गीत रेकर्डिङ गर्न बेलायतबाट

काठमाडौं : विदेश प्रवासिएका आमनेपालीको नेपाल आगमनको मुख्य उद्देश्य परिवारजन र आफन्तसँगको भेटघाट नै हुने गर्छ । भगवान् चाम्लिङ भने यो मामलामा भिन्न देखिएका छन् । बेलायतमा लामो समयदेखि बसोबास गर्दै आएका पूर्वब्रिटिस गोरखा सैनिक चाम्लिङ भने गीतसंगीतलाई मुख्य प्राथमिकतामा राख्दा रहेछन् । गायकसमेत रहेका ५२ वर्षीय चाम्लिङले यसपटक काठमाडौं आएको केही समयमै एउटा लोकगीत रेकर्डिङ गराउन भ्याए ।
‘म समयलाई रमाइलोका रूपमा खेर फाल्दिनँ,’ उनले सौर्यसँग भने, ‘म समयलाई सिर्जनात्मक काममा खर्चिन्छु । सिर्जनामै रमाइरहेको हुन्छु । यसपटक एउटा लोकगीत रेकर्ड गराइसकेँ ।’ छैटौँ एल्बमको तयारीमा रहेका उनले पाँचवटा गीतको रेकर्डिङ सकिएको जानकारी गराए । अझै केही गीत रेकर्डिङमा बाँकी भएकाले एल्बम सार्वजनिक गर्ने तयारी भने उनले गरेका छैनन् ।
पुख्र्याैली थलो खोटाङको सिप्रिङ भए पनि हङकङमा जन्मिएर विद्यालय शिक्षा नेपालबाट पूरा गरेका उनले सानै उमेरदेखि गीतसंगीतमा लागिपरेको सुनाए । औपचारिक रूपमा विद्यालयमा पढ्दा स्टेजबाट गाउन थालेका उनको गीत रेकर्डिङ भने २०४९ सालमा मात्र भएको रहेछ । किन त गीत रेकर्डिङमा ढिलाइ ? ‘ब्रिटिस गोरखा सैनिकमा भर्ती भइयो । त्यसपछि ग्याप रह्यो,’ उनले भने, ‘भर्ती लागेको समयमा सहपाठी विनोद गुरुङले गाएको गीत सुन्दा छटपटी भयो ।’ उनका अनुसार ०३७/३८ सालतिर गुरुङले गाएको ‘जीवन हाम्रो सङ्लो पानी हो, सलल राजै खोलाझैँ बगाऊ सलल’ बोलको गीत चर्चामा थियो ।
त्यसो त उनले सैनिक सेवाकै क्रममा पनि गाउने अवसर भने पाएका रहेछन् । उनी सम्झन्छन्, ‘पार्टी आयोजना हुनासाथ मलाई गीत गाउन लगाउने, त्यसपछि बिर्सिदिने । त्यतिमात्र कहाँ हो र † मेरो कोठामा गिटार देखेपछि भगवान् त सोल्जर होइन, सिभिल जस्तो छ । उसलाई कारबाही गर्नुपर्छ भन्ने कम्प्लेन साथीहरूले नै गरेछन् । त्यसपछि मैले गीतसंगीतलाई थाती राखिदिएँ ।’
सन् १९९३ मा सेवानिवृत्त भएपछि गीतसंगीतलाई निरन्तरता दिइरहेका उनले ‘नजर’, ‘रहर’, ‘सम्झेनजिक’, ‘सौगात’, ‘साकेला’ गरी पाँचवटा एल्बम निकालिसकेका छन् । यस अवधिमा ७० जति गीतमा स्वर भरिसकेका उनले अधिकांशमा आफ्नै शब्द तथा संगीत रहेको सुनाए । जीवनलाई सरल नभएको अनुभव सुनाउने उनले भने, ‘फुर्सद पनि कहिल्यै मिलेको छैन ।’ (सौस)

प्रतिक्रिया