांग्रेस र एमालेले भट्टराई नेतृत्वको सरकारमा आफूहरू नआउने स्पष्ट पारेपछि एमाओवादी भट्टराई नेतृत्वमै सरकार गठनको नयाँ प्रस्तावबाट पछि हटेको हो ।

मंगलबार राजधानीमा भएको एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भट्टराईकै नेतृत्वमा कांग्रेस र एमाले सरकारमा आउने भ्रमबाट आफू मुक्त रहेको बताए । दाहालको भनाइपछि दलहरूले मंगलबार नयाँ शिराबाट छलफल अघि बढाउने समझदारी गरेका हुन् । प्रधानमन्त्री बाबुराम भट्टराईको समेत उपस्थितिमा भएको बैठकमा एमाओवादी अध्यक्ष दाहालले कांग्रेस र एमाले पनि भट्टराई नेतृत्वको सरकारमा आइदिए सजिलो हुने प्रस्ताव सुरुमा राखेका थिए । तर, कांग्रेस र एमालेका नेताहरूले तत्काल अस्वीकार गरेपछि एमाओवादी नयाँ ढंगबाट छलफल अघि बढाउन सहमत भएको हो ।
‘बाबुराम भट्टराईको नेतृत्वमै सरकार गठन गर्न कांग्रेसका केही साथी सकारात्मक भएको मैले थाहा पाएको छु, मलाई पनि तपाईंहरू यही सरकारमा आए सजिलो हुन्छ जस्तो लागेको छ,’ बैठकमा दाहालको भनाइ उद्धृत गर्दै एक कांग्रेस नेताले भने । कांग्रेस र एमालेका नेताहरूले आफूहरू भट्टराई नेतृत्वको सरकारमा आउने भए उहिल्यै आइसक्ने बताउँदै एमाओवादीलाई भ्रममा नरहन आग्रह गरेका थिए ।
‘बाबुरामजीको सरकारमा जाने भए हामी उहिल्यै गइसक्थ्यौँ,’ कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले सौर्यसँग भने, ‘त्यस्तो भ्रम हटाएर सहमतिको दिशामा अघि बढौँ भन्ने कुरा गरेका छौँ ।’ आफूहरू कुनै पनि हालतमा भट्टराई नेतृत्वको सरकारमा नआउने विपक्षी नेताहरूले बताएपछि एमाओवादी अध्यक्ष दाहालले अब आफूमा त्यो भ्रम नरहेको बताएका थिए । ‘अब मलाई भ्रम छैन, तपार्इंहरू यो सरकारमा आउनुहुन्न भने भोलिदेखि नयाँ ढंगले प्याकेजमै सहमति खोजौँ,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
भारतीय नेता करण सिंहको राजनीतिक सक्रियतापछि एमाओवादीले भट्टराई नेतृत्वमै सहमतिको सरकार बन्ने आधारभूमि खडा भएको बताउँदै आएको थियो । उसले सोमबार पार्टी पदाधिकारी र सत्तारूढ मोर्चाको बैठक बसेर भट्टराई नेतृत्वमा सहमतीय सरकार बनाउन पहलकदमी लिने निर्णय गरेको थियो ।
वैशाखमा निर्वाचन गर्न कानुनी अवरोध खुलाउने, सर्वाेच्च अदालतमा रिक्त रहेको न्यायाधीश नियुक्त गर्ने विषयमा समेत मंगलबारको बैठकमा छलफल गर्ने र सरकारको नेतृत्वका विषयमा पनि टुंगो गर्ने समझदारी उनीहरूबीच भएको छ । ‘समग्र विषयमा छलफल गरेर प्याकेजमै सहमति खोज्न उहाँ(एमाओवादी)हरू तयार हुनुभएको छ,’ एमाले उपाध्यक्ष वामदेव गौतमले भने, ‘भोलिदेखि नयाँ ढंगले छलफल हुन्छ ।’
बैठकमा एमाले नेताहरूले कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने कुरामा एमाओवादीले पहिले भएको सहमतिबाट पछाडि हटेर नयाँ नयाँ प्रस्ताव ल्याएर अल्मल्याउन खोजेको भन्दै आलोचना गरेका थिए । ‘तपाईंहरू पहिल्यै कांग्रेस नेतृत्वमा सरकार गठन गर्न सहमत भइसक्नुभएको थियो, किन यसरी दिनदिनै कुरा फेर्नुहुन्छ ?’ बैठकमा एमाले नेता केपी शर्मा ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब फेरि यही सरकारको निरन्तरताको कुरा गरेर कहिलेसम्म मुलुकलाई अल्मल्याउनुहुन्छ ?’ ओलीले कांग्रेस नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेपछि एमाओवादी अध्यक्ष दाहालले सरकारको नेतृत्व, चुनावको कानुनी प्रबन्ध र रिक्त रहेका संवैधानिक निकायका पदाधिकारी नियुक्तिबारे मंगलबारदेखि प्याकेजमै छलफल अघि बढाउने बताएका थिए ।
‘राजनीतिक सहमतिमै सरकार गठन गर्ने हो अब नयाँ ढंगले छलफल अगाडि बढाऊँ’ एमाओवादी अध्यक्ष दाहालले भने, ‘भोलिदेखि नै प्याकेजमै समाधान खोज्नेगरी छलफल गरौँ ।’

प्रतिक्रिया