पोसाक एक रंग अनेक

निक्कै छलफल र कसरत पछि ०६७ साल फागुन १८ गते (नेपाल सरकार) मन्त्रिपरिषद्को निर्णयानुसार नेपालका निजामति कर्मचारीलाई पनि पोसाकको व्यवस्था गरियो । निक्कै खुसीको लहर फैलियो कर्मचारीवर्गमा । अब हाम्रो पनि पहिचान खुल्ने भयो समाजमा, राष्ट्रमा अनि अन्तर्राष्ट्रिय जगतसम्म । रङ छनोटसहित ०६८ साल साउन १ गतेबाट नेपाल सरकारका सबैजना कर्मचारीले अनिवार्य रूपमा पोसाक लगाएर आउनु पर्ने परिपत्र समेत गरियो । पुरुष कर्मचारीको लागि गाढा नीलो रंगको कोटपाइन्टमा सेतो सर्ट र कालो जुत्ता । महिला कर्मचारीको हकमा भने तीनवटा पोसाक निर्धारण गरियो । (१) पुरुष सरहको कोट–पाइन्ट (२) गाढा आकासे कलरको साडीमा परपल कलरको बोर्डर अनि सोही बोर्डर कलरको ब्लाउज (३) गाढा आकासे कलरको कुर्तामा परपल कलरको सुरुवाल सल र कालो सेन्डिल ।
तोकिएको पोसाक छनोटमा पुरुष कर्मचारीको लागि खासै समस्या परेन भने महिला कर्मचारीका लागि पोसाक छनोटमा निक्कै नै गाह्रोसाह्रो पर्‍यो । पोसाक कहाँबाट लिने ? कुन पसलमा पाइने ? निक्कै नै चर्चापरिचर्चाका विषय बने । दिनहुँ जसो बजार धाउनु, पसलेलाई पोसाक ल्याइदिन अनुरोध गर्नु दिनचर्या नै रह्यो महिला कर्मचारीको लागि त्यसबेला । ०६८ साल साउन १ गते सिंहदरबार दक्षिण र पूर्वगेटबाट निजामति कर्मचारी तोकिएको पोसाक पहिरिएर प्रवेश गरे । नीलो पाइन्ट सेतो सर्ट र कालो जुत्तामा सजिसजाउ पुरुष कर्मचारी निक्कै नै स्मार्ट देखिन्थे ।  महिला कर्मचारी भने कोटपाइन्ट, कुर्ता सुरुवाल र साडी तीनै पोसाक लगाएर सिंहदरवार प्रवेश गरे । रङमा भिन्नता र विभिन्न डिजाइनका कुर्ता सुरुवाल लगाएको देख्दा सबैजना रनभुल्लमा परे । पक्कै पनि सरकारको यो कदम सकारात्मक भए पनि विभिन्न रङ विभिन्न डिजाइनको पहिरनले गर्दा बाहिरी छविमा हाँसोको पात्र बन्न पुगेका छन् महिला कर्मचारीवर्ग । अब त ०६९ सालको आधाआधि महिना पनि सकिन लागिसक्यो । पोसाक लगाउने जुन उत्साह, उमंग देखिएको थियो कर्मचारी वर्गमा अब बिस्तारै/बिस्तारै सो क्रम घटदै गएको देखिन थाल्यो । रंगमा भिन्नता, डिजाइनमा भिन्नताले गर्दा गाईजात्रा बन्नु भन्दा आफूखुसी पोसाक लगाएर आउन थाले महिला कर्मचारीहरू । अत: एक रङ, एक रूपता, समानस्तरको कपडा व्यवस्थापनका लागि सरकारबाटै पहल भइदिए राम्रो हुने थियो कि ?
सन्ध्या स्याङ्बो, काठमाडौं

प्रतिक्रिया